दुई सयभन्दा बढी रोग अखाद्य वस्तुहरुको सेवनबाट

  नयाँ बुलन्द
0 Shares

अर्जुनधारा : दुई सयभन्दा बढी रोग अखाद्य वस्तुहरुको सेवनबाट लाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख भरत पुरीले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोग र मानवअधिकार समूह अर्जुनधाराको आयोजनामा भएको खाद्य अधिकारको सवालमा सरोकारवाला पक्षबीच भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख पुरीले यस्तो बताएका हुन् । प्रमुख पुरीले खाद्य वस्तु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बताउँदै गुणस्तरहीन, विषादी प्रयोग भएका खाद्य पदार्थहरुको सेवनसँगै लापरवाहीका कारण दीर्घरोगीहरुको संख्या बढ्दै गएको बताए ।

यस क्षेत्रका कृषि उद्यमी, कृषक समूह, कृषिसँग सम्बन्धि सहकारीसँगै सरोकारवालाहरुको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अखाद्य वस्तुहरुको सेवनबाट विश्वमा प्रतिवर्ष १५ लाख व्यक्तिले ज्यान गुमाउनुपरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेको पुरीले खाद्यअधिकारका विषय र संविधानमा भएका व्यवस्थाहरुका बारेमा व्याख्या गरेका थिए । उनले मानव जीवनलाई सचेतना तुल्याउन र अखाद्य वस्तु बिक्री वितरणमा रोक लगाउन प्रत्येक वडामा अनुगमन समिति निर्माण गरेर लानु पर्ने बताए । उनले अगाडि भने, ‘यदी यस्तो गरिएन भने क्षणिक आम्दानीका लोभमा अखाद्य वस्तुका कारण सर्वसाधरण जनता गम्भीर रोगका शिकार हुने छन् ।’

कार्यक्रममा पशुपंक्षी विकास शाखा अर्जुनधाराका प्रमुख पदमलाल राईले आफ्नो शाखाको अवस्था र प्रदान गर्दै आएको सेवाका विषयमा जानकारी गराएका थिए । उनले खाद्य स्वच्छताको विषयमा पशुपंक्षी विकास शाखाले विशेष ध्यान दिएर काम गर्दै आएको बताउँदै अर्जुनधारा नगरपालिकामा भान्सामै औषधी अभियान सञ्चालन भए पनि आफूहरुको योजना भान्सासम्म नपुर्याउने रहेको बताए ।

‘पशुपंक्षीमा दूध, माछा, मासु र अण्डा पर्छ’ उनले अगाडि भने, ‘पशुपंक्षीमा हुने परजीविलाई मात्र नियन्त्रण गर्न सके पशुपंक्षी स्वास्थ हुने र त्यसबाट उत्पादन हुने माछा, मासु, दूध, फूल स्वास्थ हुन्छ । त्यो निर्मुल पार्नका लागि शाखा लागिरहेको छ ।’

कार्यक्रममा प्रमुख राईले प्लाष्टिकको क्यानमा दूध बोक्दा क्यान्सरको सम्भावना उच्च हुने हुँदा त्यसको रोकथामका लागि त्यसको प्रतिबन्द नगरको नीतिबाटै गरिएको बताए । उनले प्लाष्टिकको क्यानको स्थानमा आल्मुनियमको क्यानको प्रयोगमा प्रोत्सहान स्वरुप ५० प्रतिशत अनुदान गर्दै आएको बताए । उनले गोठ सुधारदेखि थुनिलो परीक्षण र त्यसको रोकथामको लागि कृषकहरुको घरघरमै गएर औषधी उपचार गर्दै आएको बताए ।

त्यस्तै कृषि शाखाकी प्रतिनिधि मीना अधिकारीले विषादी न्यूनिकरणका लागि कृषि शाखाले नगरका प्रत्येक वडाहरुमा आईपीएम कार्यक्रम गर्दै आएको बताइन् । उनले विष, विष नै हो, औषधी होइन भन्ने नारालाई अंगीकर गर्दै अर्जुनधाराका कृषकहरुमाझ गइरहेको बताइन् । उनले मानव स्वास्थ्यसँग जोडिएको मूल विषय खाद्य भएको बताउँदै कृषकहरुलाई शाखाबाट अग्र्यानिक मल बनाउने तालिम प्रदान गरिएको पनि जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै अधिकारीले धानमा आएको समस्याका कारण यसपटक भने अर्जुनधारा क्षेत्रमा गतवर्षको भन्दा बढी विषादीको प्रयोग भएको जानकारी दिइन् । ‘यो साल किराले गरेर पनि धान मर्यो’ उनले अगाडी भनिन्, ‘यसको रोकथामको लागि पनि यो साल विषादीको प्रयोग अलि बढ्यो ।’

उनले गत वर्षको तुलनामा विषादीको प्रयोग बढे पनि यसबाट जोगिन र कुन रोगमा कस्तो औषधी कति मात्रामा प्रयोग गर्ने भनी प्राविधिकमार्फत कृषकहरुको घरखेतमै गएर सल्लाह सुझाव दिँदै आएको बताइन् । ‘सुरुदेखि नै विषादी प्रयोग गरेपछि, अन्न भण्डारणसम्मै विषादीको प्रयोग गर्नुपर्छ’ उनले भनिन्, ‘विष विष नै हो भनेर सम्झिदिनु म कृषकहरुसँग अनुरोध गर्न चाहन्छु । विषादी प्रयोग नै गर्नुपरे कृषि प्राविधिकहरुसँग सल्लाह गरेर मात्र प्रयोग गर्नुहोला ।’

उनले कृषि विकास शाखाले विष कम गरौं, भान्सा नै औषधालय बनाऔं भनेर विभिन्न जडिबुटीहरु पनि रोप्न सिकाएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले नगरलाई विषादी रहीत बनाउनका लागि उत्पादक संस्थाहरु, कृषकहरुसँग प्रशिक्षण, अन्तरक्रिया, गोष्टी गर्न जरुरी रहेको बताउँदै यो कार्यको थालनी मानवअधिकार समूहले गरेको हुँदा धन्यवादको पात्र भएको बताए ।

प्रमुख रानाले यो कार्यक्रम उत्पादकहरुसँग मात्र नभई उत्पादीत बस्तुहरुको बेचबिखन गर्ने पक्षसँग गर्दा मात्र प्रभावकारी हुने बताए । उनले यस्ता खालका कार्यक्रमहरु गर्दा नगरपालिकासँग समन्वय गर्दै अगाडि बढ्दा पृथक हुनेमा जोड दिए ।

मानवअधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हात्तीकिल्ला कृषक समूहका अध्यक्ष बृन्दा लुइटेलले जैविक विषादी बनाउने तालिम लिएर प्रयोगमा ल्याए पनि किरा पर्तिर सर्ने र त्यसको हावा उढेपछि पुनः बाली खाने समस्या रहेका बताइन् ।

त्यस्तै श्रद्धा कृषि सहकारी संस्थाका अध्यक्ष प्रेमसागर सापकोटाले सर्वप्रथम भकारो र गोठ कसरी सुधार गर्ने भन्ने विषयमा किसानलाई सचेतना तालिम दिनुपर्ने सुझाव राखे । उनले कृषिको हकमा भने नगरमा रहेका कृषि सहकारी, समूह मध्ये एउटा समूहलाई जैविक विषादी बनाउने जिम्मा दिएर कृषि शाखाले खरिद गरि कृषकहरुलाई वितरण गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै शान्तिराम चौहानले कुखुरामा लाग्ने कुन खालको रोगमा कुन खालको विषादी खुवाउनुपर्ने हो वा नखुवाउनु पर्ने हो ? त्यसको रोकथामको उपायहरुलाई अगाडि बढाइनुपर्ने भनी आफ्नो जिज्ञासा राखेका थिए । जुकेखाडी मिश्रित कृषक समूहका अध्यक्ष भोलानाथ बरालले विषादी न्यूनिकरणका सचेतनात्मक कार्यक्रमहरु लिएर गाउँगाउँ जानुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख कमला आचार्य, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ का इन्चार्ज दिपीन राई, राष्टिूय उपभोक्ता मञ्चका सदस्य विमला भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

इन्सेक सहजकर्ता राजन राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत समूहकी सहसचिव सोना गेलालले गरेकी थिइन् भने कार्यक्रमको औचित्यमाथि प्रकाश जिल्ला सहजकर्ता नरेश खातीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार