
आमचोक : इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका वडा नं. ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले महायज्ञ सुरु भएको छ ।
विद्यालयको आयोजनामा सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको मंगलवार जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले उद्घाटन गरे ।
महायज्ञको उद्घाटन गर्दै प्रमुख बरालले जिल्लाकै पुरानो विद्यालयले आफ्नो समग्र शैक्षिक सुधारका लागि थालेको प्रयासले यस क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विचार व्यक्त गरे ।
जिल्लाकै पछाडी परेको गाउँपालिका जस्तो देखिएकाले यस क्षेत्रको विकासका लागि जिल्ला समन्वय समितिले प्रदेश, केन्द्रसम्म पहल गर्ने आश्वासन समेत दिए । अर्गानिक कृषि अभियानमार्फत यहाँको विकास गर्न सकिने बताउँदै उनले कृषिलाई व्यवसायीकरण र औद्योगिकरण गर्नुपर्नेमा जोड दिए । यो क्षेत्र सन्त ज्ञानदिलदासको जन्मस्थान भएको क्षेत्र भएकाले पर्यटकीय क्षेत्रको पनि निक्कै सम्भावना रहेको उनको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले अनेकतामा एकता जस्तै पुराणले सबैमा शान्ति, एकता र भाईचाराको सम्वन्ध कायम हुनेमा आफू विश्वस्त हुने विचार व्यक्त गरिन । धार्मिक सहिष्णुता कायम राख्दै अघि बढ्नुपर्नेमा जोड दिइन ।
विद्यालयको भौतिक सुधार, प्राविधिक शिक्षा सञ्चालनका लागि विद्यालयले पुराण आयोजना गरेको हो । विद्यालयलाई जग्गा दान गर्ने स्वर्गीय रंगलाल र शारदा सुवेदीको स्मृतिमा सुवेदी परिवारले विद्यालय प्रवेश गर्ने ठाउँमा प्रवेशद्धारको निर्माण गरिदिएका छन । उक्त प्रवेशद्धारको समेत विधिवत रुपमा प्रमुख अतिथि बरालले अनावरण गरे ।

पुराण आयोजक समितिका अध्यक्ष अनिरुद्र लामिछाने अध्यक्षता तथा विद्यालयका शिक्षक दिपेन्द्र पराजुलीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घतानी, प्रधानाध्यापक मोतिखर पोखरेल, नेकपाका दिपेन्द्र खनाल, राजकुमार थापा, नेकाका चुडामणि पौडेल, अखिल नेपाल किसान संघका तारा सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भागवत रस मर्मज्ञ आचार्य युवा पण्डित लोमश शरण उपाध्याय (घिमिरे) र पणित वेदप्रसाद शास्त्रीबाट पुराण वाचन भईरहेको छ ।
पुराण सुरु हुनु पूर्व विद्यालयबाट कलश यात्रा समेत निकालिएको थियो । पुराण श्रवण गर्न विभिन्न स्थानबाट भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।



















































