पकेट क्षेत्र मै सुन्तलाका बगान मासिँदै

  नयाँ बुलन्द
0 Shares

इलाम : पकेट क्षेत्र’ मै सुन्तलाका बगान मासिँदै गएको छ ।  ‘सिट्रस ग्रिनिङ’ रोगका कारण रोङको सलकपुर, इलाम नगरपालिकाको सुम्वेक, माइजोगमाईको नाम्सालिङ, सोयाङलगायत क्षेत्रका बगान मासिदै गएका हुन् । कडा परिश्रम गरि मनग्ये आम्दानी हुने सुन्तलको बगान रोगले सखाप हुन थालेपछि स्थानीय कृषक चिन्तित बनेका छन् ।

सलकपुर र जिर्मलेका दुई सय भन्दा बढी सुन्तलाका बगान रोगका कारण सखाप भएका छन् । यस गाउँमा सुन्तलाका दुई सय ५० बगान थिए । अहिले २० बगान मात्रै बाँकी छ । प्राविधिकहरुले सुन्तलामा सिट्रस ग्रिनिङ रोग लागेर बगान मासिँदै बताए छन् । केही कृषकले मासिँदै गएको बगानको विकल्पमा नयाँ बिरुवा समेत हुर्काउँदै थालेका छन् । तर धेरै बगान मासिएर आम्दानीबिहिन बनेका कृषकमा भने निराशा बढी छ । ‘बार्षिक दश लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषक अहिले रित्तो हात भएका छन्,’ सुम्वेकका टोम याखाले भने, ‘सिङ्गो गाउँमै सुन्तला मासिएपछि वैकल्पिक खेतीको खोजीमा धेरै स्थानीय लागेका छन् ।’

कुनै बेला सुन्तलाको आम्दानीले नै घरव्यवहार धान्दै आएका माइजोगमाई ६ प्याङका खेमराज नेपाल अहिले सुन्तला चाख्न बजार नै पुग्नुपर्ने बताउँछन् । लेकाली गाउँहरूका बासिन्दा उनकोमा सुन्तला किन्नकै लागि घटौं धाएर पुग्ने गरेको उनी सम्झन्छन् । ‘डढेलो नै लागे जस्तो गरि बगान मासिएर गएपछि अहिले अलैची, अदुवा र अम्लिसोलाई विकल्प बनाएको छु ।’ कृषकस्तरमा प्राविधिक ज्ञान नहुनु र समयमा रोग पहिचान गरी निदानको उपाय नगर्दा ठूला बगानहरू पनि नाङ्गिँदै गएका छन् ।

मलखाद, सिँचाइ, मल्चिङलगायत बगान व्यवस्थापनमा पहिलो प्राथमिकता दिनुपर्ने विज्ञको भनाई छ । ‘सुन्तलमा जिल्लाभर देखिएको प्रमुख समस्या सिट्रस ग्रिनिङ हो,’ कृषि अधिकृत रविकिरण अधिकारीले भने, ‘यसले टुप्पादेखि बोट सुकाउँदै जान्छ र उत्पादन घट्छ । पुराना विरुवालाई हटाएर नयाँ बिरुवा रोप्नु नै यसको समाधान हो ।’ जरामै समस्या भएर आउने रोगले पनि उत्तिकै समस्या छ । प्राविधिकका अनुसार तापक्रम बढेसँगै यसअघिका क्षेत्रभन्दा माथिल्लो तहमा सुन्तला खेती हुन थालेको छ ।

२० रोपनीबाट व्यावसायिक खेती शुरु गरेका रोङ गाउँपालिकाका किसान टंक थापा मरेको बिरुवाको स्थानमा नयाँ रोपेर भए पनि खेतीलाई निरन्तरता दिएको बताउँछन् । रोगले बगान नै सखाप बनाइदेला भन्ने डर पालेका उनले वैकल्पिक खेती पनि शुरु गरेका छन् । सुन्तलापछि एभोकाडो रोप्न शुरु गरेका उनी निरन्तरको मेहनतले रोगको प्रकोप अरुको तुलनामा कमै भएको बताए । थापाले सुन्तलाबाट मात्रै वार्षिक पाचँदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको जनाए ।

इलाम नगरपालिका–५ बरबोटेका किसान अभिनारायण पौडेलको १० रोपनीमा फैलिएको वगान अहिले ५ रोपनीमा सिमित भएको छ । पर्यटनसँग पनि जोडिएकाले सुन्तला बगान मासिँदै जाँदा असर धेरैतर्फ परेको छ । सलकपुरमा सुन्तलाको मौसममा दैनिक सयौ बंगाली पर्यटक बगानको आनन्दमा रमाउन आउँछन् ।

उनीहरूको आगमनले होटलदेखि सानातिना पसलहरू मज्जाले चल्छन् । तर यही रफ्तारमा सुन्तला मासिने क्रम रहे यो अवस्था नरहने स्थानीय कुमार मोक्तानले बताए । ठूलो संख्यामा आउने बंगाली समुदायकाहरू सुन्तला खरिद गर्नेदेखि वनभोज गर्न र सुन्तलासँग रमाउनकै लागि यहाँ आउने गरेका हुन् ।

सीमापारि सिलगुडी क्षेत्रका रेडियोमा र सामाजिक सञ्जालमा आइतबारको छुट्टी मनाउन सलकपुर जाने योजना त्यहाँका तन्नेरीहरू सार्वजनिक गर्छन् । त्यही प्रचारका कारण धेरैले सलकपुरलाई गन्तव्य बनाउने गरेका हुन् । नेपालतर्फबाट पनि सुन्तलाको खेती/प्रविधि हेर्न, खरिद गर्न र बिरुवा लैजानका लागि टाढा–टाढाबाट आउने गरेका छन् । यहाँ पुनः व्यावसायिक खेती गर्नको लागि गाउँपालिकाले किसान विशेष कार्यक्रम सुचारु गर्न लागेको वडा ६ का वडाध्यक्ष तथा पालिकाका प्रवत्ता मनिकुमार स्याङबो तामाङले बताए ।

‘२० परिवारलाई पाँच लाख रुपैयाँ विनियोजन गरेका छौ । यसबाट सुन्तलाको समस्या पहिचान गर्ने र माटो विशेषज्ञसँगको सल्लाहमा अर्ग्यानिक खेतीमा जोड दिनको लागि समिति समेत गठन गरिएको छ ’ उनले भने । गाउँपालिकाले सुन्तला जोनको कार्यक्रमसमेत माग गरेको छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार, वर्ष ०७४/७५ मा ३ हजार ३ सय २४ हेक्टर क्षेत्रमा सुन्तला खेती हुने गरेको छ । यसबाट ३ सय ५ टन सुन्तला उत्पादन हुने गरेको थियो । यस्तै आव २०७५/०७६ मा भने ३ हजार १ सय हेक्टर क्षेत्रफलमा सीमित भएको पाइएको छ ।

उत्पादन भने २ सय ९५ टन भएको छ । यहाँको सुन्तला तराईसहित राजधानी र भारतीय बजारमा पनि पुग्ने गरेको छ । भारतको दार्जिलिङ, सिलिगुडीसहित कोलकत्तासम्म इलाममा उत्पादित सुन्तला लोकप्रिय छ । सुन्तलाबाट इलाममा वार्षिक ११ करोड सम्म रकम भित्रिएको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार