प्रतिपक्षको भूमिकामा प्रश्न !

  नयाँ बुलन्द
0 Shares

news

 

काठमाडौं : सामान्यतः संसदीय व्यवस्थामा प्रतिपक्षमा बस्नेले कुनैपनि नियुक्तिहरुमा भाग खोज्दैनन् ।

तर, अहिले सत्ता र प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्ष दलहरुले विभिन्न नियुक्तिहरु भागबन्डा गरिरहेका छन् ।

जसले गलत परम्परा त बसाल्छ नै त्यसमाथि को सत्तापक्ष र को विपक्ष भन्ने अन्योल पनि रहिरहने छ ।

मुलुकमा लामो समय शासन सन्चालन गरेको नेपाली कांग्रेस दुई वर्षयता प्रमुख प्रतिपक्षको भूमिकामा छ ।

आफूलाई संसदीय शासन व्यवस्थाको ठेकेदार ठान्ने कांग्रेसले प्रतिपक्षको भूमिकामा जसरी प्रस्तुत भइरहेको छ, त्यसमा थुप्रै प्रश्नहरु खडा भएका छन् ।

सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगमा सत्तापक्ष बराबर नै भाग पाएको कांग्रेसले सभामुख निर्वाचनमा उम्मेदवारी नै नदिएपछि कांग्रेसको आलोचना झन् बढेको छ ।

पार्टीभित्रैबाट पनि प्रतिपक्ष दल भएर उम्मेदवार नठाएको भन्दै विरोध भएको छ ।

त्यसमाथि विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ गएर ‘म त बर्बाद भएँ यार’ भन्दै भाग खोजेको विषयले सिंगो कांग्रेस पार्टीको खिल्ली उडाइएको छ ।

कांग्रेस नेतृत्वको भाग खोज्ने प्रवृत्तिले लोकतान्त्रिक शासन व्यवस्थाको मर्ममाथि नै प्रहार भएको बताउँछन्, राजनीतिक चिन्तक पुरन्जन आचार्य ।

सत्तालाई निरन्तर खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नै भागशान्तिमा मौन बस्न थालेपछि सरकारलाई हाइसन्चो हुने नै भयो ।

प्रमुख प्रतिपक्षमात्र होइन, अन्य प्रतिपक्ष भनिने दलहरुसमेत सरकारसँग यस्तै भागबन्डामा रमाइरहेका छन् ।

समाजवादी पार्टी सत्तारुढ नेकपासँगको लामो सत्तासहयात्राबाट भर्खरैमात्र विपक्षमा पुगेको छ । तर पनि सत्तासँग स्वार्थ पूरा गर्न खोजिरहेकै छ ।

प्रतिपक्ष ‘बेन्च’मा राजपाको पनि हालत उस्तै छ । प्रदेश नम्बर–२ मा राष्ट्रियसभा निर्वाचनमा सत्तापक्षसँग सहयात्रा गरिसकेको राजपा उपसभामुख पाउने आशामा छ ।

राष्ट्रिय दलको रुपमा मान्यता पाएका यी चारओटा प्रतिपक्ष बेन्चका पार्टीहरु सत्तास्वार्थको वरिपरी घुम्दा संसदमा सरकारका गलत क्रियाकलापविरुद्ध बोल्नेहरुको नै  खडेरी छ ।

सत्तामात्र केन्द्रमा राख्ने राजपा, समाजवादीलगायतका दलहरुबाट सरकारको आलोचनाको अपेक्षा नै गलत हो भन्छन्, चिन्तक आचार्य ।

बरु, सत्तापक्षबाटै र सामाजिक सन्जालमा सरकारको आलोचना सुनिन्छ । तर, संविधानले चिनेका राजनीतिक प्रतिपक्षहरुबाट जनस्तरको जति पनि आवाज आउँदैन ।

तत्कालका लागि त प्रतिपक्ष दलहरुका लागि भागबन्डाको न्यानो ठीकै लागिरहेको होला । तर, प्रतिपक्षविनाको लोकतन्त्र मृततुल्य हुनेछ भने त्यहीँबाट सर्वसत्तावादी शासन टुसाउने मौका पाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार