आत्मा र शरीरलाई पवित्र राख्नुपर्छ : धर्मगुरु लिङ्देन

  ज्ञानु केदेम  96 पटक हेरिएको


माङसेबुङ : किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङले विश्व शान्ति मानव एकता कायम भएपछि मात्र संसार इश्वरको सुन्दर फूलबारी बन्ने बताएका छन् ।

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण समुद्घाटन समारोहमा आइतबार आशीर्वचन दिदै लिङ्देनले त्यस्तो बताएका हुन् ।

“विश्वका शक्तिशाली राष्ट्र प्रमुखहरुको आत्मामा माङको बाँस भइ शान्ति र एकता कायम गर्ने सोच आवोस” उनले भने “संसार उजाड भए इश्वरको सृष्टि नष्ट हुनेछ ।”

विश्व युद्धको छाँया आइरहेको संकेत गर्दै उनले, संसारका सबै धर्म दर्शनले विश्व शान्तिको लागि पहल गर्न आग्रह गरे । “आत्मा र शरीरलाई पवित्र राख्नुपर्छ” उनले भने ।

आशीर्वचनकै क्रममा उनले अन्नको सह रहेपनि मान्छेको सह कममात्र रहेको संकेत गरे ।

समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले समुद्घाटन मन्तव्य राख्दै माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने बताए ।

कार्यक्रममा समारोह सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन पान्जुम्भोबाट स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

अमेरिकाका किरात धर्मावलम्बी प्रतिनिधि नाम फुरुम्बो, माङसेबुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष नरेन्द्र राई, तुम माङसेवासाबा मनप्रसाद थङलङ लगायत अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चर्चित कलाकारहरु राजु आङदेम्बे, ब्रबिम सेर्मा र इन्द्र सुशील चोङबाङको प्रस्तुति समेत रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य तथा अौचित्य समारोहका सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले राखेको थियोे भने, समारोहका महासचिव काकीराम लाअोतीले सञ्चालन गरेका थिए ।

समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

समारोहको दोस्रो दिन सोमबार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट अमृतमय आशीर्वचन र माङवा हाङवा वितरण हुने समारोहले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार