केशाङ्ग जैविक अर्गानिक फर्म चुलाचुलीकै नमुना बन्दै

  चेतन आङथुपो  144 पटक हेरिएको

केशाङ्ग जैविक अर्गानिक कृषि तथा पशुपंछी फर्मका संचालक गोरीमान फागो लिम्बू

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका–१ कमल स्थित “केशाङ्ग जैविक अर्गानिक कृषि तथा पशुपंछी फर्म” यतिबेला चुलाचुलीकै कृषि क्षेत्रमा नमुना बन्दै आएको छ । यस फर्म पहिलो र एक मात्रै अर्गानिक तरकारी उत्पादनको रुपमा परिचित बन्दै आएको छ ।

आफु बाँचुन्जेल अर्गानिक कृषि खेतीमै जिन्दगी समर्पित गर्न चाहने गौरीमान फागो लिम्बू (डम्बर) ले १० हजार रुपैयाँबाट सुरु गरेको अर्गानिक तरकारी खेती यतिवेला व्यवस्थित “केशाङ्ग जैविक अर्गानिक कृषि तथा पशुपंछी फर्म” को नाममा आइपुग्दा १० लाख लगानी पुगिसकेको छ ।

चुलाचुली–१ कमल स्थायी घर भएका गौरी सुरुका दिनमा फर्निचर व्यवसाय गर्दथे । त्यो काम गरिरहँदा उनका मनसँगै दिमाग पनि एकाएक परिवर्तन हुन पुग्यो । उनी आफै प्रकृतिप्रेमी, त्यसमा बोटविरुवाको माया गर्ने भएकै कारण उनले तत्कालिन फर्निचर व्यवसायलाई सधैंको लागि अन्त्य गरि दिए ।

उनले विकल्पमा सन् २०११ तिर उनी आर्थिक समृद्धिका लागि मलेसिया पलायन हुन पुगे, त्यहाँबाट पनि उनी ७ महिनापछि लगतै घर फर्किए, उनलाई त्यहाँ रहेर गर्नु परेको मेहनत, परिश्रमले फेरि सोच्न बाध्य बनायो । आफुले मासिक २२ हजार पाउँदै आएको तलव छाडेर उनी नेपालमै पसिना बगाउने हो भने जे पनि गर्न सकिन्छ भनी गाउँ फर्किए ।

उनी गाउँमा त आए तर के व्यवसाय गर्ने अन्योलमा हुन पुगें । केहि महिनापछि चुरे फेदिमा रहेका उनको जग्गा नजिकै हुर्कदंै गरेका बोटविरुवाहरुको आसपासमैै उनले अर्गानिक तरकारी खेती गर्ने निर्णय गरे । तर भइदियो पानी, सिचाँइको समस्या, उनले बैकल्पिक रुपमा सोच गरे बोटविरुवाहरु नजिकै रहेको जग्गामा बोरिङ गाड्ने, दुःखको कुरा १६ ठाउँसम्म पानी निकाल्ने खाल्डो खन्दा–खन्दा पानीको मूल भेट्न नसक्दा निरास बनिसकेका गौरीको भाग्यमा १७ औं स्थानको खाल्डोमा बल्ल पानी निकान सफल रहेको कथा थियो । उनले ६५ हजार लगानीमा बोरिङ गाड्न सफल बन्यो ।

एक कट्ठाबाट तरकारी खेती सुरु गरेका उनले अहिले १ विघा जग्गामा विभिन्न तरकारी खेतीमा वीउ उत्पादन टनेला, माछा पोखरी, खाउली, कुरिलो, खुर्सिनी लगायत उत्पादनमा उनी व्यवस्त देखिन्छन् । उनी दैनिकी फर्ममा एक्लै खटिरहेका हुन्छन् । धेरै दिनको काम आएमा घण्टाको ६० रुपैयाँ ज्यालादारमा कामदार खटाउँछन् । यसपटक गोलभेँडा खेतीबाट उनलाई निकै फाइदा भएको छ ।

दुई कुइटल भन्दा बढि गोलभँेडा उनले गाउँ र छिमेकी बजार दमकका तरकारी पसलमा बिक्री वितरण गर्ने सफ लबनेका छन् । उनी भन्छन्, ‘अर्गानिक तरकारीको बजार धान्न ग्राहो छ, समस्या वीउमा छ, राम्रो विरुवाको अभाव छ, कम्पनीबाट ल्याएको विरुवामा रोग देखिने समस्या रहन्छ ।’

उनले आफ्नो फर्मका लागि अहिले सम्म स्थानी निकायहरुबाट पाएको अनुदान भनेकै २० हजार बराबरको प्लाष्टिक मात्रै हो । उनको आफ्नो तर्क छ, ‘स्थानीय कृषि क्षेत्रलाई विकास गर्ने हो भने, स्वास्थ्य मानिसको जीवन बाँच्ने हो भने स्थानीय सरकारले केहि नगरे पनि मल र वीउ उत्पादनमा कृषक र कृषि क्षेत्रमा लगानी गरिनु आवश्यक छ ।’

उनको परिवारमा एक छोरा र श्रीमती छन् । श्रीमतीको आफ्नै फेन्सी पसल रहेकाले गौरी फर्ममा एक्लै खटिरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार