अनुभवभन्दा बाहिर गएर सपना देख्न सकिन्न

  नयाँ बुलन्द  50 पटक हेरिएको

हामीले देख्ने सपनाहरुलाई गनेरै यति वटा हुन्छन् भनी नम्बर लाउन त सकिन्न, तैपनि मोटामोटी रुपमा करिब यस्ता प्रकृतिका भनेर निश्चित घेराभित्र पार्न भने सकिन्छ। सपना भनेको नै हाम्रा ५ ज्ञानेन्द्रीयहरु-आँखा, कान, नाक, जिब्रो, छालाले अनुभब गरेका बिषयबस्तुहरुलाई हाम्रो मस्तिष्कले जोडेर भावनात्मक, सम्बेदनात्मक तथा नयाँ ज्ञान (Learning) सम्बन्धि अर्थ लगाउन खोजिरहेको एक प्रक्रिया हो। ज्ञानेन्द्रीयहरुको अनुभवभन्दा बाहिर गएर सपना देख्न सकिन्न।

उदाहरणको लागी जन्मजात आँखा नदेख्ने व्यक्तिहरुले रंगसँग सम्बन्धित सपना देख्दैन भने पनि हुन्छ किनकि उनीहरुलाई रंग भनेको कस्तो हुन्छ थाहा नै हुँदैन। तर पछि अन्धो भएको व्यक्तिले रंगसँग सम्बन्धित सपनाहरु पनि देख्दछन्। यो कुरा सत्य हो कि होइन त्यस्ता व्यक्तिहरुलाई आफैले सोधेर पनि हामी सबैले सजिलै पत्ता लगाउन सक्छौं।

हाम्रा ज्ञानेन्द्रीयहरुले पूर्ब अनुभबबिना कुनै पनि नयाँ कुराहरुको सुरुमै पूर्ण अर्थ लगाउन पनि सक्दैनन्। ज्ञानेन्द्रियहरुका सबै अनुभवहरु संगालेको हाम्रो मस्तिष्कको संयन्त्रले नयाँ वाताबरणका, र थाहा नभएका नयाँ कुराहरुलाई सधैब पुराना अनुभबहरुसंग दाँजेर, घोलेर, जोडेर, तलमाथि पारेर बिपनामा पनि सपनामा पनि अर्थ लगाउने कोसिस गरिरहेको हुन्छ, अर्थात् कुनै पनि पजलरुपी नयाँ समस्यालाई समाधान गर्ने कोसिस गरिरहेको हुन्छ।

तर कोसिस गर्दैमा अर्थ लाग्छ नै भन्ने पनि त छैन नि ! अर्थै नलाग्न पनि सक्छ, लाग्ला-लाग्ला जस्तो हुन पनि सक्छ, अर्ध-अर्थ लाग्न पनि सक्छ, पूर्ण-अर्थ लाग्न पनि सक्छ, अनि धेरै प्रकारका रक्सीहरु मिसाई हल्लाउँदा-हल्लाउँदा नयाँ स्वादको कक्टेल रक्सी बनेझैं, वा टिमुर हाल्दा ममको अचार ट्वाक मिठो र दामी बनेझैं मिठो सपना तथा नयाँ विचार अथवा नयाँ अन्वेषण पनि हुन सक्छ मस्तिष्कको त्यो कोसिस ! सुतेको बेलामामात्र होइन कि मूर्छा (coma) मा भएको बेलामा पनि यस्तै काम गरिरहेको हुन्छ हाम्रो मस्तिष्कले भलै त्यो नगन्य मात्राको किन नहोस् !

सुन्दा चित्त नबुझे पनि जीवशास्त्रको सिद्धान्त अनुसार फल प्राप्त हुने प्रसंगमा सपनाको कुनै अर्थ हुँदैन। सपना भनेको बोट होइन, फुल्दैन र फल्दैन। सपना देख्नु भनेको त मस्तिष्कको स्मरणमा भएका अनुभबमध्येका केही वा धेरै नै संवेग, चित्र अथवा अनुभब आदि REM को अवस्थामा पनि सक्रिय मस्तिष्कले टिप्नु, र अर्थ लगाउन खोजेको वा खोजिरहेको एक जैविक प्रक्रिया (Biological Process) हो। सपनाको अर्थ हुन्छ नै भनेर लेंडेढिपी गर्नु त अन्ध विश्वासले अज्माएको हाम्रो प्रवृति हो। कुनै अमुक सपना देखेपछि हाम्रो जीवनमा कुनै प्रकारको सकारात्मक वा नकारात्मक परिणाम देखिनु भनेको उक्त सपनाको कारणले नभई बिपनाका प्रयत्नको उपज, सम्बेग्को असर अथवा एउटा संयोग (coincident) मात्र हो।

आफूले छानेको भाग्यशाली नम्बरले नभई मेशिनले छानेको क्वीक पिक (Quick Pick) नम्बरमा पनि त पर्छ नि कहिलेकाहींको चिट्ठा (Lottery) कसै न कसैलाई ! अनि कुनै एक पटक सोंचेर छानेका नम्बरको समूहमा साँच्चै नै चिट्ठा परे पनि अर्को पटक ती नम्बरहरु मध्ये एउटै पनि नमिल्न पनि त सक्छ नि ! राम्रो सपना देखेकै भोलिपल्ट ठुलो दुर्घटना पर्न पनि त सक्छ नि ! अन्धविश्वासले सधै नै बिनाप्रमाण र परिक्षणका काल्पनिक कुरा गर्ने भएकोले झुट्टो हुनबाट बच्ने आधार खोजिरहेको हुन्छ। अनि राम्रो सपना देखेको बेला केही नराम्रो भयो भने अथवा नराम्रो सपना देखेको बेलामा कुनै राम्रो घटना भयो भने उक्त सपनाको अर्थ उल्टो भयो भनेर भनिदिन्छ। आखिर अर्थ हुने भनेकै या त सुल्टो या त उल्टो मात्र न हो !

तथापी कुन अवस्थामा कस्तो प्रकारको सपना देखिने सम्भावना हुन्छ, त्यसको सम्भावित अर्थ के हुन सक्छ होइन की के कस्ता कारणले त्यस्तो सपना देखिन्छन भन्ने कुराचाहिं आफ्नो विद्धमान परिस्थिति र दिनचर्यालाई ख्याल गर्यो भने लगभग थाहा पाउन सकिन्छ।
हाम्रा संवेगहरु, शरीरका अंग तथा मस्तिष्कको संचार संयन्त्र कस्तो हुन्छ त एउटा दृश्य सिर्जना गरेर हेरौं है त ! मानौं अँधेरी रातमा तपाईंले एक्लै टिभी हेरिरहेको बेलामा अकस्मात उक्त कोठाको खुलै राखेको झ्याल जोडले बन्द हुन्छ। तपाईं डराउनु हुन्छ। मुटु ढुक्क फुल्छ, जिरिंग हुन्छ, रौँ ठडिन्छन्। डराउनेबित्तिकै तपाईंको स्वासप्रश्वास र मुटुको चाल पनि तुरुन्तै बढ्छ र ऐच्छिक मांसपेशीहरु तुरुन्तै कसिला बन्दछन्। तर फेरि तुरुन्तै तपाईंलाई थाहा हुन्छ कि त्यो हावाको कारणले हो। त्यसपछि सबै अवस्था नर्मल हुन्छ।

यति छोटो समयको बिचमा केके शारीरिक, सम्बेगात्मक, र मानसिक प्रक्रिया भइसक्छन भने डरले मस्तिष्कमा सृंखलाबद्ध रुपमा बिभिन्न प्रतिक्रिया गराउँछ, यस्तो अवस्थामा मस्तिष्क एकदम तनाबको स्थितिमा हुन्छ, र तनाब महसुस हुनेबित्तिकै मस्तिष्कले तुरुन्तै एक प्रकारको रासायन उत्पादन गर्दछ, मस्तिष्कमा यस्तो रासायन उत्पादन हुनेबित्तिकै उक्त रसायनको कारणले मुटुको धड्कन र स्वासप्रस्वास बढिहाल्छ।

यस प्रकार हाम्रा दैनिक जीवनका राम्रा नराम्रा, सफल असफल, पूर्ण अपूर्ण, स्वीकार्य अस्वीकार्य, पीडादायी रमाइला, दुखपूर्ण सुखपूर्ण आदि शारीरिक, मानसिक, सम्बेगात्मक, भावनात्मक आदि कुराहरुको प्रभावको परिणामस्वरूप हाम्रो मस्तिष्कले बिबिध प्रकारका प्रतिक्रियाहरु गर्दा हामीले बिभिन्न प्रकारका सपना देख्छौं।

कस्तो अवस्थामा हुँदा लगभग कस्ता प्रकारका सपनाहरु देखिने सम्भावना हुन्छ त ?
१) केही कुरा लुकाउन खोजिरहेको अवस्थामा र आफूले गर्नु पर्ने कुनै कुरामा पूर्ण तयारीको अवस्था छैन भन्ने आफूलाई त्यसको महसुस भैरहेको छ भने अरुको अगडी नांगिएको प्रकृतिको सपना देख्ने सम्भावना हुन्छ। तर तयारी नहुँदा नहुँदै पनि आफूलाई खासै चिन्ता छैन भने नांगिए पनि कसैले नदेख्ने खाले सपना देखिन सक्छ।

२) आफूलाई चिन्ता परेको छ, असुरक्षित महसुस भैरहेको छ, परिस्थिति आफ्नो बसमा छैन, जाँचको तयारी राम्रो छैन भने आफू कतै खसिरहेको, लडेको, पछारिएको, ओरालै-ओरालो झरेकोजस्तो प्रकृतिको सपना देखिने सम्भावना हुन्छ।

३) समस्यालाई डटेर सामना गर्नुकोसट्टा पन्छिन खोजिरहेको अवस्थामा, काममा, अध्ययन गर्ने ठाउँमा अथवा छिमेकमा खटपट पारिरहेको अबस्थामा, परिणामको निस्चयता नहुँदा नहुँदै धेरै क्षेत्रमा हात हालिरहेको अवस्थामा, लागेको कुनै लत छाड्न गाह्रो भैरहेको अवस्थामा कसैले लखेटेको वा जति दौडे पनि उही ठाउँमा भएको, खुट्टा लुला भएको प्रकृतिको सपना देख्ने सम्भावाना रहन्छ।

४) यदि ध्यान पुर्याउनु पर्ने कुरामा ध्यान पुगिरहेको छैन भने, कुनै समस्या समाधान गर्ने कोसिस भैरहेको छ भने, कसैले आफूलाई जांचिरहेको भान भैरहेको छ भने जांच दिएको, पेनले नलेखेको, उत्तर लेखेर नसकिएको, लेखिसकेपछि उत्तर उल्टो भएको थाहा पाएको, उत्तर कपि हराएको, जांच भएको कुरा अचानक याद आई कोठातिर दौडिरहेको प्रकृतिको सपना देखिने बढी सम्भावाना हुन्छ।

५) आफूले महसुस गरे पनि नगरे पनि हरेक दृष्टिकोणले परिस्थिति आफ्नो अनुकुल भैरहेको छ भने, हालसालै कुनै नाप्न तथा देख्न सकिने सफलता मिलेको छ भने उडेको, पहाड चढेको, नदी तरेको, एक्लैले धेरैलाई जितेको आदि प्रकृतिको सपना देखिने सम्भावना हुन्छ, तर समस्या यद्यपि रहेको भान भैरहेको छ भने चढ्ने वा तर्ने गतिमा अथवा क्रममा कतै न कतै बाधा परेको सपना देखिन सक्छ।

६) यदि काममा ब्यबधान आएको छ जसको कारणले चिन्ता बढिरहेको छ, अथवा आफ्नो भनाइको प्रभाब नपरिरहेको अनुभब भैरहेको छ भने दाँत हल्लेको, रगत आएको, दाँत झरेको, किराले घेरेको, माकुराले जेलेको प्रकृतिका सपना देखिन सक्छन्।

७) जीवनमा कुनै कुराले एकदम गहिरो आघात पारेको छ, अर्थात् आफूलाई अन्यायमा पार्ने प्रति बदलाको भावाना यद्यपि मनमा छ भने उक्त व्यक्ति वा उक्त आधात पार्ने घटनासंग सम्बन्धित सपना दोहोरिरहने सम्भावना रहन्छ।

८) आफूले एकदम मन पराएको व्यक्तिसंग परिस्थितिबस सम्बन्धमा सधैको लागी पूर्णबिराम लाएको छ भने अथवा बर्तमान पाटनरसंग कुनै न कुनै रुपले सन्तुष्टि मिलेको छैन भने बिछोडिएकै व्यक्तिसंग सहबास भैरहेको सपना देख्ने सम्भावाना रहन्छ। त्यस्तै यौन सम्बन्धि अत्यधिक चाहाना बढेको बेला कुनै माथिल्लो स्तरको व्यक्तिसंग संसर्ग भएको प्रकृतिको सपना देखिन सक्छ।

प्राय सपना किन बिर्सिन्छन त ?
कुनै पनि कुरा लामो समय स्मरणमा रहिरहनको लागी उक्त कुरालाई उद्देश्य पूर्बक पूर्ण शक्तिले स्मरण गर्नु पर्ने हुन्छ, तर सपनामा उदेश्य जिरो हुने भएकोले सपनाको कुरा याद हुन सक्दैन। त्यस्तै कुनै पनि कुरा स्मरणमा दिगोगरी रहनको लागी दृश्य प्रस्ट हुनु पर्छ, गन्ध एकदम मन पर्ने वा एकदम मन नपर्ने हुनु पर्छ, उक्त कुराले सम्बेगमा गहिरो प्रभाब पारेको हुनु पर्दछ, र उक्त कुरा दोहोर्याउन मिल्ने हुनु पर्दछ। तर सपनाका कुराहरुमा यस्तो कुनै सम्भावना हुँदैन, त्यसैले तुरुन्तै बिर्सिन्छ।

त्यसैले यदि सपनामा कुनै एकदम सुझपूर्ण कुरा देखियो भने अथवा संसारका सबै हिसाब नै समाधान गर्न मिल्ने जस्तो तर एकदम सजिलो, तु याद हुनेजस्तो सूत्र देखियो भने पनि सबै कन्ठै छ किन लेख्न पर्यो भनेर टिप्न छाड्नु हुँदैन। पूर्ण याद भए पनि टिप्नु पर्छ नत्र पुन सुत्ने बित्तिकै सबै बिर्सिन्छ।

कसरी याद गर्न सकिन्छ त सपनालाई ?
Lucid Dreaming अनुसार अभ्यासको माध्यामले चाहेजस्तो सपना देख्न पनि र सपना सम्झिने बानी पार्न पनि सकिन्छ। नियतबस नै यस्तो सपना देख्न चाहन्छु, देख्छु-देख्छु भन्दै सुत्ने गर्यो भने बिस्तारै त्यस्तै सपना देख्ने बानी पर्न सक्छ। यस्तो बानी पार्न सकेमा एकातर्फ व्यक्तिमा आत्मविश्वास बढ्दै जान्छ भने नराम्रो सपना देख्ने प्रवृति घट्दै गएर सकारात्मक भावना पैदा हुन्छ। यो तरीका अपनाउँदा शारीरिक दुर्बलताले गर्दा वास्तविक जीवनमा अनुभब गर्न असम्भब भएका कुराहरु पनि अनुभब गर्न सम्भब हुन्छ।

यहाँ सम्म कि लुसिड ड्रिमिंगमा अभ्यस्त व्यक्ति सांच्चैको हृदयघातबाट पनि बिउंझने धेरै सम्भावना हुने कुरा बैज्ञानिक हरुले बिश्वास गरेका छन्। REM को अवस्था बढीमा ९० मिनेटको हुने हुनाले सुतेको करिब २ घण्टाभित्र बज्नेगरी अलार्म लगाई सुतेमा, धेरै पानी खाएर सुतेमा, सपना देखें भनी थाहा पाएर बिस्तारै उठेमा सपना याद गर्न सकिन्छ। REM बाहेकको कुनै अवस्थामा बिउँझे पनि सपना याद हुन सक्दैन।mysansar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार