फाक्तेप आयुर्वेदमा योग दिवस मनाइयो

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिका-५,घुर्बिसे पन्चमी स्थित फाक्तेप आयुर्वेदिक औषधालयमा ५ औं राष्ट्रिय योग दिवसका अवसरमा प्रशिक्षण सहित दिवस मनाइएको छ।

‘राष्ट्रिय एकता,योगको अपरिहार्यता’भन्ने नाराका साथ स्थानीय बासिन्दालाई योग बारे चेतनाको विकास गर्दै यसबाट स्वस्थ शरीर र मानसिक सुख प्राप्त हुने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको कार्यालय प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए।
कार्यालय प्रमुख श्रेष्ठको अध्यक्षतामा योग सम्बन्धि जानकार स्थानीय शिक्षक बुद्धसिं केसिको प्रमुख आतिथ्य रहेकोे थियो।
प्रमुख अतिथिले योग के हो,किन गर्ने,यसको महत्त्व,योग र स्वास्थ आदि बारे प्रष्ट्याएका थिए।
शिक्षक वीर नरसिं चेम्जोङ,सुरेन्द्र प्रसाद लामिछाने,रुपा लावती तथा स्थानीय बलिराज चेम्जोङले मन्तव्य राख्दै उनीहरुले वर्तमान समयमा मानिसको जीवन स्तर वृद्धि संगै विषादीयुक्त खानेकुरा खाएपछि शारीरिक कसरत कमि भएकोले हरेक रोगको शिकार भएका छौं, यसबाट मुक्त हुन योग अहिलेको आवश्यकता भएको बताए।

योग शिक्षा अध्यन गर्न नेपाल सरकारले कक्षा ९ देखि नै पाठ्यक्रम समावेश गरे संगै यसका लागि फाल्गुनन्द गाउँपालिकाले बजेट विनियोजन गरेको कार्यालय जनाएको छ।
माघे सँक्रान्तीका दिन औषधालयद्वारा आयोजित उक्त कार्यक्रममा सहभागिलाई घरायसी तथा जंगली कन्दमुलका साथ अन्य खाने परिकार बाँडिएको थियो।चार जना कर्मचारी रहेको यस औषधालयमा आयुर्वेदिक औषधि वितरण,उपचार,परामर्श तथा शिरोधारा,श्वेत यन्त्र,पञ्चकर्म लगायतका सुविधा रहेको छ।केही दिन देखिनै योग अभ्यासको काम सुचारू गरिने बताइएको छ।
यी उपचार पद्धतिबाट टाउको दुखाइको समस्या हल हुने ,मोटोपन घट्ने,शरीरबाट टक्सिन निकाल्ने,मेसिन मसाजले दुखाइ कम गर्ने आदि सेवाको संचालनमा ल्याइएको कार्यालयले जानकारी दिएको छ।

धार्मिक बिश्वास अनुसार भगवान शिवद्वारा अनुसरण् गरिएको योग पद्धति नेपालबाट विश्वमा फैलिएको कथन छ।
शारीरिक तन्दुरुस्तीका लागि विश्वभर योगको आकर्षण बढ्दै गएको समयमा बर्सेनि हजारौं विदेशी योग सिक्न नेपाल आउने हुँदा पर्यटन क्षेत्रमा समेत मद्दत पुग्ने बुद्धिजीवीहरु बताउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार