पर्यटकहरु होमस्टेप्रति आकर्षित बन्दै

  नयाँ बुलन्द
7 Shares

इलाम : पूर्वी नेपालको पहाडी जिल्ला इलाममा पर्यटकहरु होमस्टेप्रति आकर्षित बन्दै गएका छन् । मौलिकपना झल्किने रहनसहन, संस्कृति र जीवनशैली बुझ्न कतिपय विदेशी पर्यटकहरु महिनौंसम्म पनि होमस्टेमा बस्ने गरेका हुन् ।

चिल्ला सडकमा हुइँकिएर स्टार होटलमा बस्दा रमाइलो होला तर गाउँघरको फन्को लगाउँदै त्यहाँको परिवेश, रहनसहनसँग घुलमिल गर्दा पनि बेग्लै आनन्द लिन सकिन्छ ।

फरक–फरक गाउँको आआफ्नै परिवेश र संस्कृति जान्ने सुविधा होमस्टेमा मिल्ने गर्छ । जसका कारण घुमघाममा निस्किनेहरूको रोजाइमा होमस्टप्रतिको आकर्षण बढ्दो छ ।

पछिल्लो समय इलामका होमस्टेमा तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेका छ । इलामको माइपोखरी, श्रीअन्तु, फिक्कललगायतका होमस्टेमा पालैपालो २० भन्दा बढी देशका पर्यटकहरु महिनौँसम्म बस्ने गरेका छन् ।

तीन वर्षअघिसम्म खासै पर्यटकहरुको आर्कषणमा पर्न नसकेका होमस्टेहरु विस्तारै पर्यटकहरुको रोजाइमा पर्न थालेका छन् । धेरै विदेशी हिमालको पदयात्रामा जाने भए पनि पछिल्लो समय भने होमस्टेमा आउनेको संख्या पनि बढेको हो ।

पर्यटकलाई खान र बस्न सहज हुने भएकाले पनि घुम्न आउने गरेको होमस्टे सञ्चालक बताउँछन् । महँगा होटेलमा भन्दा सस्तोमै स्तरीय सेवा पाइने भएकाले पनि यसप्रतिको आकर्षण बढ्दै गएको हो ।

होमस्टेमा बस्ने पर्यटकले परिवारका सदस्यले झैँ काममा समेत सघाउने गर्दछन् । गाइको थलो भकारो गर्ने, घाँस काट्ने, घरको काम सघाउने, खाना पकाउने, दुध डेरीमा पुर्‍याउने लगायतका काममा उनीहरुले सघाउने गर्दछन् ।

अधिकांश पर्यटकहरु होमस्टेमा हप्तादिनदेखि एक महिनाको समयसम्म बस्ने गरेका छन् । होमस्टेमा यहाँको कला, संस्कृति, भेषभुषा, खानपानमा रमाउन पाएकाले निकै आनन्दित भएको पर्यटकको अनुभूति छ ।

होमस्टेमा बस्ने विदेशीले अनलाइनमार्फत् सिधै समय मिलाउने गरेका छन् । पर्यटकका लागि सुविधा मात्र नभएर यहाँको पहिचान झल्कने गाउँघर, रहनसहन, र हरियालीले पनि आकर्षित बनाएको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार