समाजवादी पार्टीले माघ ३ देखि सातै प्रदेशबाट विसु अभियान थाल्ने

  नयाँ बुलन्द
7 Shares

काठमाडौं : समाजवादी पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) २०२०’ सञ्चालन गर्ने भएको छ ।

यस अभियानलाई सञ्चालन गर्न समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य मा. राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा विसु अभियानको सचिवालय गठन गरेको छ । संयोजक राजेन्द्र श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ अभियान उद्घाटन गरिने बताए । अभियानको उद्घाटनका लागि पार्टीका शीर्ष नेताहरू सातै प्रदेशका कार्यक्रममा भाग लिने छन् । संयोजक श्रेष्ठले यस अघि पार्टी एकीकरण र समायोजनको कामको जिम्मेवारी पनि सम्हालेका थिए ।

पार्टी कार्यालयको स्रोतले जनाए अनुसार अभियानको उद्घाटन तथा अभिमुखिकरण ७ वटै प्रदेशमा एक साथ हुने् छ । यसका लागि निम्नानुसार पार्टीका केन्द्रीय पदाधिकारीहरू खटाइएको छ ।

प्रदेश नं. १
प्रमुख अतिथि वरिष्ठ नेता, अशोक कुमार राई विशिष्ठ अतिथिहरू उपाध्यक्षद्वय परशुराम खापुङ र रकम चेम्जोङ, महाचिव रणध्वज कन्दङवा र सचिव परशुराम वस्नेत ।

प्रदेश नं. २ (मधेश प्रदेश)

प्रमुख अतिथि केन्द्रीय समिति अध्यक्ष मा. उपेन्द्र यादव विशिष्ठ अतिथिहरू उपाध्यक्षद्वय मा. रेणुकुमारी यादव र मा. लालबावु राउत, महासचिव मा. रामसहाय प्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव प्रशान्त सिं ।

प्रदेश नं. ३

प्रमुख अतिथि सहअध्यक्ष मा राजेन्द्र प्रसाद श्रेष्ठ विशिष्ठ अतिथिहरू उपाध्यक्ष हिसिला यमी, महासचिव गंगानारायण श्रेष्ठ ।

प्रदेश नं. ४ (गण्डकी प्रदेश)

प्रमुख अतिथि सङ्घीय परिषद अध्यक्ष मा. डा.वावुराम भट्टराई विशिष्ठ अतिथि उपमहासचिव डम्बर खतिवडा ।

प्रदेश नं. ५

प्रमुख अतिथि उपाध्यक्ष नवराज सुवेदी विशिष्ठ अतिथि सचिव मा. मो.इस्तियाक राई ।

प्रदेश नं. ६ (कर्णाली प्रदेश)

प्रमुख अतिथि उपाध्यक्ष युवराज कार्की विशिष्ठ अतिथि सचिव भक्त बहादुर शाह ।

प्रदेश नं. ७ (सुदुरपश्चिम प्रदेश)

प्रमुख अतिथि उपाध्यक्ष हेम राज राई विशिष्ठ अतिथिहरू उपमहासचिव दान बहादुर विश्वकर्मा र सचिव दुर्गा सोव ।

तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता खटाइने छन् । जिल्लामा सम्बन्धित जिल्लाका वरिष्ठतम तथा कृयाशील केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइने छ । समाजवादी पार्टीले यस अभियानमार्फत आधारभूत तहसम्म पार्टी संगठन विस्तार गर्ने छन् ।

गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा वडा समिति र गाउँ तथा टोलमा प्रारम्भिक समिति बनाउने कामलाई तीब्रता दिइने छ । पार्टी एकताको उर्जालाई संगठनमा रूपान्तरण गर्ने, गाउँ गाउँ र टोल टोलसम्म पार्टी संगठन बनाउने, ब्यापक रूपमा पार्टी प्रवेश गराउने र पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यका साथ अभियान चलाउन लागेको कुरा केन्द्रीय कार्यालयले जनाएको छ ।

यस अभियानको सफलताका लागि पार्टीका उपाध्यक्षहरूलाई अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ, जसअनुसार प्रदेश नं १ मा रकम चेम्जोङ, प्रदेश नं २ मा लालबाबु राउत, प्रदेश नं ३ मा हिसिला यमी, प्रदेश नं ४ (गण्डकी प्रदेश)मा हेमराज राई, प्रदेश नं ५ मा नवराज सुवेदी, प्रदेश नं ६ (कर्णाली प्रदेश) रं ७ (सुदुरपश्चिम प्रदेश) मा युवराज कार्की रहेका छन् ।

पार्टी एकताको उर्जालाई संगठनात्मक शक्तिमा बदल्नको लागि अभियान सञ्चालन गर्न लागिएको अभियानका सचिवालय संयोजक तथा सहअध्यक्ष श्रेष्ठले आफ्नो स्टाटसमा जनाएका छन् । उनले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा लान, पार्टी संगठन विस्तार र सुदृढीकरण गर्न तथा पार्टीको पक्षमा जन लहर सृजना गर्न पार्टी केन्द्रीय समितिको दोस्रो बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

अभियानले पार्टीको नीति तथा कार्यक्रम स्थानीय तहसम्म पुग्ने र पार्टी विस्तारमा उर्जा थप्ने वताउँदै निम्न ५ विशेषता रहेको नयाँ ढङ्गको पार्टी बनाउने कुरा उनले स्टाटसमा उल्लेख गरेका छन् :

पहिलो – सिद्धान्तनिष्ठ अर्थात समुन्नत सङ्घीय समाजवाद र पहिचान सहितको सङ्घीय लोकतन्त्रप्रति प्रतिवद्ध ।
दोस्रो – सङ्घर्षशील अर्थात जनसङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गर्न सक्ने ।
तेस्रो – राष्ट्रिय चरित्रको अर्थात जातीय वा क्षेत्रीय नभै सिङ्गो देश ओगट्न सक्ने ।
चौथो – समानुपातिक समावेशी अर्थात कुनै एउटा जातिको वर्चस्व नभै समानुपातिक प्रतिनिधित्व भएको ।
पाँचौं – अनुशासित अर्थात पार्टीको नीति निर्णयहरूलाई पालना गर्ने ।

नेता श्रेष्ठले अभियानको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि सक्रियताका साथ लाग्न सम्पूर्ण प्रदेश समितिहरूलाई निर्देशित गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार