भवन निर्माणको बहानामा ब्रह्मलुट

  नयाँ बुलन्द
0 Shares

फिदिम : पक्की भवन निर्माण गर्ने बहानामा विद्यालयका तत्कालिन प्रधानाध्यापक र व्यवस्थापन समितिका तत्कालिन कार्यबाहक अध्यक्षले लाखौँ रुपैँया हिनामिना गरेको खुल्नमा आएको छ । फालेलुङ गाँउपालिका ८ स्थित सिंहसिद्ध माध्यमिक विद्यालयको चार कोठे पक्की भवन निर्माणको बहानामा वडाध्यक्ष समेत रहेका तत्कालिन कावा अध्यक्ष पदमकुमार फागो र प्रअ डिल्लिहाङ जवेगुले बजेट हिनामिना गरेका हुन्  ।
शिक्षाको बहुबर्षे (दुई बर्षे) योजना अन्तर्गत भवन निर्माणका लागि ३२ लाख रुपैँया बिनियोजन भएको थियो ।  आर्थिक बर्ष २०७२÷०७३ मा  बिनियोजन भएको उक्त बजेटले दुई बर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म निर्माणको काम लथालिङ अवस्थामा छ ।  शिक्षाबाट सम्पूर्ण बजेट निकासा भईसकेको छ । ‘दुई किस्ता गरी बजेट निकाशा भईसकेको छ,’ शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख युगमणि सबेहाङले भने ‘२०७४ साल सम्ममा सम्पूर्ण बजेट निकाशा भएको हो ।’
१६ लाखको दरले दुई पटक गरी बजेट निकाशा भएको हो । भवनको तला थप्ने शिर्षकमा फालेलुङ गाँउपालिकाले गत बर्ष १५ लाख रुपैँया दिएको थियो । उक्त बजेट पनि खर्च भइसेको देखाईको छ । यो बर्ष पनि सोही भवन निर्माण गर्ने भन्दै फालेलुङ ८ ले चार लाख रुपैँया छुट्याएको छ ।
बिद्यालयका तत्कालिन कावा अध्यक्ष फागो नै अहिले वडाध्यक्ष छन् । काठ र सिमेन्ट खरिद गरेको रकम समेत अहिलेसम्म बुझाइएको छैन । ‘बजेट निकाशा भएको छैन भनेर सामानको पैसा दिएका छैनन्,’ शिवगौरी सप्लायर्सका प्रोपाइटर शोम थापाले भने ‘बजेट निकाशा भएपछि दिन्छु भनेका छन् ।’ वडाध्यक्ष समेत रहेका फागोले नै सामान खरिदको जिम्मा लिएका थिए ।
समितिमार्फत भवन निर्माण गर्नुपर्ने प्रावधान भएपनि व्यवस्थापन समितिले चार जना ठेक्केदारलाई भवन निर्माणको जिम्मा दिएको थियो । सुकप्रसाद जवेगु, लक्ष्मी माङ्लाक, अमरजङ जवेगु, दिव्य खजुम र असुनी जवेगुलाई निर्माणको जिम्मा दिएको थियो ।
आठ लाखमा निर्माण गर्ने सम्झौता भएपनि छ लाख रुपैँया मात्र आफूहरुले पाएको ठेक्केदारहरुको गुनासो छ । सम्झौता अनुसरको बजेट नपाएको र निर्माण सामग्रिहरु समयमा नआएपछि काम छाडिएको  ठेकेदार लक्ष्मी माङ्लाकले बताए । समयमा सामान नआएपछि काम गर्न नसकिएको ठेकेदारहरुको तर्क छ ।
विव्यस र ठेकेदारबीचको द्धन्द्धले भवन निर्माणको कामले पूर्णता नपाएको प्रअ मोहन जवेगुले बताए । ‘बजेट हिनामिना भएको प्रष्ट देखिन्छ,’ जबेगुले भने ‘मैले भर्खरै प्रअको जिम्मेवारी लिएको छु । धेरै कुरा थाहा छैन । भवनको विषयलाई लिएर बैठक बोलाएको छु ।’
ठेकेदारको लापरबाहीका कारण भवन नबनेको फागोको तर्क छ । ‘ठेकेदारले बदमास गरेपछि भवन निर्माणका लागि ल्याएको सामान अरुलाई नै पैँचो दिएका छौँ,’ वडाध्यक्ष समेत रहेका फागोले भने ‘खरिद गरेर ल्याएका अधिकांश सिमेन्ट बिग्रिएकाले फाल्नुप¥यो ।’ खरिद गरेर ल्याएको दुई गाडी सिमेन्ट मध्ये ४० बोरा पैँचो दिएको फागोको भनाई छ । काठ र बाँस चाही स्वास्थ्य चौँकी निर्माणका लागि दिइएको उनले बताए ।
तत्कालि प्रअ डिल्लिहाङ जवेगुले भने विद्यालयको सम्पूर्ण हिसाबकिता बरबुजारत गरिसकेको बताएका छन् । ‘नयाँ विव्यस गठन गर्नुपर्ने भएपछि विवाद सुरु भएर  भवनले पूर्णता नपाएको हो,’ जवेगेले भने ‘हामीले बजेट हिनामिना गरेका छैनौँ ।’ हालसम्म तीन पटक विव्यसको नेतृत्व परिवर्तन भईसकेको छ । ‘भवन निर्माणमा लापरबाहि भएको देखियो,’  विव्यस अध्यक्ष चन्द्र माङ्मुले भने ‘विद्यमान समस्यालाई समाधान गर्न म प्रयत्न गर्नेछु ।’tamorkhabar बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार