विद्यालयमा जम्मा चार जना बिद्यार्थी, पाँच कक्षा पढ्नेले क, ख समेत जान्दैनन्

  नयाँ बुलन्द
0 Shares

फिदिम : दिनको १ः३० बजे पाँचथरको फाल्गुन्द गाँउपालिका १ स्थित तिरतिरे आधारभूत विद्यालयमा पुग्दा चार जना विद्यार्थीहरु बरको रुखमुनी खेलिरहेका थिए । शिक्षक रामकुमार तामाङ र एक कार्यालय सहयोगि पनि विद्यार्थीको नजिकै कुर्सीमा बसेर घाम तापिरहेका थिए । बच्चालाई काखी च्यापेर गाँउका एक अभिभावक शिक्षकसँग गफ गरिरहेका थिए ।  कक्षाकोठाभित्रका डेक्स बेन्च रित्तै देखिन्थे ।
शिक्षक तामाङले विद्यालयमा चार जना मात्रै विद्यार्थीहरु भएको बताए । ‘चार जना विद्यार्थीका लागि हामी दुई जना शिक्षक र एक कार्यालय सहयोगि छौँ,’ तामाङले भने ‘अहिले हेडसर स्कूल आउनुभएको छैन ।’ हाजिरि खातामा २२ जना विद्यार्थीको नाम लेखिएको छ । हुँदै नभएका बिद्यार्थीको नाम हाजिरि खातामा चढाएको तामाङ्ले स्वीकारे । प्रधानाध्यापक कृष्णकला चापागाँईको विद्यालयमा उपस्थिति थिएन ।
यो विद्यालयमा दुई घरका ४ जना विद्यार्थीहरु मात्र पढ्न जान्छन् । एक कक्षामा रोजन श्रेष्ठ, दुई कक्षामा टिकादेवी श्रेष्ठ, तीन कक्षामा सुनीता तामाङ र पाँच कक्षामा निर्माला तामाङ पढ्ने गर्छन् । चार कक्षामा एक जना पनि विद्यार्थी छैनन् । विद्यालय आएका विद्यार्थीलाई आफूले पढ्ने कक्षा समेत थाहा छैन । उनीहरुलाई क, ख समेत लेख्न आउँदैन ।  हाजिरीमा खातामा हुँदै नभएका २२ जना बिद्यार्थीको नाम देखिएको छ । विद्यालय टिकाउन हुँदै नभएका विद्यार्थीको उपस्थिति देखाउनु परेको प्रअ चापागाँइको भनाई छ ।
विद्यालय आएका विद्यार्थीलाई पनि शिक्षकले पढाउँदैनन् । कक्षा ५ मा पढ्ने निर्मला तामाङलाई क, ख समेत पढ्न गाह्रो पर्छ । ‘क, ख पनि आउँदैन, नाम लेख्न र पढ्न पनि आउँदैन,’ कमलाले भनिन् ‘सरहरुले सिकाउनु भएकै छ्रैन् ।’ तल्लो कक्षामा पढ्नेलाई त झन पढ्न लेख्न आउने कुरै भएन ।
आफू भर्खरै नियुक्ति भएकाले बिद्यालयको बारेमा धेरै थाहा नभएको शिक्षक तामाङले बताए । ‘विद्यालय र समुदाय बिचको सम्बन्धमा दरार रहेछ,’ तामाङले भने ‘शिक्षकहरुको पनि कमजोरी देखिन्छ ।’ तामाङ मंसिर ८ गते विद्यालयमा नियुक्ति भएका हुन् । त्यस बखतसम्म दुई जना मात्र विद्यार्थीहरु भएको उनले सुनाए । ‘अभिभावकहरुसँगको अन्तरक्रियापछि अहिले चार जना भएका हुन्,’ उनले भने ।
राजनितिक चलखेलका कारण विद्यालय चलाउन गाह्रो भएको प्रअ चापागाँइले फोनबाट बताइन् । ‘वरीपरि दलित बस्ति र  नजिकै अन्य विद्यालय भएकाले पनि विद्यार्थीको अभाव भएको हो,’ चापागाँइले भनिन् ‘हाम्रो विद्यालयमा तीन बर्षदेखि विद्यार्थीको अभाव भएको हो ।’ विद्यालय टिकाउनकै लागि हाजिरि खातामा किर्ते गरी विद्यार्थीहरुको संख्या देखाइएको उनले बताइन् ।
शिक्षकहरुको चरम लापरबाहीका कारण बिद्यालयमा बालबच्चा पठाउन छाडेको स्थानीयको भनाई छ । विद्यालयमा शिक्षक नियमित उपस्थिति नहुने, उपस्थित भएपनि विद्यार्थीलाई नपढाउने गरेकाले स्कूलले विद्यार्थी पाउन छाडेको हो । ‘बालबच्चाको भबिष्य बिगार्न अभिभावकको मन हुँदैन,’ एक अभिभावकले भने ‘पढाइ नै नहुने स्कुलमा किन बच्चा पठाउने ?’
अभिभावकको भेला राखेर यस्तो विद्यालयलाई मर्चको प्रक्रियामा लैजाने शिक्षा विकास तथा समन्वय इकाईका समन्वय प्रमुख युगमणि सबेहाङको भनाई छ । ‘यस्तो अवस्थामा भएको विद्यालयलाई मर्च गर्न स्थानीय तहसँग समन्वय गर्नेछौँ,’ सबेहाङले भने ‘गाँउपालिकाले त्यसको लागि भूमिका खेल्नुपर्छ ।’ शिक्षा ऐनले २० जना विद्यार्थीका लागि एक जना शिक्षक रहने व्यवस्था गरेको छ । तमाेरखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार