४ अर्बको लगानीमा पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल

  नयाँ बुलन्द
0 Shares


बिर्तामोड : झापाको बिर्तामोडमा आजबाट अत्याधुनिक उपकरणसहितको पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ ।

४ अर्ब रुपैयाँको लगानी गर्दै सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल हो । कूल ३०० शैय्याको अस्पतालले ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षीय पदम मिश्रलाई निःशुल्क उपचार गर्दै सेवा शुरु गरेको हो ।

पूर्वलाई ‘मेडिकल हब’ बनाउने उद्देश्यसहित क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालक दुर्गा प्रसाईंले बताउनुभयो ।

अस्पताल उद्घाटन कार्यक्रममा सञ्चालक प्रसाईंले भन्नुभयो, “अब क्यान्सरको उपचारका लागि नेपाली विदेश जानुपर्दैन । अत्याधुनिक उपकरणसहित नेपालमै पहिलो पटक क्यान्सरको उपचारका लागि चाहिने उपकरणसहित अस्पतालले सेवा शुरु गरेको छ ।”

विशिष्ठकृत सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा आएको पूर्वाञ्चल क्यासर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले लामो समयसम्म भारतको मेदान्ता अस्पतालमा काम गर्दा त्यहाँ धेरै क्यान्सरका नेपाली बिरामी भेटे, उनीहरु सबै नेपालमा क्यान्सरको राम्रो उपचार नभएका कारण भारत पुगेका हुन् । तर, अव क्यान्सरको उपचारका लागि कोही पनि भारत जानुपर्दैन सबै प्रकारको उपचार यही हुन्छ ।”

अस्पतालले रेडियो थेरापी, पेट सिटिस्क्यान, थ्रिडी मेमोग्रामलगायतका अत्याधुनिक उपकरणबाट क्यान्सरको उपचार गर्ने बताइएको छ । डा निराजन पराजुलीले क्यान्सरका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो ।

काठमाडौँबाहिर पनि क्यान्सरको उपचार सम्भव हुने भन्दै अव पूर्वका बिरामीलाई धेरै फाइदा हुने उहाँले धारणा राख्नु भयो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वाञ्चल क्यान्सर अस्पताल पूर्वकै गहना भएको उल्लेख गर्नुभयो । –रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार