बजेट अभावमा निर्माणाधीन मन्दिरको काम अलपत्र

  युद्धबहादुर बोहोरा
7 Shares

निर्माणाधीन मन्दिर ।

इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ खाम्बाङ्गमा निर्माणाधीन नागेश्वर शिव मन्दिरको काम बजेट अभावका कारण रोकिएको छ ।

टाढाका धार्मिक स्थलमा दर्शन गर्न जान नसक्ने वृद्धवृद्धा, अशक्त र अपांगहरुलाई मध्यनजर गरी नजिकै पुजापाठ गर्न सकुन् भन्ने उद्देश्यले उनीहरुको चाहना अनुसार काम सुरु गरिएको निर्माण तथा संरक्षण प्रवर्द्धन समिति अध्यक्ष खगीमाया भट्टराईले बताइन् ।

२०७४ असारदेखि निर्माणको काम थालनी गर्दा गाउँपालिकाबाट आर्थिक वर्ष ०७६ सम्ममा २ लाख ५० हजार रुपैयाँ उपलब्ध भएको थियो ।  सो रकमले ठाँउ सम्याउने र भुइँको संरचना खडा गरिएको भएपनि हाल बजेट अभावमा त्यतिमै काम सीमित रहेको भट्टराईले जानकारी दिइन् ।

आगामी आवको बजेट विनियोजन गर्दा १ नम्बर वडा कार्यालय र गाउँपालिकाबाट रकम उपलब्ध गराउने आश्वासन पाइएको भएपनि निर्माण सम्पन्न गर्न बजेट अपुग हुने कोषाध्याक्ष नारायणबहादुर बोहोराले बताए ।

मन्दिर परिसरमा शौचालय, धारा तथा प्रतिक्षालय सहितको भौतिक संरचना तयार गर्न प्राविधिक लागत अनुमान १५ लाख रुपैयाँ भन्दा बढी रकम आवश्यक पर्नेछ । सबै रकम गाउँपालिकाबाट प्राप्त गर्न कठिन हुँदा थप बजेटको अपेक्षा गर्दै प्रदेश सरकार समक्ष मागपत्र पेश गरिएको पनि बोहोराले बताए ।

विभिन्न जातजातिहरुको बसोबास रहेको यस क्षेत्रमा धार्मिक सहिष्णुता कायम राख्दै सबै जातिले मान्ने शिवको प्रतिक मूर्ती राखिने समितिले जनाएको छ । मन्दिर निर्माण गर्न स्थानीय सिद्धिप्रसाद भट्टराईले १ लाख ५० हजार रुपैयाँ बराबरको एक रोपनी जग्गा नि:शुल्क प्रदान गरेका छन् ।

संस्थापक, आजीवन तथा साधारण सदस्य, सल्लाहकार समिति र प्रचारप्रसार समिति समेत गठन भएको यस संस्थाले आवश्यक बजेट जुटेमा समयमै काम सक्ने प्रतिबद्धता सहित आर्थिक सहयोगको अपिल समेत गरेको समितिका सचिव इन्द्रकमल तामाङ बताउँछन् ।

१० हजार भन्दा बढी रकम सहयोग गर्ने व्यक्तिलाई उत्कृष्ट मानार्थ सदस्यको रुपमा सम्मान गर्दै फोटो सहितको नाम शिलालेखमा राखिने समितिले जनाएको छ । सहयोग गर्न इच्छुकले ९८४४६३१६०६,९८१४९७६६३१ र ९८१७०६०२०० मा सम्पर्क गरि आर्थिक सहयोग गर्न सक्ने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार