भोजपुरको पर्यटकीय क्षेत्र टेम्केडाँडा

  नन्दन सर्वत लिम्बू
0 Shares

नन्दन सर्वत लिम्बू

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पर्यटकीय स्थलहरुको चर्चा परिचर्चा गर्ने क्रममा आज म भोजपुर जिल्लाको टेम्केडाँडाको चर्चा गर्न चाहान्छु । टेम्केडाँडालाई स्थानीय भाषामा तेर्माचुङ र रुमाचुङ पनि भनिन्छ । भोजपुर जिल्लाको टेम्केमैयु गाउँपालिका साविक अन्नपूर्ण गाउँ विकास समिति अन्तर्गत रहेको यो पर्यटकीय स्थल भोजपुर सदरमुकामदेखि साढे ३ घण्टाको ४२/४३ किलोमीटरको पिच रोड र कच्ची हुँदै पुग्न सकिन्छ । टेम्के डाँडामा पुग्नै आँट्दा ४/५ किलोमीटर मुनि सुन्दर चखेवा डाँडा पुग्न सकिन्छ । चिप्लेटी खेलुझैं चिल्ला डाँडाहरु, आकर्षक सल्ला र धुपीहरु र विभिन्न बुट्यानले यो डाँडामा झुमिरहुझै मन बहलिन्छ । ससाना बुट्यान हुँदि लुकामारी खेलिरहुझैं लाग्ने मनोरम डाँडामा घण्टौ बिताउँदै वारिपारीका डाँडाकाँडा हेर्न पाउँदा मनै आनन्दित हुन्छ । चखेवाको चर्चा आम जनमानसमा मात्र नभएर किराँती मुन्दममा पनि ब्याख्या गरिएको पाईन्छ । मुन्दुम अनुसार मुन्दुम शक्तिमा बिश्वास गर्ने नाक्छोङ वा बिजुवाहरु आध्यात्मिक शक्ति प्राप्त गर्न आफ्नो घरबाट निस्कने क्रममा सबैभन्दा पहिला सामखा अर्थात तीन चुलाबाट यात्रा सुरु गर्ने गर्दछ्न् ।

सामखाबाट निस्केर छुमासुङ अर्थात मुल थाममा जाने गर्दछ्न् । मूल थामबाट डाङ्भेन अर्थात सानिभारमा त्यसपछि अर्थात घरको धुरिमा त्यहाँबाट बासुरीमा अर्थात बलेसी हुँदै तुरिचा अर्थात धारामा पुग्दछ्न् । धारा पुगेपछि नाक्छोङ बिजुवाहरुको दुइवटा बाटोहरु छुट्टिने गर्दछ । एउटा खोलाको बाटो जाने जस्लाई खारुमी भनिन्छ । भने अर्को डाँडाको बाटो जाने जस्लाई थामपुङहाङ भनिन्छ । खारुमिहरु खोलै खोला गएर त्रिवेणीको खुवालुङ पुगेर पुन: आफ्नो सामखा अर्थात तीन चुलामा फर्किन्छ्न् भने डाँडैडाँडा जानेहरु धाराबाट सिधा खुवालुङ पुगेर टेम्के डाँडामा सिली नाच्ने गर्दछ्न् । उनीहरु टेम्केदेखि नाच्दै चखेवा झर्दछ्न् । चखेवाबाट उकालो यात्रा शुरु गरेर मलुवा पोखरी, साल्पा पोखरी, मेहरुङ अनि मैयुम लौरे, बिखे हुँदै साल्पा सिलिचुङ्मा पुगेर सिली गरिसकेपछि सम्पूर्ण शक्ति पाउने गर्दछ्न् । त्यसपछि पुन आफ्नो तीन चुलामा फर्किने गर्दछ्न् । चखेवामा चिल्ला डाँडाहरुको मनोरम वातावरणमा रम्न औधी आनन्द लाग्छ । धुपी सल्लाका बोटहरुको हरियालीमा झुम्दा मनै फुरुङग हुन्छ । अनि पारी खोटाङ जिल्लाको विभिन्न भाग आखै अघि देख्दा त्यही पुगेको अनुभुत हुन्छ । त्यसपछि टेम्केको फेदि बेसक्याम्पको ठाडो उकालो १ घण्टाको बाटामा हरिया जङ्गल र विभिन्न बुट्यानले जो कसैलाई थकित महसुश गराउँदैन । त्यस्तै कच्ची बाटो हुँदै हलुका सवारीसाधन पनि डाँडामा पुग्ने गर्दछ्न् । ग्राभेल गरिएको बाटो वरपर चिमाल, लालिगुराँस, निभारा र आकर्षक बुट्यानले यात्रालाई अझ रमाईलो बनाउँदछ । अझ जङ्गलनै लालिगुराँस र चिमालले रंगिन देखिँदा त्यो दृश्य हृदयमै कैद गर्न मन जुर्मुराउँछ । जब चारै पाटा रङगी बिरङ्गी जङ्गलले घेरिएको डाँडाको दुरि पार गर्दै गइन्छ तब सिरसिर बतास चल्छ । चारै तिरका पहाड तल तल देखिन्छ्न् । आकाशमा प्रष्ट बादलका घेरा र शिराहरु देख्न पाईन्छ ।

जब डाँडोमा पुगिन्छ तब बिशाल चौरले स्वागत गर्दछ । चौरबिचमा एउटा पुरानो शैलीको मन्दिर छ । जुन मन्दिरमा बालाचतुर्दशी र चैत्रको रामनवमीमा विशाल मेला र धार्मिक पुजाआजा हुने गर्दछ । त्यस्तै ओडार मुनि देविथान छ जुन देविथानमा परेवा उडाई आफ्नो मनोकांक्षा पूरा होस् भनी भाकल गर्दछ्न् । यो डाँडाको आकर्षक पक्ष भनेको समुन्द्र सतहदेखि ३१ सय मिटरको उचाईमा रहेको छ । यहाँबाट आखैको डिलमुनिझै देखिने ३३ वटा हिमश्रङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट ८ हजार मिटर भन्दा अग्ला हिमालहरु कंचनजंघा, मकालु, ल्होत्से, सगरमाथा, चोयु र ल्होत्सेसारको एकैपल्टमा र्दृश्यावलोकन गर्न सकिन्छ । साथै तराईको सुन्दर फाटहरु यहाँबाट देख्न सकिन्छ ।

टेम्के डाँडालाई व्यवस्थित गर्न खोजिएको तथापी डाँडामा प्राविधिक हिसाबले ३२ तलाको भ्यु टावर बन्न असफल भएको देखिन्छ । टेम्केको बेसक्याम्प पनि अव्यवस्थित र भत्किन आटेको अवस्थामा छ । टेम्केडाँडा विकासको प्रचुर सम्भावना बोकेको तर कुनै ठोस योजना नभएको स्थानीय बताउँछ्न् । तसर्थ धार्मिक र पर्यटकिय आश्थाले भरिपूर्ण यो स्थान लाई व्यवस्थित गर्न सकेको खण्डमा यो ठाउँ आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने कुरामा निस्चित्त छ । साथै पर्यटकिय स्थल घुम्न मन पराउने जो कोहीलाई टेम्केडाँडाको रम्यताले सन्तुष्टी प्रदान गर्नेमा शंका छैन । यो ठाउँलाई प्रचार प्रसार र पर्यटनका आधारभूत तत्व राज्यले जुटाएमा भ्रमण वर्ष २०२० लाई धेरै टेवा पुग्ने देखिन्छ ।

हाल : टेम्केमैयुम-२, भोजपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार