फेसबुकबाट इलामको प्रचार गरिँदै

  नरेन इलामेली
14 Shares

इलाम : पछिल्लो समय सामाजिक सञ्जाल सूचना सम्प्रेषणको सजिलो माध्यम बन्दै गएको छ । सुख,  दुःख साट्ने नयाँ नयाँ कुराहरु थाहा पाउने होडमा बालबालिका युवायुवती देखि ढल्किँदो उमेरका मानिस समेत घण्टौँ सम्म सामाजिक सञ्जालमा समय व्यथित गर्ने गरेका छन् । सामाजिक सञ्जाल नयाँ कुरा सिक्ने र समय विताउने सजिलो माध्यम बनेको छ । हरेक व्यक्तिहरु फेसबुक, ट्वीटर र इन्टाग्राम जस्ता कुनै न कुनै सामाजिक सञ्जालमा जोडिएकै छन् ।

सामाजिक सञ्जालले टाढाका मानिसलाई नजिक मात्र बनाएको छैन विश्वलाई नै एउटा मोवाइल फोन वा कम्प्युटर भित्र अँटाएको छ । सामाजिक संजालमा रहने विभिन्न ग्रुप र पेजहरुले कुनै व्यक्ति, स्थान र चिजबारे जानकारी प्रदान गरिरहेको हुन्छ । पछिल्लो समय त विभिन्न प्रकारका प्रचार र विज्ञापनका लागि पनि सामाजिक संजाल कै प्रयोग गर्ने गरिन्छ यति सम्म कि निर्वाचनको प्रचारका लागि समेत सामाजिक संजालहरुमा होडबाजी नै चल्ने गरेको छ । सायद सबैको पहँचमा रहने भएकाले होला !

विशेष गरी सामाजिक संजाल (मुख्य फेसबुक) मा रमाइलोका लागि ग्रुप र पेज बनाउने गरिन्छ भने कतिपय ग्रुप र पेजहरु ज्ञानद्र्धक कुराहरु सिकाउन, समाचार सम्प्रेषण गर्न बनाउने गरिन्छ । सामाजिक संजालबाटै दुःखि पिडितका लागि सहयोग अभियान समेत संचालन गर्ने गरिएको छ ।

नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेसँगै फेसबुकमा भ्रमण बर्ष लक्षित ग्रुप र पेजहरु खोल्ने क्रम बढेको छ । ग्रुप र पेजहरु खोल्ने र देश भित्र रहेका धार्मिक, साँस्कृतिक तथा पर्यटकिय गन्तव्यहरुको प्रचार गर्नेहरुको भीडमा एउटा अग्रणी नाम हो ‘इलाम हाम्रो सान, राष्ट्रको पहिचान ’ फेसबुक ग्रुप ।

अप्रिल २५, २०१५ मा बैदेशिक रोजगारीका क्रममा मलेसिया  पुगेका  इलाम माइजोगमाई ५ सोयाङका योगेन घिमिरेले परदेशमा रहँदा गाउँघरको याद आउँदा मन भुल्याउने र आफ्नो जन्मस्थानको प्रचार गर्ने उद्धेश्यले खोलेको ग्रुपमा करिब पाँच बर्षको दौरानमा आइपुग्दा हाल १ लाख ६४ हजार ३ सय ८४ जना सदस्य जोडिएका छन् भने ८ जना ग्रुप संचालकहरुले ग्रुपलाई व्यवस्थित र परिमार्जित गर्दै आएका छन् । सो ग्रपमा इलामका विविध क्षेत्रलाई सामाजिक संजालका माध्यमबाट विश्वसमुदाय सम्म पु¥याउने र इलामलाई पर्यटकिय गन्तव्यका रुपमा पहिचान दिन सहयोग पु¥याउने उद्धेश्यले ग्रुप अघि बढिरहेको जनाइएको छ ।

युवापुस्तामा सामाजिक संजालको झुकाव बढि नै रहेको महसुस गरी विभिन्न श्रोतहरुबाट तस्वीर र भिडियो संकलन गरेर इलामबारे प्रचार गर्दै आएको ग्रुपका संचालक योगेन घिमिरेको भनाई छ । सके सम्म तस्वीर र भिडियोहरु ग्रुप संचालकहरुबाटै संकलन गर्ने र नभए श्रोत खुलाएर साभार गर्ने गरेको उनले बताए । ग्रुपको उद्धेश्य भनेकै इलामलाई विश्वसामू प्रचार गर्दै बढि भन्दा बढि पर्यटक भित्र्याउने र आय आर्जनमा समेत बृद्धि गर्ने रहेको पनि उनको भनाई छ ।

इलाम आफैमा एक विविधतायुक्त जिल्ला हो । विभिन्न जातजातिको बसोबास रहेको इलाममा आ—आफ्नै रितिरिवाज, चालचलन,  धर्म, कला संस्कृति र परम्परा रहेको छ । ग्रुपमा इलाममा रहेका हरेक जातिको कला संस्कृति देखि धार्मिक , पर्यटकिय गन्तव्यहरुको बारेमा जानकरी दिने उद्धेश्यले तस्वीर , भिडियो र समाचारहरु पोष्ट गरिएको पाइन्छ । ग्रुपमा कहिले लिम्बू जातिको धान नाच त कहिले नेवार जातिको लाखे नाच देख्न सकिन्छ भने कहिले राई जातिको साकेला नाच । कहिले  श्री अन्तुको झुल्के घाम त कहिले सिद्धिथुम्काको सुर्यास्तको दृश्य । कहिले इलामको उच्च पहाडी क्षेत्रमा पाइने भेडा चौरी त कहिले विश्वकै लोप उन्मुख जनावर रेड पाण्डा (हाब्रे) । कहिले उच्च पहाडी क्षेत्रमा पाइने ढकमक्क फूलेको लालीगुराँस त कहिले इलाम सदरमुकाम , कन्याम र पानीटारको मनोरम हरियाली चियाबारीको फोटो र भिडियो देख्न सकिन्छ । कहिले सन्दकपुर गाउँपालिकाको जमुनामा रहेको ढाप पोखरी र सूयोदय नगरपालिकाको श्रीअन्तुमा बोटिङ्ग गरेको त कहिले इलाम नगरपालिकाको महभीरको रक क्लाइम्विङ्ग ।

यति मात्रै हैन ‘इलाम हाम्रो सान, राष्ट्रको पहिचान’ फेसबुक ग्रुपमा इलाम जिल्ला कै उच्च स्थान ३ हजार ६ सय ३६ मिटर उचाईमा रहेको सन्दकपूर, विश्व रामसार सूचीमा सूचिकृत  माइपोखरी, हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र गजुरमुखी धाम, सानी पाथिभरा र किराँत धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङमालुङ्गले प्रशस्त स्थान पाउने गरेको छ ।

ग्रामिण जनजीवन रहेको इलामका मेहनति इलामेली किसानहरुको कृषि कर्म देखि घरेलु र ठूला उद्योगबाट निर्मित  सामाग्रीबारे जानकारी गराउँदै ग्राहक केन्द्रित  गर्ने माध्यम समेत बनेको छ ‘इलाम हाम्रो सान, राष्ट्रको पहिचान’ फेसबुक ग्रुप । फेसबुकमा पोष्ट भएका छुर्पी, ललिपप, बम्वाइसन, चिया लगायतका तस्वीरहरुले पनि पर्यटकहरुलाई इलाम तर्फ तान्ने गरेको छ ।

फेसबुक ग्रुपले पर्यटकहरुलाई इलाम घुम्न सजिलो बनाएको पर्यटकहरुको भनाई छ । ‘इलाम हाम्रो सान, राष्ट्रको पहिचान’ भन्ने फेसबुक ग्रुपबाट  इलामको श्री अन्तुबारे जानकारी पाएको र सूर्योदयको दृश्य हेर्नकै लागि इलाम आएको मोरङ उर्लाबारीकी जुनिका न्यौपानेले बताइन् । गत बिहीबार फिक्कलमा भेटिएकी न्यौपानेले आफू पहिलो पटक इलाम आएको र श्री अन्तु पुगेर सूर्योदयको दृश्यावलोकन गरेको बताइन् ‘इलाम हाम्रो सान, राष्ट्रको पहिचान’ फेसबुक ग्रुपमा श्री अन्तुको बारेमा आउने पोष्टले नै आफूलाई इलाम घुम्ने  ऊर्जा मिलेको न्यौपानेले बताइन् ।

इलाम साँच्चै सुन्दर रहेको र समाजिक संजालमा पाएको चर्चाकै कारण इलाम घुम्न आएको न्यौपानेसँगै इलाम आएकी मोरङ्ग बेलबारीकी रस्मिता सापकोटाले बताइन । “श्री अन्तु पश्चात हाम्रो गन्तव्य सन्दकपूर सोचैका थियौँ तर यो मौसममा सन्दकपूर एकदमै चिसो हुने फेसबुक ग्रुपबाटै जानकारी पाए पछि हामी माइपोखरी तर्फ जाने तयारी गर्दैछौँ । माइपोखरी विश्व रामसार सुचीमा सुचिकृत सम्पदा रहेको र त्यहाँ नौ कुने पोखरी, दुर्लभ वन्यजन्तु र वनस्पति हेर्न पाइन्छ भन्ने जानकारी पाएका छौँ हेरौँ कस्तो छ त्यहाँ पुगेपछि थाहा हुन्छ ।” सापकोटाले भनिन् ।

यसरी सामाजिक संजाल फेसबुक मार्फत इलामको प्रचार गरी इलामको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याए पनि पर्यटन प्रवद्र्धनसँग सम्बन्धित संघ संस्थाबाट सहयोग नपाएको ग्रुप संचालक घिमिरेको गुनासो रहेको छ । घिमिरेले भने, “यसो भन्दै गर्दा हामीले सम्मान खोजेमा हैनौँ , हामी आफ्नै सक्रियता र कर्मबाट सम्मानित छौँ । तर हामीलाई यस्ता संस्थाले हाम्रो कामबारे मुल्याङ्कन गरी सुझाव र हौसला दिए  अझै सहज हुने थियो । हाम्रा सक्रिय सदस्यहरुलाई छनोट गरी पर्यटनसँग सम्बन्धित  कुनै संस्थामा आवद्ध गरइदिए हौसला र प्रोत्साहन मिल्ने थियो ।”

नेपाल भ्रमण बर्ष २०२० सुरु हुन केहि दिन मात्र बाँकी छ । भ्रमण बर्ष २०२० को प्रचारमा सामाजिक संजालको अधिकतम प्रयोग गर्ने सरकारले निर्णय समेत गरिसकेको छ । सामाजिक संजाल मात्रै प्रचारका लागि पर्याप्त सामाग्री भने हैनन्  । पर्यटनसँग सम्बीधत विभिन्न संघ संस्थाका कार्यक्रम सँगै सामाजिक संजाललाई पनि सहि सदुपयोग गर्न सके पर्यटन प्रवद्र्धनमा अवश्य नै सहयोग पुग्ने देख्निछ तर यसका लागि सबै आआफ्नो क्षेत्रबाट लाग्न भने जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार