इलाम अस्पतालमा ब्लड बैंक स्थापना, निःशुल्क रगत पाइने

  राम योङहाङ
14 Shares


इलाम : इलाम अस्पतालमा विरामीले निःशुल्क रगत पाउने भएका छन् । अस्पतालमा भर्ना भई गरतको आवश्यकता पर्ने बिरामीका लागि आइतबारदेखि निःशुल्क रगतको व्यवस्था गरिएको छ ।

नेपाल रेडक्रम सोसाइटी इलामले स्थापना गरेको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको नेपाल रेडक्रम सोसाइटीले जनाएको छ । यसअघि अस्पतालमा एक प्रिन्ट रगतको ७ सय रुपैयाँ तिर्दै आएका थिए । रेडक्रसले ब्लड ब्याग, आइबीसेट, रक्त परिक्षणलगायतमा लाग्ने खर्च वापतको ७ सय रुपैयाँ लिदैं आएको थियो ।

समाजसेवी रतनकुमार चौधरीको सहायोगमा रेडक्रसले निःशुल्क रगत वितरणको व्यवस्था गरेको हो । नेपाल रेडक्रस सोसाइटीका उपसभापति तथा रक्तसंचार सेवा संयोजक समेत रहेका चौधरीले निःशुल्क रगत वितरणका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार उपलब्ध गराउने भएका छन् ।

चौधरीले २०८० असार मसान्तसम्मका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार चौधरीले रेडक्रस सोसाइटीलाई अबको ४ वर्षसम्म वर्सेनी डेढ लाखका दरले रकम उपलब्ध गराउनेछन् । सोही रकमबाट रेडक्रसले खर्च व्यवस्थापन गरी विरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेछ ।

गरिब बिरामीसँग एक प्रिन्ट रगत किन्ने रकम समेत नभएको देखेकाले त्यस्ता विरामीका लागि निःशुल्क रगत दिनका लागि रेडक्रसलाई रकम उपलब्ध गराएको चौधरीले बताए ।

‘कतिपय गरिब बिरामीसँग एक प्रिन्ट रगत किन्ने रकम समेत नभएर समस्यामा पर्ने गरेका छन्’ चौधरीले भने, ‘त्यस्ता विरामीका लागि निःशुल्क रगत दिने व्यवस्था मिलाउन मैले वार्षिक डेढ लाख रुपैयाँ दिने घोषणा गरेको हुँ ।’

इलाम अस्पतालमा वार्षिक सरदरमा २ सय प्रिन्ट रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

इलाम अस्पतालमा स्थापना गरिएको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) को आइतबार औपचारिक उद्घाटन गरिएको छ । नेपाल रेडक्रड सोसाइटी इलामले स्थापना गरेको ब्लड बैंकको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले गरे ।

२२ वर्षदेखि आकष्मिक रक्तसञ्चार सेवा संचालन गर्दै आएको रेडक्रसले इलाममा ब्लड बैंक संचालन गरेको हो । ब्लड बैंक स्थापना भएपछि कुनै बिरामीलाई रगतको आवश्यकता पर्दा तत्काल रक्त  समूह मिल्ने व्यक्तिको खोजी गर्नुपर्ने झन्झट हटेको छ ।

इलाम अस्पतालको एउटा कक्षामा ब्लड बैंक संचालन सुरु भएको हो । जर्मनबाट प्राप्त उपकरणलाई इलाम अस्पतालमा जडान गरेर सेवा थालिएपनि केही समयमा आफ्नै भवनमा ब्लड बैंक स्थापना गर्ने रेडक्रसले जनाएको छ ।

ब्लड बैंक उद्घाटनको अवसरमा ४ जनाले रक्तदान समेत गरेका थिए । नेपाल रेडक्रस सोसाइटी इलामका सभापति देवी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिसस प्रमुख बरालसहित प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, नेपाली कांग्रेसका सभापति हिमालय कर्माचार्य, इलाम नगरपालिका ७ का वडाअध्यक्ष नरेश श्रेष्ठ, विभिन्न सुरक्षा निकायका प्रमुख, रेडक्रसकर्मी, स्वास्थ्यकर्मीलगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार