फाल्गुनन्द गाउँपालिकामा १ करोड ३३ लाखको अपाङ्गता रोकथाम सम्बन्धी कार्यक्रम संचालन हुने  

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिका र नेपाली गैरसरकारी संस्था करुणा फाउन्डेसन बीच अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम संचालनको लागि बिहीबार एक कार्यक्रमका साथमा सम्झौता गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक अध्यावधिक,स्वास्थ्य उपचार र सहायक सामाग्री वितरण,क्षमता विकास,जीवीकोपार्जन,समावेशी शिक्षा,जनचेतना अभिवृद्धि गर्दै अपाङ्गता मैत्री स्थानीयतह निर्माण गर्ने उदेश्यले शर्त सहितको सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर भएको छ ।

दुवै पक्षको सहकार्यमा एक करोड ३३ लाख ९१ हजार ६ सय ६० रुपैया रकम अन्तर्गत ०७६ माघ १ गते देखि ०७९ पौष मसान्तसम्म कार्यक्रम संचालन गरिने सुचना अधिकृत राजेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका तर्फबाट कार्यक्रम व्यवस्थापक अजित योन्जन र अध्यक्ष कुरुम्बाङ्गको हस्ताक्षर रहेकोे छ भने उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्वे र अपाङ्गता प्रतिनिधि सुरेश कुमार राईले पनि हस्ताक्षर गरेका छन् ।

पालिका स्तरीय विभिन्न संघसंस्थाका प्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा अध्यक्ष कुरुम्बाङ्गको संयोजकत्वमा सात सदस्यीय कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरिएको बताइएको छ। कार्यक्रम संचालन गर्नका लागि सहजकर्ता र कर्मचारीहरु छ्नौट प्रक्रिया तत्काल अघि बढाउने संयोजक कुरुम्बाङ्गले बताए ।

स्थानीय श्रोत साधनको उपयोग गर्दै अपाङ्ता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने संस्थाको उदेश्यलाई दृढताका साथ सहयोग गर्ने उनले जनाए । जन्मजात अपाङ्गता र बालबालिकामा हुने अपाङ्गतालाई घटाइ विकासोन्मुख देशमा अपाङ्गता भएका बालबालिका र वयस्कको जीवनको गुणस्तर सुधार्ने उद्देश्यसहित सन् २००७ मा नेदरल्यान्डका एक उद्यमीले करुणा फाउन्डेसनको स्थापना गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार