
काठमाडौं : १३औं दक्षिण एसीयाली खेलकुद (साग) गन्र्तगतका विभिन्न खेलामा सहभागी भइ पदक जित्न सफल इलामका खेलाडी सम्मानित हुने भएका छन् ।
देशका विभिन्न टिमबाट साग गेममा सहभागी भइ पदक जित्न सफल इलामका खेलाडीहरुलाई सहिद रत्नकुमार वान्तवा खेलकुद केन्द्रले सम्मान गर्न लागेको हो ।
फुटबलबाट स्वर्ण पदक विजेता सन्दकपुर गाउँपालिकाका छिरिङ शेर्पा, उसुबाट स्वर्ण विजेता देउमाई नगरपालिकाका जुनी राई, महिला फुटबलबाट रजत पदक विजेता सूर्योदय नगरपालिकाका एञ्जिला तुम्बापो, जुडोबाट रजत पदक विजेता सुमित्र राई, विच भलिबलबाट कास्य पदक विजेता माङसेबुङ गाउँपालिकाका विनिता बुढाथोकी र बास्केटबलबाट कास्य पदक विजेता विजय बुर्जालाई सम्मान गर्न लागिएको केन्द्रका अध्यक्ष सन्जिप राईले जानकारी दिनु भयो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको उपस्थितिमा शनिबार काठमाडौंको बागबजार स्थित होटल हार्दिकमा सम्मान गर्न लागिएको हो ।
सहिद रत्नकुमार वान्तवा खेलकुद केन्द्रसँगको सहकार्यमा काठमाडौंमा बसोबास गर्दै आएका इलामका युवा तथा विद्यार्थीले आर्थिक संकलन गरेर खेलाडीलाई सम्मान गर्न लागेका हुन ।






















































