क्रान्तिको कार्यभार अझै पूरा भएको छैन : वरिष्ठ नेता राई

  नयाँ बुलन्द
0 Shares

इलाम : समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपाली समाजमा क्रान्तिको कार्यभार अझै पूरा नभएको बताएका छन् ।

शनिबार इलामको चुलाचुली गाउँपालिकामा भएको पार्टी एकता समायोजन घोषणा सभालाई संवोधन गर्दै उनले आदिवासी, बिपन्न, महिला, दलित, उत्पीडितले अझै परिवर्तनको महसुस नगरेकाले उनीहरूसम्म परिवर्तनको महसुस पुर्‍याउन अबको क्रान्ति केन्द्रित हुने पनि बताए ।

अधुरो क्रान्ति पूरा गर्नका लागि समाजवादी पार्टीको जन्म भएको भन्दै उनले यो पार्टी लहर र लहडले नबनाएको पनि तर्क गरे। ‘नयाँ पार्टी बनाई हेरौन भए हुन्छ, नभए ठिकै छ भनेर बनाईएको पनि होइन’ उनले भने, ‘यो पार्टी बनाउँदै गर्दा नेता हुने रहर कसैलाई थिएन, पहिले पनि हामी नेतानै थियौं तर त्यहाँबाट परिवर्तन सम्भव नदेखेपछि समाजवादी पार्टी बनाइएको हो ।’

समाजवादी पार्टी समुन्नत संघीय समाजवादलाई मार्ग दर्शन मानेर पार्टी स्थापना भएको भन्दै उनले पहिचान सहितको संघीयता, सुशासन र सदाचार सहितको शासन व्यवस्था, गरिवी र बेरोजगारी अन्त्य भएको समृद्धि र न्यायपूर्ण समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको पनि बताए ।

बेद र एमालेको सम्झना

तत्कालीन नेकपा एमालेको उपाध्यक्ष समेत भएर राजनीति गरेका नेता राईले आफ्नो मन्तव्यको क्रममा त्यस पार्टीको पनि सम्झना गरे। उनले भने, ‘मैले ४० वर्ष लगानी गरेको एमाले परित्याग गरेँ तर कसैसँग झगडा गरेर होइन, मैले मागेको पद पाइन भनेर पनि होइन मात्रै त्यहाँबाट परिवर्तनको सम्भावना नदेखेर मात्र हो ।’ एमाले इतिहास बेचेर खाने अवस्थामा पुगेको तर भविश्यलाई नेतृत्व गर्ने ठाउँमा आउन नमानेकाले आफुले त्यो पार्टीलाई छोडेको उनको भनाई थियो ।

आफ्नो भाषणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा नेपाली कांग्रेसका नेताले पहिचानको कुरालाई स्विकार्न नसकेको भन्दै यजुर्वेदको प्रसंग पनि सुनाए । वेदका ऋचा उद्धृत गर्दै उनले ३६ सय वर्षअघि यजुर्वेदमा उल्लेख भएको किरात सम्भयतालाई अहिलेका शासकले स्विकार्न नसकेको पनि तर्क गरे । कुनै एउटा जातिलाई मात्र अघि बढाउन वा माथि चढाउन अरू जातिलाई दमन गर्नु चाँहि जातिवाद हो भन्दै उनले सवै जातिको इतिहासलाई सम्मान गर्ने, सवैलाई बराबारी अधिकार दिने समाजवाद नेपालको अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।

अहिलेको संविधानले जातिवाद बोकेको र यो संविधानलाई संसारकै उत्कृष्ट भन्नेहरु भित्र जातिवाद रहेको पनि उनले तर्क गरे । गंगा साउदेनको नेतृत्वमा एकता भएको पार्टीको एकतासभालाई सम्बोधन गर्न राई चुलाचुली आएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार