इलामका किरात समुदायले धुमधामसँग उधौंली मनाए (भिडियो सहित)

  नयाँ बुलन्द  279 पटक हेरिएको

इलाम :  किरातीहरुको महान् चाड उधौंली वर्व इलामका इलामका किरात समुदायले पनि धुमधामसँग मनाएका छन् । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौंली यसवर्ष पनि बिहीबार किरात समुदायले विभिन्न कार्यक्रम गरी मनाएका हुन् ।

राई, लिम्बू, याख्खा र सुनुवार जातिले आआफ्नै तरिकाले मनाएका छन् । राई जातिले उधौली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलष्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाएका छन् । आज नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आआफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा समेत गरेका छन् ।

लिम्बू समुदायले किरात याक्थ्ङ चुम्लुङको आयोजनामा इलाम नगरपालिका १० को माईखोला टापुमा सामूहिक पूजापाठ, गालीश्राप बहन्ती, साँस्कृतिक कार्यक्रम तथा वनभोज (ताम्भुङचा) को आयोजना गरेको छ । कार्यक्रममा धाननाच (यालाङ), च्याब्रुङ नाच (केलाङ), लिम्बू खानपिन, लिम्बू साँस्कृतिक प्रस्तुती र पक्लुङजस्ता खेलकुदका कार्यक्रम संचालन गरिएको किरात याक्थुङ चुम्लुङले जनाएको छ । त्यस्तै साँझ लिम्बं समुदायको घरघरमा तङसिङ गर्ने कार्यक्रम गरिएको छ ।

यस्तै किरात राई समुदायले राई यायोख्खाको आइजनामा साकेला नाच, मौलिक पोशाकहरुको प्रदर्शनी र पुजाआजा गरि विभिन्न कार्यक्रमहरुका साथ इलाम नगरपालिका ७ ओपिधारामा साकेला थानमा पूजापाठ र साँस्कृतिक कार्यक्रम गरी उधौली मनाएका छन् ।

किरात सुनुवार समुदायले इलाम नगरपालिकाको पुवामझुवामास्थित स्यादरथानमा पूजा गरेर वुरसिल नाँच लगायत कार्यक्रमहरु उधैली मनाएका छन् । याक्खा समुदायले माइजोगमाइ गाउँपालिकाको नामसालिङमा देवीदेवताको पुजाआजा गरेर सबै इष्टमित्र भेटघाट गरी उधैली मनाएका छन् ।

यसैबीच इलामका विभिन्न गाउँपालिका तथा नगरपालिकामा पनि किराती समुदायले विभिन्न कार्यक्रम गरी उधाैली मनाएका छन्  । माङसेबुङ गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिकालगायतका क्षाेत्रमा समेत विभिन्न कार्यक्रम गरी उधाैली मनाइएको छ ।

उधैली इलामसिहत किरातीहरुको वाहुल्यता रहेका पाँचथर, ताप्लेजङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेहथुम, संखुवसभा तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा भव्यताका साथ मनाईएको छ ।

उधौंली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । किरात समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।

प्रकृति पुजक किरात समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । यही उँधो शब्दबाट नै उधौंली पर्वको नामाकरण भएको मानिन्छ ।

यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ । अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ । विभिन्न जातिले आफ्नो जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आआफ्नो तरिका फरक छन् ।

यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने चलन रहेको छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रूपमा पनि मनाउने गरिन्छ । बर्षभरिमा कसैसंग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

भाषा, संस्कार संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौंली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आआफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आआफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् ।

लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।

चार किरातीले यसरी मनाउँछन् उधौंली  

किरात लिम्बु जातीको शास्त्रीय मुन्धुम अनुसार माङतागेरा निङवाफुमाङले मानव जातीका आदीम पुर्खा सावायेत्तहाङलाई दिएको अन्नका बिउबिजनलाई किरात चेली सिबेराएःक्थुक्माले खोरिया फाडी उब्जनी गरेको अन्नलाई न्वागी पुजाको रुपमा विकसीत भएपछि उधौंली पर्वले निरन्तरता पाउन थालेको जनविश्वास रहिआएको छ । अन्नबाली पाक्ने समयमा पर्ने यो पर्वलाई किरात लिम्बु समुदायले पाकेको अन्नपात परिवारले खानुभन्दा पहिला तागेरा निङवाफुमाङ, युमाथेवा, साम्माङ च्याङ, घरका ईष्ट देविदेवता, खोलानाला, वनजंगल, हिमाल पहाड आदीलाई पुजी मुन्धुम वाचन गर्दै पाकेको अन्नपात चढाउने गरिन्छ । जसलाई चासोक सेवा भनिन्छ । सम्पुर्ण देवि देवता तथा प्रकृतिको पुजा गर्ने क्रममा तिन राते धार्मिक अनुष्ठान (तङसिङ) गर्ने गरिन्छ । पाकेको अन्नबाली माङ तागेरा निङवाफुमाङसित खाने अनुमति माग्दै चासोक तङनाम पर्व मनाउने गरिन्छ । त्यसै गरी सामुहिक रुपमा नजिककैको नदी,खोलाखोल्सिमा पुजाअर्चना गरी गाली श्राप बगाउने समेत गरिन्छ जसलाई साकमुरा वादेम्मा भनिन्छ ।

किरात राई समुदायले पनि यो पर्वलाई आफ्नै मौलिक परम्परा अनुसार साकेला/सान्केवाको रुपमा मनाउने गर्दछन् । विशेष गरि पाकेको अन्नबाली थन्काउनु भन्दा पहिला आफ्ना पितृपुर्खाहरुलाई चढाएर मात्र आफुले उपभोग गर्ने मान्यता उनीहरुमा रहेको छ । यी समुदायको पुजारी नाकछोङ्गले प्रकृति तथा देवि देवता अर्थात सुम्निमा पारुहाङसँग सम्पूर्ण प्राणी जगतको रक्षाको निम्ती वरदान माग्दै धार्मिक अनुष्ठान गर्ने गर्छन् । आफुले छरेका विउ विजनहरु यसरीनै आगामी बर्षहरुमा पनि सप्रियोस, सहकाल आवोस, सुख शान्ति सवैमा छाओस् भन्ने कामना गर्ने गरिन्छ ।

किरात याक्खा जातीले उधौंली पर्वलाई चोसुवाको रुपमा मनाउने गर्दछन् । यी जातीले नयाँ अन्न बाली भित्रयाउने समयमा सालमा एक पटक योच्याङ गर्ने गर्दछन् । यो च्याङ वा चाडको मुलसार नै बितेर गएका आफ्ना पितृहरुलाई श्रदा, भक्तिपुर्वक स्मरण गर्दै नयाँ बालीलाई केलाई , पकाई ,चोखानितो गरी पहिले चढाउने र त्यस पछि मात्र आफु वा परिवारले ग्रहण गर्ने वा घरमा भित्राउने चाडको रुपमा लिने गरिन्छ । यसरी योच्याङ गरेमा पितापुर्खाहरुको शक्ति र आशिर्वादले अन्नबालीनाली प्रशस्त फल्ने, दैवी बिपत्ती नलाग्ने, अन्नपात सहरहुने, पारिवारिक सुखशान्ति कायम रहने बिश्वास रही आएको छ । बिषेश गरी चोसोवा च्याङ याक्खा जातीले मंसिरे पुर्णिमाका दिन वा उधौँलीमा गर्ने गर्दछन् । यो अनुकुल समय पारेर ब्याक्तिगत वा सामुहिक रुपमा घरभित्र ,बाहिर जहाँ पनि गर्न सकिन्छ । पुजारीकर्ता माङहाङवाले सुखसमृद्धीको आषिश ग्रहण गर्दै चोसुवा च्याङमा तयार पारेको पुजाका खाद्य सामग्रीहरुलाई प्रसादीको रुपमा बाडीखाने चलन छ ।

किरात सुनुवार जातिहरुले यो पर्वलाई फोलष्याँदर पिदारको रुपमा मान्ने गर्दछन् । ष्याँदर मान्ने क्रममा मुईलि न्हासो, क्योर्फा न्हासो, सुसी न्हासो, सेर्फा न्हासो, सुरीन्हासो, काइँता न्हासोहरुको छनौट गर्ने गरिन्छ । यि न्हासोहरुलाई पुजा आवस्यक सामाग्रीहरु जुटाउने जिम्मेवारी दिइन्छ । । पाकेको अन्न वालिहरुलाई आफ्ना ईष्टदेव तथा चण्डी स्थानमा मुल पुजारी मुइँली न्हासोले पुजा आराधाना गर्दै चढाएपछि घर परिवारले खाने चलन छ । ष्याँदर पिदार गर्दा सुनुवारको जात र स्थान विषेश अनुसार सिरी शाँदार, जसी शाँदार, गिल शाँदार मनाउने गर्दछन् ।

उधौंली पर्वलाई यी चार किरातहरुले आआफ्नो मौलिक परम्परा अनुसार मनाउने क्रममा चासोक तङनाममा लिम्बु समुदायहरु केलाङ च्याब्रुङ, यालाङ्ग नाचने पालाम,हाक्पारे गाउने, पक्लुङ्ग लेप्सीङ्ग खेल खेल्ने गर्दछन् भने किरात याक्खा जातिहरु केवालाक, चावालाक, शुभकामना आदान प्रदान गर्दैं चासुवामा रमाउने गर्दछन् । त्यसै गरी किरात सुनुवार जातिहरुले ष्याँदर पिदारको अवसरमा विभिन्न दुलेदुमो (ढोल) हरु प्रयोग गर्दै पिदर नाच्ने गर्दछन् । जस्तोः बुल्फेपिदर, रागा दोःचा, शाँदर पिदर, सुरो योअचा, सुरो चोचा, जस्ता चण्डि नाचहरु नाच्ने गरिन्छ भने सान्केवामा राई समुदायहरु चमर, ढोल झ्याम्टाका साथ प्रकृतिमा भएका जिव जन्तुहरुको सजिव नक्कल गर्दै सिलीहरु नाच्ने गरिन्छन् । जस्तो : चासुम सिली (अन्न) वापा सिली (भाले) छोङ्गवा सिली (चरा) आदिको नक्कल गर्दै १५ दिन सम्म सिलीहरु नाच्ने गरिन्छ । चासुम सिली नाच्दा मानवले अन्न फलाउनको लागि रोप्ने काम देखि पाकेपछि काटेर झाट्ने, थन्काउने काम आदिको कार्यमा जे विधीहरु अपनाईन्छ त्यो सिली नाच्दा त्यस्तै क्रियाकलाप र हाउभाउ मिलाएर नक्कल गर्दै नाच्ने गरीन्छ ।

भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार