भ्रमण वर्षको प्रचार गर्दै झापाको दमकदेखि इलामको माङमालुङसम्मको पदयात्रा सकियो

इलाम : भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्दै होटल व्यवसायी संघ माइपश्चिम दमकको आयोजनामा भएको झापाको दमकदेखि इलामको माङमालुङसम्मको पदयात्रा विहीबार सकिएको छ ।

बुधबार विहान ६ बजे झापाको दमकबाट सुरु भएको पदयात्रा इलामको माङमालुङसम्म पुगेर समापन भएको हो । दमकबाट सुरु भएको पदयात्राको टोलि २७ किलोमिटर टाढा माङमालुङसम्म पुगेर सम्पन्न भएको हो ।

दमकबाट प्रस्थान गरेको पदयात्राको टोलिका लागि फुइँकेमा खाजा नास्ताको व्यवस्था आयोजकले गरेको थियो । त्यहाँ स्थानीयले पदयात्राको टोलिलाई फुलमाला सहित भव्य स्वागत गरेका थिए । त्यसपछि मावा खोलाको बाटो पेरूङ्गे तिर लागेको थियो । पदयात्राको टोलिका लागिस माङसेबुङ गाउँपालिका ६ मा पर्ने कुसुन्डेमा खानाको व्यवस्था गरेको थियो ।

खाना पश्चात पदयात्रा पदयात्राको टोली तारेभीर हुदै टोड्के उकालो लाग्यो । बाँझोगाउँमा छुट्टै खाजाको व्यवस्था जहाँ पनि पदयात्रामा सहभागी सबैलार्इ फुलमाला लगाएर स्वागत गरियो । दिनको ३ बजे तिर खाजा खाएर टोलि गैरिटोल हुँदै हस्टे ५ बजे तिर पुग्यो । बेलुकाको खाना बस्नका लागि स्थानीय संस्था नमूना टोल विकास संस्थाको सभाहलमा व्यवस्थापन गरिएको थियो ।

विहीबार बिहान माङमालुङ चियाबगान हस्टेमा खाजा खाएर टोलि पञ्चमी बजारतिर लाग्यो । जहाँ नोमति बाजा सहित स्वागतमा रहेको पञ्चमी बासीको व्यवस्थापनमा बिहानको खानाको व्यवस्था रहेको थियो । खानापछि टोलि धार्मिक तथा पर्यटकीय स्थल माङमालुङ तिर मोडियो । पदयात्रा टोलि माङमालुङको अवलोकन पछि पुनः बिहिबार टोलि झापाको दमकतर्फ फर्किएको थियो ।

स्थानीय सरकार तथा सामाजिक, व्यवसायिक र सहकारी संस्थाहरुको सहयोगमा भएको करीब ९ घण्टा लामो पैदलयात्रामा २६१ जना सहभागि भएका थिए । पैदलयात्रीहरुलाई माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गो, उपाध्यक्ष सुनिता सुब्बा, माङसेबुङ ६ का वडाध्यक्ष प्रदिप राई, लगायत जनप्रतिनिधि, स्थानीय व्यवसायी, कलाकार तथा सर्वसाधारणहरुले ठाउँठाउँमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार