
पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिका-५ स्थित घुर्बिसे पञ्चमीमा संचालित शान्ति वालविकास इङ्लिस स्कुलले चासोक तङ्नाम (उधौली) पर्वका अवसरमा रजत जयन्ती मनाएको छ ।
किराँत धर्मवलम्वीहरुको महान चार्ड तथा येले तेङ्बे ५०७९ सँगै विद्यालय स्थापना गरेको २५ वर्ष पुरा भएको खुशीयालिमा गाउँपालिका स्तरीय विद्यालयलाई निमन्त्रणा गरि धुमधामका साथ विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
व्यवस्थापन समिति अध्यक्ष दानबहादुर अधिकारीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बेको प्रमुख आतिथ्यमा रजत वर्षका अवसरमा विद्यालयद्वारा प्रकाशन भएको स्मारिका लोकार्पण गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो ।
च्याब्रुङ्ग नाच,हाँडी फुटाउने,नृत्य,हस्त लेखन,भाले झार्ने लगायतका प्रतियोगिता संचालन भएको कार्यक्रम समापनमा विजेतालाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा स्थापनाकाल देखि कठिन परिस्थितिमा विद्यालयलाई सहयोग पुर्याउँदै आएका नौ जना अभिभावक तथा बुद्धिजीवीलाई सम्मान गरेको थियो ।
सम्मान हुनेहरुमा डिगम्बीर नेम्वाङ,सारानाथ पोख्रेल,कविन्द्र लावती,मनकुमार चेम्जोङ छन् ।
त्यस्तै बलिराज नेम्वाङ,ओम कार्की,लगन विक्रम चेम्जोङ, कविन्द्र नेम्वाङ र टीकाचन्द्र चेम्जोङलाई अभिनन्दन गरिएको संचालक तथा प्रधानध्यापक डिएम आङ्देम्बेले जानकारी दिए । कार्यक्रममा गत वर्ष एसइई परिक्षामा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई समेत सम्मान गरेको थियो । उनले विद्यालयको हाल सम्मको गतिविधि र आगामी लक्ष्य बताउँदै पर्वको शुभकामना सहित सबैलाई धन्यवाद दिए ।
शिक्षण संस्था सबैको साझा सम्पत्ति र गहना भएको हुँदा राम्रो गुणस्तर निर्माण गर्न अभिभावक, विद्यार्थी, शुभचिन्तक र शिक्षको उतिकै भूमिका रहेकोले सबैले सहयोग गर्न आग्रह गरे ।
भौतिक तथा प्राविधिक क्षेत्रमा सुविधा सम्पन्न बन्दै गएको यस विद्यालयलाई जिल्लाको नमूना बनाउन सहज तथा शान्त वातावरणमा राम्रो नतिजा निकाल्दै अनुशासन, खेलकुद, कला, धर्म संस्कृतीको जगेर्ना गर्न सदैव प्रयत्न गरिने उनले प्रतिबद्धता जनाए ।
२०७२ सालको एसएलसी परिक्षामा जिल्लाकै उत्कृष्ट नतिजा निकाल्न सफल यस विद्यालयलाई ३६ औं विश्व साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयले प्रंशसापत्र प्रदान गरेको यस विद्यालयका संस्थापक सन्तवीर आङेदेम्बेले आफुले स्थापना गरेको विद्यालयको प्रगति प्रती खुशी व्यक्त गर्दै शुभकामना दिए ।
यसै विच उनले विद्यार्थीहरुलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरेका थिए।
व्यापारी, संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकले विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना मन्तव्य राखेका उक्त कार्यक्रम शिक्षक योमनाथ भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने निमित्त प्रधानध्यापक बुद्धसिं केसीले संचालन गरेका थिए ।






















































