दमकदेखि माङमालुङसम्मको २७‍ किलोमिटर पदयात्रा बुधबार सुरु हुँदै

इलाम : झापाको दमकदेखि इलामको धार्मिक पर्यटकीय क्षेत्र माङमालुङसम्म पदयात्रा गरिने भएको छ । दमकदेखि माङसेबुङ गाउँपालिकाको पेरुङे चिसापानी पञ्चमी बजार हुँदै माङमालुङसम्मको २७ कलिोमिटर पदयात्रा गरिने भएको हो ।

होटल व्यवसायी संघ माई पश्चिम झापाको आयोजनामा बुधबारदेखि २ दिनका लागि पदयात्रा सुरु हुनेछ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी ऐतिहासिक पर्यटकीय क्षेत्रको पदयात्रा गर्न लागिएको भ्रमण वर्ष २०२० प्रदेश १ का सचिवालय सदस्य रविन गौतमले बताए ।

झापाको दमक राजनीतिक दृष्टिकोणले अग्रणी स्थानमा रहेपनि पर्यटन व्यवसायका दृष्टिले पछाडि नै रहेको उल्लखे गर्दै गौतमले अन्य सम्भावना भएर पनि पर्यटकीय हिसाबले विकास हुन नसकेका क्षेत्रलाई अघि बढाउने उद्देश्यले पदयात्रा गर्न लागिएको बताए ।

पहिलो पटक सुरु गर्न लागिएको दमक–पेरुङे–पञ्चमी पदयात्रालाई सफल बनाउन विभिन्न संघ संस्थाहरुबाट सहयोग भइरहेको होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगाले बताए । उनले भने ‘हामीले यहाँ रमणिय ठाउँहरुको प्रवद्र्धन गर्न नसक्दा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राउन नसकिरहेको अवस्था छ । तर यो पैदल यात्राले एउटा पर्यटकीय गन्तव्य निर्माण गरी त्यस क्षेत्रको रमणिय दृष्यहरुलाई व्यवसायी रुपमा अघि बढाउन सक्नेछौं ।’

पदयात्रालाई सफल र व्यवस्थित बनाउनका लागि विभिन्न स्थानहरुमा स्वयमसेवक परिचालन गरिने माङसेबुङ गाउँपालिका ६ का अध्यक्ष प्रदिप राईले बताए ।

पदयात्राको मार्ग चुलाचुली गाउँपालिका ५ हुँदै माङसेबुङ गाउँपालिका ४ को केही भाग र पाङरीझ्याल भन्ने ठाउँबाट बाँकी सबै मार्ग माङसेबुङ वडा नम्बर ६ मा पर्ने भएकोले यसको प्रत्यक्ष फाइदा माङसेबुङ बासीलाई हुने अपेक्षा गरिएको छ ।

पदयात्रा बुधबार विहान साढे ५ बजे दमकबाट सुरु हुनेछ । दमकदेखि फुइके हुँदै पुरानो बाटो पेरुङेको चेपारो बाटोलाई पदयात्राको मार्गको रुपमा लिइएको छ । फुइकेबाट फड्के, पिडिबास, दोभाने हुँदै पेरुङे पुगिनेछ । जब पेरुङे पुगिन्छ त्यहाँ देखि मावा खोलालाई छोडेर पुरै चेपारो बाटो तय हुनेछ । त्यहादेखि पाङग्रीझ्याल, एक्लेचुली, मगर विसौनी, ओडारे, जरा विसाउने, करमबोटे हुदै दिनको १२ बजे कुसुन्डेमा पदयात्राको टोलि पुग्नेछ । कुसुन्डेमा खाना खाने व्यवस्था आयोजकले मिलाएको छ ।

खानापश्चात पुनः यात्रा तारेभीर, अमले, टोड्के, थाक्रेवर हुदै बाँझोगाउँ पुगिन्छ । जहाँ जसमनि र्र्धावलम्बीहरुको आस्थाको धरोहर मन्दिरको दर्शन गर्न सकिनेछ । त्यपछि जसमनी, सुकेआहाल हँुदै रमिते पुगिन्छ । जुन स्थानमा तेह्रथुम, पाँचथर, इलामका भरियाहरुको छुटिने स्थान पनि हो ।

सो मार्ग विगतमा यातायातको सुविधा नहुँदा पूर्वी पहाडी क्षेत्रका बासिन्दाले झापाबाट नुन र चामल ओसारपसार गर्न प्रयोग गर्ने मार्ग हो । पछिल्लो समय यातायाताको सहजताका कारण सो मार्ग सुनसान बनेको छ । पैदल यात्रा गर्ने कोही नभएपछि कतिपय स्थानमा नामेट समेत हुँदै गएको स्थानीयहरु बताउँछन् ।

त्यसपछि भने यात्रा चिसोपानी पञ्चमीतिर मोडिनेछ । रमितेदेखि गैरिटार, किवाखोर भएर चिसोपानी पञ्चमी बजार पुग्न सकिन्छ । पञ्चमीबाट नजिकै धार्मिक पर्यटकीय स्थल माङमालुङ पुगेर पदयात्रा समापन गरिने स्थानीय समाजसेवी हेमन्त राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार