होम स्टेमा महिनौँ बिताउछन् विदेशी पर्यटक

इलाम : पछिल्लो समय इलाममा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होम स्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूकाे पनि आकर्षण बढेको छ ।

सुकिलो सडकमा हुइकिएर स्टार होटलमा बसेर आनन्द लिँदा बेग्लै मजा होला तर गाउँघरमा फन्को लगाउँदै गाउँले घरमा बसेर रमाउँदा बेग्लै अनुभूति लिन सकिन्छ । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्कनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होम स्टे रोजाइमा पर्ने गर्दछ । फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होम स्टेमा मिल्ने गर्छ ।

पछिल्लो समय इलामका होम स्टेमा तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेकाे छ । इलामको माइपोखरी, फिक्कल लगायतका होम स्टेमा पालैपालो २० भन्दा बढी देशका पर्यटकहरु महिनौसम्म बस्ने गरेका इलामको माइपातलका होम स्टे सञ्चालक टिका खतिवडा बताउँछन् ।

तीन वर्ष अगाडिसम्म खासै पर्यटकहरुको आर्कषणमा पर्न नसकेका होम स्टेहरु बिस्तारै पर्यटकहरुको रोजाईँमा पर्न थालेको पाइन्छ । यहाँको राम्रो वातावरण र रहनसहनले आकर्षित बनाएको उनीहरुको भनाइ छ । धेरै विदेशी हिमालको पदयात्रामा जाने भएपनि अहिले इलामलाई गन्तव्य बनाउन थालेका छन् । पर्यटकलाई खान र बस्न सहज हुने भएकाले पनि घुम्न आउने गरेको होम स्टे सञ्चालक बताउँछन् ।

महङ्गा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होम स्टेमा पाइन्छ । होम स्टेमा बस्ने पर्यटकले एकै परिवारमा जस्तै गरी बस्ने गर्दछन् । उनीहरु धेरै होम स्टेमा गाइको थलो भकारो गर्ने, घाँस काट्ने, घरको काम सघाउने, खाना पकाउने, दुध डेरीमा पुर्याउने समेत गर्दछन् । धेरैजसो पर्यटकहरु साता दिनदेखि एक महिनासम्मको समय मिलाएर बस्ने गरेका छन् । होम स्टेबाट यहाँको कला, संस्कृति, भेषभुषा, खानपानमा रमाउन पाउँदा खुशी हुँदै उनीहरुले इलामको बसाई ज्यादै राम्रो भएको बताउने गरेका छन् ।

होम स्टेमा बस्ने विदेशीले अनलाइनमार्फत् सिधै समय मिलाउने गरेका छन् । पर्यटकका लागि सुविधा मात्र नभएर यहाँको पहिचान झल्कने गाउँघर, रहनसहन, र हरियालीले पनि आकर्षित बनाएको देख्न सकिन्छ । फ्रान्स, जर्मनी, जापान, इटाली, नेदरल्याण्ड र कोरीयाका नागरिकले समेत इलामका लोभलाग्दा होम स्टेको स्वाद लिएका छन् ।

जनतासमाचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार