किरात धर्मगुरुका १० महत्वपूर्व कार्यहरु

  आङबुहाङ अबोध अविरल  470 पटक हेरिएको

आङबुहाङ अबोध अविरल

थालनी

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ६६ औं वर्षमा प्रवेश गर्नुभएको छ । ‘माङसेबुङ’ विकासका शुत्रधारसमेत रहनुभएको किरात धर्मगुरुको जन्मोत्वस मंसिर १८ मा माङसेबुङ गाउँपालिकाले सार्वजानिक विदाको निर्णयसमेत गरेको छ । किरात धर्मगुरु ६ दसकयता धार्मिक र सामाजिक कार्यमा तल्लीन हुनुहुन्छ । वहाँको गर्नुभएको १० महत्वपूर्व कार्यहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

१. किरात धार्मिक राष्ट्रियताको बिस्तार

किरात धर्मगुरुको अधिकांश समय किरात धर्मलाई संस्थागत गर्ने कार्यमा बितेका छन् । किरात जाति नेपालको प्राचीन जातिको रुपमा रहेका ठूलो मानव साखाको रुपमा रहेको थियो । किरात जातिहरुको भाषा, सांस्कृति र धर्म हिन्दु र बौद्ध धर्मभन्दा बेगल रहेको समाजशास्त्रीहरु उल्लेख गर्दछन् । किरात जातिहरुको आफ्नै धार्मिक, सांस्कृतिक र भाषिक वैशिष्यता रहेको छ । तर, राज्यले लामो समयदेखि किरात जातिहरुलाई हिन्दु धर्मावलम्बीको रुपमा चिनाउने प्रयास गरेको थियो ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले किरातीहरुको जिर्णोद्धार गर्नुभयो । किरात धार्मिक राष्ट्रियताको जग बसाल्नु भयो । महागुरुको कार्य थप बिस्तार गर्दै अङसीमाङले संस्थागत गर्नुभयो । वि.सं. २०३५ सालमा इलाम जिल्लाको तमाखेमा अङसीमाङले एक गोप्य बैठक डाक्नुभयो । जहाँ, धर्म, भाषा, लिपि विकासका निम्ति दिलोज्याद दिएर लाग्ने निर्णय गरियो । त्यसबेलाको निरंकुश एकात्मक पञ्चायती राज्य व्यवस्थामा यो विषय ज्यादै कठिन थियो । त्यसबेला वहाँको टाउँकाको मोल समेत तोकिएको थियो ।

किरात धर्मगुरुको पहलमा वि.सं. २०३६ किरात धर्म तथा साहित्य उत्थान संघको स्थापना भयो । जसको संस्थापक अध्यक्ष वहाँ स्वयं हुनुभयो । हाल नेपाल लगायत दर्जनौं मुलुकमा साहित्य उत्थान संघको स्थापना भएका छन् । मुन्धुम प्रकाशन, माङहीहरु व्यवस्थापन र धर्मगुरुको जन्मोत्सव सञ्चालन गर्न किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवाको स्थपाना गरियो । सेवासावा, संस्कृतिक कार्यक्रम, यूवा, भूपु सैनिक, सञ्चार र खेलकुदलाई समेट्न विभिन्न भगिनी माङगेन्ना सेवाका भगिनी संगठनहरु निर्माण भएका छन् । वि.सं. २०५७ मा किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनका काठमाण्डौंमा सम्पन्न भयो । सो सम्मेलनले प्रकृतिको पूजा गर्ने, तागेरा निङवाभूमाङलाई मान्ने र मौखिक वा लिखित मुन्धुमको प्रयोग गर्ने, बलिपूजा गर्ने हुन् वा फूलफलेदोले पूजा गर्ने हुन्, समग्रमा किरात धर्मावलम्बी हुन् भन्ने निष्कर्ष निकालेको थियो । यसैगरी वि.सं २०६७ मा किरात दोस्रो अन्तराष्ट्रिय महासम्मेलन आयोजना गरियो ।

किरात धर्मलाई राष्ट्रिय धर्मको मान्यता प्रदान गर्न जनगणनाहरुमा किरात धर्म लेखाउने अभियान थाल्नुभयो । जसका कारण परम्परादेखि आफ्नै तवरले सेवा, पूजा गर्ने किरात जातिहरुको धर्म किरात धर्मका रुपमा स्थापित भयो । राज्यको चौंथो ठूलो धर्मका रुपमा किरात धर्म स्थापित भयो ।

२. मुन्धुम शिक्षाको विकास

नेपाली शिक्षा प्रणालीमा माध्यमिक शिक्षालाई साधारण, प्राविधिक तथा व्यवसायिक र परम्परागत धार्मिक शिक्षाका रुपमा वर्गीकरण गरिएको छ । परम्परागत धार्मिक शिक्षामा गुरुकुल शिक्षा, गुम्बा शिक्षा, मदरसा शिक्षा र मुन्धुम शिक्षा पर्दछन् । नेपालमा मुन्धुम शिक्षाको थालनी गर्नुमा किरात धर्मगुरुको महत्वपूर्ण योगदान रहेको छ ।

मुन्धुम शिक्षाको औपचारिक पठन–पाठनको थालनी किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले गर्नुभएको हो । वि.सं २०४० मंसिर १८ देखि चैतसम्म माङसेबुङ ५ स्थित मेक्वा वेंसीमा मुन्धुम पठन–पाठन गर्नुभएको थियो । त्यसबेला नौ जना सेवासावाले मुन्धुमको कक्षा लिनुभएको थियो । मुन्धुम पठन–पाठनका निम्ति सेउले डेरा निर्माण गरिएको माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ बताउनु हुन्छ । त्यसबेला अङसीमाङले मुन्धुम अध्यापनका साथै माङसेवा र ध्यानसम्बन्धी कक्षा दिनुभएको थियो । तत्कालीन पञ्चायती निरंकुश सरकारको कडा निगरानी र सोध खोज गर्न थालेपछि पठन–पाठन रोक्नु परेको योङहाङ स्मरण गर्नुहुन्छ ।

२०५० पछि मुन्धुमको कक्षागत रुपमा पठन–पाठन शुरु गरियो । २०५५ सालसम्म कक्षा ३ सम्मको पठन पाठन भयो । २०५६ मंसिर १८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले किरात साम्जिक मुन्धुम निसामहिमको उद्घाटन गर्नुभयो । त्यसपछि मुन्धुम शिक्षाको निश्चित पाठ्यक्रम र परीक्षाको व्यवस्था गरियो । यसअघि मुन्धुम निसामहिममा साम्जिक मुन्धुम, खाइक, शसिगेन, साक्थिम, किरात साम्पान आदि विषय पठन–पाठन गरिन्थ्यो । त्यसबेला मुन्धुम अध्ययनको उद्देश्य सेवासावा उत्पादन गर्नु थियो । २०५८ देखि मुन्धुमशालामा अंग्रेजी, गणित, विज्ञान र सामाजिक जस्ता विषयहरु थप गरियो ।

हाल सेवासावा उत्पादन गर्ने किरात साम्जिक मुन्धुम निसामहिम र एकेडेमिक विद्यार्थी उत्पादन गर्ने किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम रहेका छन् । मुन्धुम शिक्षाका निम्ति पाठ्यक्रम विकास केन्द्रले कक्षा ५ सम्म पाठ्यक्रम र कक्षाा ३ सम्म पाठ्य पुस्तक निर्माण गरेको छ । साथै, माङसेबुङ गाउँपालिकाले माध्यमिक तहसम्मको मुन्धुम शिक्षाको पाठ्यक्रम निर्माण प्रक्रिया थालेको छ ।

३. कृषिमा जोड

किरात धर्मगुरुले कृषि र पशुपालनका निम्ति प्रेरित गर्दै आउनुभएको छ । कृषि नेपाली जन जीवनको आधार हो । नेपाली अर्थ कृषिमा आधारित छ । कृषिसम्बन्धी हामीमा थुप्रै परम्परागत ज्ञानहरु रहेका छन् । मुन्धुमी जीवन पद्धतिका निम्ति कृषि आवश्यक हुन्छ । अन्न पाकेपछि चासोक गर्ने, बिउ लाउनपूर्व खिबेक्वा सेवा किरात जातिहरुको परम्परा हो ।

माङसेबुङ ५ अवस्थित धर्मगुरुको आश्रममा ठूलो कृषि खेती र पशुपालन रहेको छ । गुरु आश्रमा अग्र्यानिक अन्न, साग शब्जी र दुध उत्पादन हुन्छ । गुरु आश्रममा आउने भक्तजनहरुका निम्ति सोही खेतीबाट निशुल्क खाना उपलब्ध हुन्छ । सयौं रोपनीमा रहेको आश्रमका खेतीको नेतृत्व मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमाले गर्नुहुन्छ । साँझ बिहान वहाँ खेतीमा तल्लीन हुनुहुन्छ । पछिल्लो दसकमा नेपालको करिब ४० लाख यूवा बैदेसिक रोजगारमा देश बाहिर छन् । पहाडको धेरै जमिनहरु बाँझिएको छ । जङ्गल बढेको छ । यूवा पुस्ता कृषिबाट विमुख छन् ।

४. माङसेबुङको स्थापना

नेपालका ७५३ स्थानीय तहमध्ये एक हो, माङसेबुङ । ‘माङसेबुङ’ स्थापना किरात धर्मगुरुसँग सम्बन्धित छ । माङसेबुङ यसअघि मान्द्रे डाँडाको रुपमा परिचित थियो । किरात धर्मगुरु वि.सं. २०११ मंसिर १८ गते साविक इलाम जिल्लाको इभाङ चुक्चिनाम्बामा जन्मनु भयो । वहाँले इलाम, पाँचथर र झापाका विभिन्न स्थानहरुमा बस्ने ठाउँको खोजी गर्नुभयो । कतै ठाउँ पाइएन । तर, साविक बाँझो ९, स्थित सुभाबारी लारुम्बामा बसोबासको अवसर जु¥यो । वि.सं. २०३३ देखि सपरिवार सो स्थानमा बसोबास गर्न थाल्नुभयो । धर्मगुरु लारुम्बामा बसोबास गर्नुभएपछि विभिन्न स्थानहरुबाट भक्तजनहरु आउन थाले । धार्मिक गतिविधि बढे । वार्षिक धार्मिक कार्यक्रमहरु सञ्चालन हुन थाले । ‘यो ठाउँ माङले रोजेको रहेछ । धेरै ठाउँ खोज्दा पनि पाइएन । यसै ठाउँमा बस्न आइयो’, धर्मगुरुले भन्नुभयो । माङले छानेको पवित्र स्थानम ‘माङसेबुङ’ भनेर सो स्थानको नामाकरण भयो ।

माङसेबुङ नामाकरण हुनुअघि सो क्षेत्रको नाम ‘मान्द्रेडाँडा’ थियो । माथिल्लो चुरे क्षेत्रमा रहेको दुर्गम तथा पातलो बसोबास रहेको थियो । सो क्षेत्रको विकासका निम्ति किरात धर्मगुरु अहोरात्र लाग्नुभयो । माङसेबुङमा खानेपानी, स्कूलहरु, सडक र विद्युतका पूर्वधार विकासका निम्ति निरन्तर लाग्नुभयो । स्वदेश, विदेशमा माङसेबुङ धार्मिक स्थलको रुपमा परिचित भयो । वि.सं. २०७४ साविक बाँझो, इभाङ र गजुरमुखी मिलाएर माङसेबुङ गाउँपालिका नामकरण भयो । यसले संघीय नेपालको एक स्थानीय तहको रुपमा माङसेबुङ स्थापित भयो ।

५. शाकाहारी जीवन पद्धतिको अभियान

किरात धर्मगुरु शाकाहारी जीवन पद्धति अभियान हुनुहुन्छ । शाकाहारी जीवनपद्धति अंगाल्न आफ्ना भक्तजन र सम्पूर्णमा अनुरोध गर्दै आउनुभएको छ । जाँड, रक्सी, चुरोट, खैनी, गाँजा, चरेस र मासु मंसको सेवन नगर्न किरात धर्मगुरुले अभियान चलाउदैं आउनु भएको छ ।

मद, मदिरा तथा जाँड रक्सीले समाज र व्यक्ति दुवैको स्वाथ्यमा प्रतिकुल असर पार्दछ । मद, मदिरा सेवनको कारण समाजमा झगडा र अपराधलाई बढवा दिन्छ । किरात धर्मगुरुले किरात धर्मानुयायीहरुलाई साकाहारी जीवन पद्धतिको निम्ति प्रेरणा दिनुभयो । लाखौं मानिस साकाहारी जीवन यापन गरिरहेका छन् । माङसेबुङ क्षेत्रलाई साकाहारी नगरको रुपमा विकास गर्न वहाँले पहल गर्नुभएको छ । जसका कारण माङसेबुङलाई साकाहारी क्षेत्र घोषणा गरिएको छ ।

६. आध्यात्मिकताको विकास

समाजमा आध्यात्मिकताको विकासका निम्ति किरात धर्मगुरु आजिवन लाग्नुभएको छ । मानिसमा माङप्रतिको आस्था, अनुशासन, उच्च नैतिकता, दया, माया र सत्भाव विकासमा बाल्यकालदेखि नै समर्पित हुनुहुन्छ ।

किरात धर्मगुरुका जीवन कालमा नेपालका विभिन्न स्थानमा सयौं माङ्हीमहरु स्थापना भएका छन् । घरमा नियमित माङसेवा गर्ने, नयाँ बाली पाकेपछि चासोक र बीउ छरपोक गर्नु पूर्व याक्वा सेवा गर्ने, खोला नाला, डाँडापाखा र हिमालको सेवा गर्ने कार्य गर्दै, गराउँदै आउनुभएको छ । जसले मानिसलाई प्रकृतिसँग विवेकपूर्ण अन्तरक्रियामा सहयोग पुगेको छ । अर्कोतर्फ, कुनै एक व्यक्ति पूर्ण स्वाथ्य बन्नमा उनमा आत्यात्मिताको विकास हुनपर्ने विश्व स्वाथ्य संगठनले निष्कर्ष निकालेको छ । व्यक्ति शारीरिक, मानसिक र सामाजिक रुपमा मात्र स्वस्थ्य भएर पुग्दैन । पछिल्लो सताब्दीमा संसारमा तिब्र भौतिक विकास भइरहेका छन् । विज्ञान र प्रविधिले थुप्रै सुविधा प्रदान गरेको छ । तर, आत्मा शान्ति र सन्तुष्टि प्रदान गर्न सकेको छैन । भौतिकताको अन्धो दौडले मानवता र आध्यात्मिकताको खरेडी बढिरहेको पाइन्छ ।

७. भाषा, लिपि र संस्कृतिको संरक्षण र प्रवद्र्धन

नेपाली प्राचीन भाषाको रुपमा किरात भाषा र लिपिको संरक्षण र सम्बद्र्धनमा किरात धर्मगुरुको महत्वपूर्ण योगदान रहेको छ । किरात धर्मगुरुको तीन दसक निरंकुश र हिन्दुएकात्मक पञ्चायती व्यवस्थामा बित्यो । वि.सं. २०१७ मा राजा महेन्द्रले दलहरुमाथि प्रतिवन्द लगाएर पञ्चायति व्यवस्थाको शुरुवात गरे । पञ्चायती व्यवस्थामा खस नेपाली भाषालाई शिक्षाका माध्यमका रुपमा लागू गरियो । मुलुकमा हिन्दुत्वलाई चरम रुपमा लागू गरियो । लिम्बुवानको किपट उन्मुलन गरियो । हिन्दु धर्म र खस भाषालाई राष्ट्रियताका मूल आधार बनाइएको थियो । त्यसबेला आफ्नो भाषा लिपि र संस्कृतिको प्रचार—प्रसार गर्नुलाई अराष्ट्रिय तत्व मानिन्थ्यो ।

किरात धर्मगुरुको वि.सं. २०३५ इलाम जिल्लाको साविक महमाईको तमाखे जंगलमा आफ्ना अनुयायीहरुको एक गोप्य बैठक डाक्नुभयो । ‘बैठकमा धर्म, भाषा र लिपि संरक्षण र विकासका निम्ति महत्वपूर्ण निर्यणहरु गरियो’, बैठकमा सहभागी मध्ये एक केहेसिङ योङहाङ स्मरण गर्नुहुन्छ । सोही गोप्य बैठकमा सहभागीहरुले निर्णमा आफ्नो रगतले हस्ताक्षर गरेका थिए । तमाखे बैठकले लिपि छाप्ने एक प्रेस स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुरुप संसारमै किरात लिपिमा छाप्ने पहिले प्रेस ‘किरात प्रिन्टिङ प्रेस’ दमकमा स्थापना गरियो । मुन्धुम शिक्षाका औपचारिक कक्षाहरु शुरु गर्नुभयो ।

किरात जातिमा प्रचलित परम्परगत गीत पालाम, ख्याली, हाक्पारे र नाचहरु केलाङ, माङलाङ, येबालाङ, साकेला, हुर्रा आदि नाचहरु संरक्षण गर्न किरात साम्यो साक्थिम्गेन पान्जुम्भो स्थापना गर्नुभयो । सांस्कृतिक कार्यक्रमहरु संचालन गर्न आवश्यक सामग्रीहरु खरिद गर्न किरात धर्मगुरु अफैं जोगमनी जानुभएको केहेरसिङ योङहाङ बताउनु हुन्छ । २०३५ यता माङसेबुङ मौलिक सांस्कृतिक गीत र नाचहरु प्रस्तुत हुने केन्द्रका रुपमा रहँदै आएको छ । यसैगरी किरातीहरुको मौलिक पहिरन तागा, मेख्ली, सुम्जाङ, हाङजाङ, पहके, सर्दके जस्ता पहिरनहरुको संरक्षरण र प्रवद्र्धनका निम्ति लागि पर्नु भएको छ । वि.सं. २०५७ मा सम्पन्न ‘किरात धर्म प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’ मा तागा, मेख्लीको व्यापक परिहन र प्रदर्शन गरिएको थियो । वहाँले किरात धार्मिक कार्यक्रममा अनिवार्य रुपमा तागा, मेख्लीको प्रयोगमा जोड दिंदै आउनुभएको छ । जसका कारण संसारका लाखौं भक्तजनहरुले मौलिक पहिरन लगाउने गरेका छन् । यसैगरी तागा, मेख्ली विभिन्न डिजाइनमा, विभिन्न रंगमा पहिरने चलन अत्याधिक रुपमा बढेको छ ।

८. पहिचान र अधिकार खोजी

नेपालमा सदियौं देखि एकात्मक हिन्दु राज्यको रुपमा रहेको थियो । नेपाल एकिरणको क्रममा अनेका आदिवासीका राज्यहरु मिलान गरियो । ती क्षेत्रमा हिन्दुत्व लादियो । मुलुकका सबै धर्म, भाषा र संस्कृतिले राज्यबाट समान संरक्षण पाएनन् । नेपालको भौगोलिक एकिकरणले पछिको एकात्मक राज्यले भाषिक, सांस्कृतिक, धार्मिक र राजनीतिक विभेदहरु सिर्जना गरेको थियो । विभेदमा पारिकएका जनताको माङगेन्ना (शिर) ढालिदियो । जसले मुलुकको राष्ट्रियता सधैं कमजोर र खतरामा पारिहेको थियो ।

किरात धर्मगुरुले नेपालका आदिवासी, जनजाति, दलित र महिलाका अधिकारका निम्ति संघीय शासन प्रणाली आवश्यक भएको बताउँदै आउनु भएको छ । सबै जाति, वर्ग, क्षेत्र र लिङ्गलाई अधिकार सम्पन्न गराए मात्र मुलुक सफल हुने र मुलुकमा शान्ति हुने वहाँको मत रहेको छ । आदिवासीका पहिचानमा आधारित संघीय राज्यहरु स्थापना गर्न दलहरु खोल्न, धर्मनिरपेक्षता र पहिचान निम्ति शान्तिपूर्ण आन्दोलनहरुमा वहाँले प्रेरित गर्दै आउनु भएको छ । त्यसैगरी वहाँलाई भेट्न आउने राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई वहाँले सबै नागरिकलाई अधिकार सम्पन्न गराउन अनुरोध गर्दै आउनुभएको छ ।

९. शान्तिको पहल

‘विश्व शान्ति र मानव एकता’ लाई किरात धर्मगुरुले आफ्नो मूल दर्शनका रुपमा अघि बढाउनु भएको छ । ‘संसारलाई सुन्दर फूलबारी’ का रुपमा विकास गर्न धर्तीका सबै मानव मिलेर बस्नु पर्नेमा वहाँले जोड दिँदै आउनु भएको छ ।

विश्व शान्तिको कामना गर्दै किरात हाङसाम मुजोत्लुङ माङहीममा २०५० सालयता अखण्ड महावक्ति प्रज्वलन गरिएको छ । विश्व शान्तिको कामना गर्दै २०७६ मा फक्ताङलुङमा सेवा लगाउनु भयो । माङसेबुङ र बाहिर आयोजना हुने कार्यक्रमहरुमा किरात धर्मगुरुले विश्व शान्ति र मानव एकताको शन्देस दिंदै आउनुभएको छ ।

१०. मुन्धुम प्रकाशन

महागुरु फाल्गुनन्दले लिखित मुन्धुमको प्रयोगको थालनी गर्नुभयो । वि.सं. १९८८ बैसाक २४—२८ गते पान्थर लबे्रमा निर्माण गरिएको ‘सत्यधर्म मुचुल्का’ले मुन्धुमलाई लिपिबद्ध गर्ने उल्लेख गरेको थियो । महागुरुले मुन्धुमलाई किरात लिपिमा लिपिवद्ध गर्नुभयो । वहाँ आफैमा ‘मुन्धुमसावा’ हुनुहुन्थ्यो । महागुरुले मुन्धुम भन्नुहुन्थ्यो र वहाँका चेलाहरुले लिपिवद्ध गर्नुभयो ।

महागुरु फाल्गुनन्दले लिपिवद्ध गर्नुभएको मुन्धुमलाई सम्पादन र प्रकाशन गर्ने कार्य किरात धर्मगुरुले गर्दै आउनुभएको छ । वहाँकै पहलमा किरात लिपि छाप्ने प्रेसको स्थापना २० सालमा भयो । जो किरात लिपि छाप्ने पहिलो प्रेस हो । ‘थेबा—युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्बा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कुसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’ मुन्धुम कम्प्युटराइज गरेर प्रकाशन भएका छन् । सो मुन्धुम नेपाल, भारत (सिक्किम, दार्जिलिङ, आसाम), हङकङ, सिङगापुर, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशीया, जापान, कोरिया, अमेरिकाका किरात धर्मावलम्बीहरुले दैनिक जीवनमा प्रयोग गर्दै आएका छन् । माङसेबुङमा मुन्धुम पठनपाठन भइरहेको छ । अझ धेरै मुन्धुमहरु लिपिवद्ध हुन बाँकी रहेको छ ।

उनले लिपिवद्ध गरेको मुन्धुमलाई सम्पादन र छपाईमा ल्याउने कार्य मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले गर्दै आएका छन् । हाल, नेपाल, भारत (सिक्किम, दार्जिलिङ, आसाम), हङकङ, सिङगापुर, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशीया, जापान, कोरिया, कतारलगायतका स्थानमा प्रयोग भइरहेको छ । माङसेबुङमा मुन्धुम पठनपाठन भइरहेको छ । लिखित मुन्धुमको प्रयोगले मुन्धुमको एकरुपता र साक्षरता बृद्धिमा योगदान गरेको छ । अझ धेरै मुन्धुमहरु लिपिवद्ध हुन बाँकी रहेको छ ।

अन्त्यमा,

निरंकुश पञ्चायती व्यवस्था, जनयुद्धजस्ता असहज राजनैतिक अवस्था, अभाव र कठिनाईसँग पौठेजोडी गर्दै अप्ठ्यारा पन्छाउँदै अङसीमाङले किरात धर्मलाई नेतृत्व गर्दै आउनु भएको छ । किरात धर्मगुरुले ६६औं जन्मोत्सवको अवसरमा हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार