पाँचथरमा चिया कृषि पाठशाला संचालन, छनौटमा नामसामी सहकारी

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका-४, चिलिङदेनमा संचालित नामसामी चिया तथा कफि उत्पादक सहकारी संस्था ‘चिया कृषि पाठशाला’ छनौटमा परेको छ ।

चिया तथा कफि विकास कार्यालय पाँचथरको आर्थिक वर्ष ०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकलाई व्यावसायिक बनाउने लक्ष्य सहित यस सहकारीमा ‘असल कृषि अभ्यास चिया कृषक पाठशाला’ सुरुवात गरिएको कार्यालय प्रमुख प्रेमकुमार थिङ्गले जानकारी दिए ।

जिल्ला भित्र १५ भन्दा बढी चिया सहकारी संस्था संचालनमा रहे तापनि यस सहकारीले निरन्तर अर्गानिक चिया उत्पादन गर्दै उत्साहका साथ कृषकहरु व्यावसायिक खेती तर्फ उन्मुख भएकाले यसलाई पाठशाला छनौट गरिएको उनले बताए ।

सात सदस्यीय समिति सहित २५ जना कृषक रहेको यस सहकारीको पाठशाला संचालन गर्न कार्यालयले आर्थिक र प्राविधिक सहयोग गरेको छ।जिल्ला भरका चिया कृषकलाई कार्यालयले ५० प्रतिशत छुटमा एग्रोनेट उपलब्ध गराएको बताइएको छ ।

जिल्ला कृषि प्राविधिक दिपक चौधरीद्वारा नर्सरी गर्ने तरिका,चियाको काँटछाँट प्रविधिक, रोग किरा नियन्त्रण, पत्ती टिपाइ सम्बन्धि तालिम लगायत चिया खेतीका सम्पुर्ण तरिका फिल्डमा प्रयोगात्मक विधिद्वारा भदौ देखि जेष्ठ सम्म हरेक महिना पाठशालामा सहजकर्ताको भूमिका निर्वाह गरेका छन् ।

करिब तीन सय रोपनी क्षेत्रफलमा २०५२ सालबाट बिरुवा रोपणको काम थालनी गर्दै २०६० सालदेखि उत्पादन शुरु गरि २०७२ सालमा दर्ता गरिएको संस्थाका अध्यक्ष मोतिराज नेम्वाङले जानकारी दिए । कन्चनजङ्घा टि स्टेट प्रा.लि.फिदिम पाँचथरले अर्गानिक प्रमाणित गरि यस सहकारीबाट वार्षिक १० हजार किलोग्राम हरियो पत्ती खरिद गर्दै आएको छ।हाल हरियो पत्ती प्रति किलोग्राम ६० देखि ९० रुपैयाँ विक्री भए तापनि आधुनिक कृषि प्रणालीलाई चाहिने सामाग्री नभएको कृषकको गुनासो छ ।

यस खेतीलाई चाहिने काँटछाँट मेसिन साथै अन्य सामानको अभाव हुनु,ढुवानी समस्याले दैनिक विक्री गर्न नपाउनु,भने जस्तो अर्गानिक बजार मुल्य नहुनु,न्यून पारिश्रमिकमा कामदार नपाउने जस्ता समस्याले धेरै स्थानका कृषक चिया खेतीमा निराश भएको सहकारी लेखा समिति संयोजक नरप्रसाद नेम्वाङको भनाइ छ ।

देशको अर्थतन्त्रमा ठुलो हिस्सा ओगट्दै विश्व बजारमा नेपाललाई चिनाउन सफल चिया खेती सौर्न्दर्य तथा रमणीयताका हिसाबले पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याएको छ ।

पहाडीको रानी भनेर चिनिएको पुर्वी नेपाललाई कृषकको आवश्यकता र समस्यालाई मध्यनजर गर्दै चिया पकेट क्षेत्रमा सम्बन्धित पक्षले ध्यान दिने सके अझै कृषकमा जोशजाँगर थपिने नामसामी सहकारीका अध्यक्ष नेम्वाङको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार