प्रथम सूर्योदय नगर पर्यटन महोत्सव सकियो

  नयाँ बुलन्द  188 पटक हेरिएको

सूर्योदय नगरपालिकाको अन्तुपोखरीमा बोटिङमा रमाउँदै पर्यटकहरु ।

इलाम : पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको पहिलो पाँचदिने सूर्योदय पर्यटन महोत्सव सम्पन्न भएको छ । नगर क्षेत्रको विभिन्न ६ स्थानमा फरक–फरक कार्यक्रम गरिएको महोत्सव बुधबार सम्पन्न भएको हो ।

पाँच दिनको महोत्सवमा पञ्चकन्या, श्रीअन्तु, पशुपतिनगर, गोर्खे, कन्याम र फिक्कल क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिएको महोत्सव सफल भएको महोत्सव आयोजक समितिकी संयोजक दुर्गादेवी भट्टराईले बताइन् । ‘महोत्सवले सूर्योदय क्षेत्रका पर्यटकीय गन्तव्यहरूको राम्रोसँग प्रचार–प्रसार भएको छ,’ उनले भनिन्, ‘क्षेत्रगत रूपमा भएका कार्यक्रमले नयाँ ठाउँलाई समेत पर्यटकीय गन्तव्यका रूपमा विकास हुन्छ भन्ने अपेक्षा लिएका छौँ ।’

महोत्सवमा रेड पान्डाको अवलोकनका लागि आयोजना गरिएको रेड पान्डा ट्रेल, अन्तु पोखरीमा फिसिङ तथा बोटिङमा पर्यटक झुम्मिए । विभिन्न ठाउँमा राखिएको परम्परागत खेलमा पनि पर्यटकले निकै रमाइलो गरे । महोत्सवमा हराउँदै गएको काठको रोटेपिङ, लिंगेपिङ, चाकाचुलीजस्ता परम्परागत खेलहरूको समेत व्यवस्था गरिएको थियो ।

त्यस्तै पशुपतिनगरको सस्तो बजार कार्यक्रम, कन्यामको सुन्दर घोडा प्रतियोगिता, सूर्य पूजा, लोपोन्मुख लेप्चा जातिको संग्रहालय अवलोकन, डम्फु साँझले पर्यटकहरूलाई तानेको थियो । नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार