मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ संक्षिप्त जीवनी

  माङमिङ्सोहाङ लिङदेन  120 पटक हेरिएको

किरात धर्म दर्शनदाता एवं बीसौं शताब्दीका महान् समाजसुधारक मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले वि.सं. १९९० को दशकमा किरात धर्मावलम्बीहरुको प्रमुख तीर्थस्थल सिन्चेइ फक्ताङलुङ (कुम्भकर्ण हिमश्रृंखला) को फेदी मारुङफुक्कुमा गर्नु भएको माङइङघङ (देववाणी) मा उल्लेख छ ।

आफ्नो जीवनको उत्तरार्धमा पुग्दा पनि किरात समाजलाई आफूले सोचेजस्तो बनाउन नसक्नाले चित्त नबुझेको वहाँको देववाणीपश्चात् वहाँ कुन रुपमा आउनु हुन्छ भन्ने जिज्ञासालाई मेट्न भन्ने गर्नुहुन्थ्यो, ‘यसपटक म मातारुपी ब्रह्मचार्य वर्तमा आएँ, अब पछि पितारुपी संसारिक जीवनमा आउँदा चिन्नु है ।’

पिताको रुपमा संसारिक जीवनमा कहिले जन्म लिनुहोला भन्ने जिज्ञासालाई मेट्दै वि.सं. २००५ चैत १७, १८ गतेतिर पान्थर रवीको मुढेमा भन्नुभयो, ‘अब म महाचीनमा जाँदैछु, खासा खाँडी फेर्दैछु, यतिबेला मेरो उमेर चीनमा १० वर्षको भयो, १७ वर्षको उमेर पुग्दा पुनः ५, ६ वर्षपछि यही किरात कुलमा आउँछु ।’

मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनकै अनुसार ५, ६ वर्षपछि अर्थात् वि.सं. २०१०÷११ तिर किरात कुलमा नै जन्म लिने पुष्टि भएपछि किरातको पनि कुन कुलमा होला भन्ने कौतुहलतालाई जोगमाया तुम्बापोको विवाह प्रसंगले शान्त गराउँछ । वहाँको चेला जोगमाया तुम्बापो तुम्रोकसँग विवाह गरी सम्बन्ध विच्छेद भई सन्यास लिएर बस्नु भएको थियो । त्यसैले पुनः विवाह गर्ने सोचाइमा हुनुहुन्न थियो । तर, दाजु लाजहर्कको छोरा टेकबहादुरसँग जोगमायाको विवाह गरिदिनु पर्ने भयो । जोगमाया मान्नु भएन त्यसवखत वहाँले भन्नुभयो, ‘चुप लागेर बस्, पछि आमा बनाउँला ।’

यसरी मुहिगुम अङसीमाङ फाल्गुनन्द आफ्नो अपूरो कार्यलाई पूरा गर्न पुन जन्म लिनुहुने, संसारिक जीवन अँगाल्नु हुने, जन्म साल वि.सं. २०१० या ११ साल हुने, किरात कुलमै आउनु हुने र किरात कुलको लिङ्देन परिवार हुने पूर्व संकेत छोडेर अन्ततः वि.सं. २००५ चैत २२ गते यस संसारबाट बिदा हुनुभयो ।

पारिपट्टि अस्पष्टलाग्दो फिजिएको घोर्लेभीर (नाम्भून यक्मा), सँगै टाँसिएको राई बस्ती संग्रयाङ गाउँ र त्योसँगै टाँसिएर सदीयौंदेखि रहेको एउटा विकट ठाउँ आगोटेबारी । छेङछेङेलगायतका झरनाहरु, आले खोल्सालगायतका खोल्सा खोल्सीहरु र फेवा खोलाको अविरल बग्ने आवाजसँगै कोइली, लुइंचे, लाटोकोसेरो, हाडफोडा, मेक्वा, ठूलो चिभे, सानो चिभे, चील, कालीज, तुलीगाँडा, कोकले, दुई प्रजातिका जुरेली र गौंथलीको चिरबिराहटसँगै न्याउलीको आवाजले विरहमा डुबे पनि मृग, स्याल र घोरलको कर्कस आवाजमा अझै थप्न पुग्ने बाघको पारि घोर्लेभीरको गर्जनले झस्किन्थ्यो, आगोटेबारी ।

नेपालको सुदूरपूर्व मेची अञ्चल, इलाम जिल्ला इभाङ गाउँस्थित, डाँडा गाउँको पुछारमा रहेको त्यही आगोटेबारीमा औंलामा गन्न सकिने घरहरु मात्र थिए । मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको जेठा दाजु लाजहर्कको अंश आगोटेबारीमा मूलढोका पश्चिम फर्केको दक्षिणपट्टि सानो झ्याल भएको, मुनि गारो र माथि चिमको बेरा र खरले छाएको मुस्किलले ४, ५ जनाको परिवार अट्ने सानो घर थियो । घर सानै भएपनि सुन्दर बनाउन सेतो कमेरो माटो र रातो माटोले राम्ररी लिपपोत गर्नुका साथै बाहिर भित्तामा पदमफूङ (गोलो गोलो बुट्टाको फूल बनाएको) भएको घरमा टेकबहादुर लिङ्देनको परिवार बस्थ्यो । गाउँको पुछारमा बस्ने परिवार भएकोले वहाँलाई पुछारे भनिन्थ्यो ।

पश्चिमतर्फ खरबारी र दक्षिणतर्फ बाँंंसको झ्याङ, उत्तरतर्फ टाँकी, नासपाती, सुन्तला, कटहर, आरुबखडा, सानो खालको किम्बु, अम्बकको बोट, त्यसकै छेउमा फलेदोको बोट र बीचमा सानो भीरसँगै टाँसिएर बसेको सानो घर, सानो सिकुवा, सानो आँगन तर आँगनमा ठूलो सेतो ढुङ्गा । यही घरमा टेकबहादुरको श्रीमती पान्थर, चोकमागु, तीनमलेकी जोगमाया तुम्बापो माङको सेवा गरिरहनु हुन्थ्यो । मुहिगुम अङसीमाङ फाल्गुनन्दको भतिजी बुहारी मात्र नभएर चेलासमेत भएकी जोगमाया गुरुको आदेशअनुसार दियो कलश राखेर अटुट सेवा गर्नुहुन्थ्यो । यस्तैमा वि.सं. २०११ साल असारतिर सपनामा घाम, जुन, तारा मात्र देख्नुभएछ, र पछि मंसिर १८ भन्दा अघि ३ रातसम्म लगातार छोराबुहारी श्यामजीरीको पेटमा चन्द्र, सूर्य, तारामण्डल झलमल उज्यालो देख्नुभएछ । टेकहादुर र जोगमायाको एउटै छोरा पुण्यप्रसाद लिङ्देनको पान्थर, चुङजीवा, ओजाचेप्पाकी चन्द्रमाया चेम्जोङ (श्यामजीरी) ले पनि बालक गर्भमा हुँदा मासु, मंस, मद मदिरा खान नहुने, सपनामा हिमश्रृंखलामा, डाँडाहरुमा उडेको, सेतो घोडा कुदाएको बारम्बार देख्नुहुन्थ्यो ।

यस्तै लक्षणहरुसँगै श्यामजीरीको कोखबाट वि.सं. २०११ साल मंसिर १८ गते शुक्रबार बिहान घामको आगमनसँगै एउटा बालकको जन्म भयो । अर्थात् वहाँ जन्मिनेवित्तिकैै घाम पनि झुल्केको थियो । बालक जन्मेपछि सुत्केरीलाई परेवाको मासु दिइयो, तर त्यही कारण बालकले आमाको दूध खाइदिनुभएन । र, सौभाग्य बालकसँगै व्याउने कालो भएपनि सिंदूरी नाम गरेको गाईको दूध बालकलाई ख्वाएर हुर्काइयो ।

माङको दूतको रुपमा जन्म भएको त्यो खबर त्यही गाउँमा मात्र सीमित रहेन, सायद त्यसैले पारी लामागाउँमा १५ बहिनी खत्रीनीहरु घाँस दाउरा, मेलापात गर्दा गीत गाउँथे, ‘गैरी गाउँमा जन्म्यो बालागुरु दुनियाँको उपचारको लागि…’माङको विभिन्न संकेतसँगै जन्मने सो बालकको ज्योतिष नाम श्यामबहादुर राखियो । आगोटेबारीको जग्गा मलिलो भएपनि थोरै जग्गा भएकोले उत्पादन हुने अन्न र जितपुरको खेतको धान कुटाएर ल्याएकोले बोजु, आमा, बाबु, २ जना फुपू र लुङा दलबहादुर लाओतीसहितको परिवारलाई वर्ष दिन खान पुग्दैनथ्यो । ज्यादै मुस्किलले वर्ष कट्थ्यो । कोदो धेरै उब्जनी हुने भएकोले धेरैजसो कोदो, मकै नै प्रमुख खाद्यान्न हुने गथ्र्यो । यस्तैमा घरायसी बेमेलताका कारण आमा श्यामजीरी ३ महिने बालकलाई छोडेर दोस्रो विवाह गरी आसाम जानुभयो । बालक श्यामबहादुर बोजु जोगमायाको लालनपालनमा हुर्कन थाल्नुभयो । र, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले जोगमायालाई भन्नुभए झैं जोगमाया पुनः आमा झैं हुन पुग्नुभयो ।

यसरी सानैमा मातृत्वविहीन बन्नु पुगेको बालक बिस्तारै आगोटेबारी, झाँक्री खेत, फेवाखोलासँग परिचित हुँदै जानुभयो । साथीभाइसँग खेल्दै हिँड्ने उमेरमा ३०, ३५ वटा बाख्रा र ९, १० वटा गाई वस्तुहरुको गोठाला हुनुभयो । बाली नष्ट हुनबाट जोगाउन बाँदर रुङनु भयो । त्यतिखेर साह्रै भोक लाग्ने र प्रायः खेसेवा (तरुलको फल) खानुहुन्थ्यो । त्यही उमेरमा वहाँले गाउँको नजिकैको प्राथमिक विद्यालय धाउनुभयो । करिब डेढ घण्टाको उकालो हिंडेर विद्यालय जानुहुन्थ्यो । बोजुले बुनेको खाडीको दाउरा सुरुवाल, इस्टकोट र निधारमा सेतो माङफूङ (बिघौत) लगाएर जाँदा साथीहरुले गिद्धले निधारमा छेरेको भन्दै जिस्काउँथे । तर, वहाँ केही पनि भन्नुहुन्नथ्यो । किनकि, वहाँ कसैलाई नराम्रो नभन्ने, झूट नबोल्ने, एकान्त मनपराउने, कम बोल्ने, झगडा नगर्ने प्रवृतिको हुनुहुन्थ्यो ।

विद्यालयमा पढ्दा पुस्तक पढ्नै नपरी आउने भएको साथै नजान्नेसँग बसिरहनु परेकोले अर्को वर्ष पारि गजुरमुखी गाविसको विद्यालयमा पढ्नु पर्ला भन्ने सोच वहाँको र बाजे टेकबहादुरको पनि थियो । यस्तैमा बाजे बिरामी हुनुभयो, र त्यही बिरामले गर्दा बित्नुभयो पनि । त्यतिबेला वहाँ ९ वर्षको हुनुहन्थ्यो ।

बाजे टेकबहादुरको मृत्युसँगै विद्यार्थी जीवन पनि टुट्यो, पढ्ने वातावरण पनि बन्न सकेन । गोठाला गर्दा नै दिन बित्न थाल्यो । प्रायः बोजुलाई पूजा पाठ गर्न सघाउनु हुन्थ्यो । बोजु त्यहाँबाट गैरीगाउँको माङहिममा पूजा गर्न जानुहुन्थ्यो, साथमा नातिलाई पनि लानु हुन्थ्यो । त्यसबखत त्यहाँको सेवासाबा जोगमायाको काका बद्रिनन्द तुम्बापो हुनुहुन्थ्यो । बद्रिनन्दसमेतको संगतले १३ वर्षको उमेरदेखि नै जपतप गर्नतर्फ वहाँ लाग्नुभयो, र सोही वर्ष वहाँ बद्रिनन्दद्वारा दीक्षितसमेत हुनुभयो । दीक्षित गरिसकेपछि वहाँको जोगनाम बद्रिनन्दले राखिदिनुभयो– आत्मानन्द । पछि बोजुले आत्मा परमात्मा जान्ने आत्मानन्द भन्ने गर्नुहुन्थ्यो ।

यसरी बोजुसँग कहिलेकाहिँ माङहिम जाँदाजाँदै वहाँले धेरै कुरा सिक्नुभयो । तैपनि वहाँलाई गोठाले जीवनले १४ वर्षको उमेरसम्म छोडेन । किनकि, माङहिममा पनि भेडा चराउनु पथ्र्यो । यस्तैमा वहाँ १४ वर्षको हुँदा अर्थात् २०२५ सालको दशैंको टीकाको रात ठूलो पानी प¥यो । बेगले चलेको हावा र लगातारको मुसलधारे पानीले घर चर्कियो, पहिरोले वहाँ र लुङा दलबहादुर लाओतीलाई समेत झण्डै लग्यो । त्यही रात नै त्यस घरमा वहाँको अन्तिम रात भयो । त्यसपछि त्यो घर छोडेर डाँडा गाउँमा निस्की अन्नपानी र सामान ओसारेर पछि हिउँदमा सबै खेतीपाती उठाई स–परिवार डाँडा गाउँको पुछार तुमबुङबामा बसाईं सर्नुभयो । यसरी दिनचर्या कठिन भइरहेकै अवस्थामा बुबा दोस्रो विवाह गरेर आसाम जानुभयो ।

बोजु र बद्रिनन्दसँग माङको सेवामा तल्लिन हुने क्रममा १३ वर्षको उमेरमा नै गैरीगाउँ माङहिम छेउको सानो वनमा समय समयमा जपतप गरी आध्यात्मिक जगतमा पदार्पण गर्नुभयो र आत्मा परमात्मा जान्ने तथा विगत, वर्तमान र भविष्य जान्ने भई बालागुरु उपनामले सर्वत्र चिनिनु भयो । सो ध्यानलाई पूरा गर्न सोही वर्ष अर्थात् वि.सं. २०२५ को माघ शुरुतिर गुफा साधन गर्न बोजु, बद्रिनन्द, सिद्धिहाङ राई, डम्बरसिं लिङ्देन र माल्टेनीको तामाङनीसहित जितपुर पुछारको खत्रक्पा खोल्सी जानुभयो । मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले ज्ञान प्राप्त गर्नुभएको सो खत्रक्पा खोल्सीमा ध्यान राति अचानक पारि बोरुङबाट आएको टर्चको भैmं प्रकाशले अवरुद्ध भयो । बद्रिनन्द डराउनु भई राति नै ठाउँ छोडी कष्टपूर्ण तवरले जंगलको शिरानमा निस्कनु भयो । अत्तालिएर अँध्यारोमा जंगलको बाटो उकालो चढ्दा जपतप गर्नको लागि खाद्यान्नहरु छरपष्टिएयो । केही दिनअघि महमाईमा ज्यानमारा काण्ड चलेकोले त्यसैको सम्झनाले गर्दा डराई ध्यान पूरा हुन पाएन । तर, त्यो प्रकाश ज्यानमाराको थियो या शिकारीको थियो या माङको पहिचान थियो सो यकिन हुन सकेन ।

उज्यालो भएपछि जितपुरको माङहिममा गई ३ दिनसम्म बस्नुभयो । सेवा लगाउनुभयो । त्यसबखत त्यहाँको माङसेवासाबा नरप्रसाद लिङ्देन (माङदेने माइला) हुनुहुन्थ्यो । माङदेने माइला र बालागुरुबीच कुरा छेडछाड खुबै चल्थ्यो । समायोजन गर्ने काम जितपुर ८ का घलिन्द्रबहादुर लिङ्देनले गर्नुहुन्थ्यो । किनकि, घलिन्द्र भन्नासाथ माङदेने माइला डराउनु हुन्थ्यो, जबकि घलिन्द्र बालागुरुलाई खुब माया गर्नुहुन्थ्यो ।

कम तर मीठो नरम बोल्नु हुने, एकान्त मन पराउनु हुने, झै–झगडा, क्रोध, घमण्डबाट सदैव टाढा रही साधा जीवन नै रुचाउनु हुने बालागुरुको अपूरो अधुरो ध्यान, माङसँगको भेटको लालसा अपूरो रहेकैले वि.सं. २०२६ मंसिरमा मोरङको बक्राखोलाको डिलमा रहेको पीपलको फेदमा एक हप्ता राति राति ध्यान गर्नुभयो । त्यो ध्यान कुल झोडा दर्ता गराउने प्रमुख उद्देश्य राखेर गर्नुभएको थियो । नभन्दै पछि वहाँ र वीरबहादुर योङहाङ काठमाण्डौ गएर कुलझोडा दर्ता गर्नुभयो । यसरी बक्राखोलाको डिलमा ध्यान गर्नुभन्दा केही अघि अर्थात् असोजतिर दुर्गा मन्दिरमा पनि ध्यान गर्नुभयो, तर दशैंताका भएकोले भोग दिई पूजा गरेको भएकोले त्यति राम्रो हुन सकेन ।

वीरबहादुरसँग काठमाण्डौमा श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेवको विवाह हेर्न काठमाण्डौ जानुभयो । त्यतिखेर विराटनगरबाट जोगवनी गई भारतीय भूमिबाट रक्सौल हुँदै वीरगञ्जमा निस्केर बाइरोडको बाटो हुँदै काठमाण्डौ छिर्नुभयो । काठमाण्डौको थापाथलीमा ३ महिना जति बस्नुभयो । हेर्ने कोर्नेहरु खुब आउँथे । धारामा नुहाउँदा बहिनी भन्दै जिस्काउँथे । किनकि, वहाँको केश त्यसवखत लामो थियो । पहिलो पटक काठमाण्डौ गएकोले पशुपति, बुढानिलकण्ठलगायत सम्पूर्ण प्रमुख देवी देवताको दर्शन गर्नुका साथै राजाको विवाह हेरेर वि.सं. २०२७ जेठमा घर फर्किनुभयो । सम्भवतः खत्रक्पामा भएको घटनामा नै सातो गई बिरामी हुनु भएका बद्रिनन्द तुम्बापो असारमा परमधाम हुनुभयो ।

सोही महिना पुनः ध्यान गर्नुपर्ने माङ आदेश भयो, र बद्रिनन्दको मृत्यु कार्य सकेर वहाँ साथी खोज्न लाग्नुभयो । करिव एक महिनाको परिश्रममा पान्थरको कुरुम्बासम्म पुगेर साथीहरु र खाद्यान्न बटुल्नुका साथै फुपाजू जोगदिल साम्सुहाङसँग लारुम्बाकै बाटो भएर ठाउँ हेर्न जानुभयो । ठाउँ चयन भयो माई, देउमाई र मेक्वाको संगमस्थल फुलुङ्गीको गुफा डाँडा ।

यसरी हेरेपश्चात् साउनको २५ देखि ध्यानको कार्य शुरु भयो । त्यतिखेर पान्थर कुरुम्बाका नरहाङ लाओती, दधिराम लाओती, मानवीर लाओती र इलाम नाङरुङका वीरबहादुर योङहाङ बालागुरुसँग हुनुहुन्थ्यो । डेरा, ध्यान गर्ने स्थान, लाधुङसेमी मण्डप, बारबेर इत्यादि तयार बनाउन करिब एक महिना लाग्यो । सो गुफा साधन माघ २५ गतेसम्म चल्यो । त्यतिखेरको तोरण टाँगाई देखेर मान्छेहरु पनि छक्क पर्थे । किनकि, तोरण देउमाईदेखि खत्रक्पासम्म टाँगिएको थियो । शुरुमा त्यहाँ चराचुरुङ्गी, जीवजन्तु केही आउँदैनथे, पछि एउटा एउटा गर्दै आउन थाले । मान्छेहरुले पनि थाहा पाए र भेट्न आउनेको भीड पनि बढ्न थाल्यो । यो ध्यान १३ वर्षदेखि १५ वर्षसम्म गैरी गाउँको सानो वनमा र विभिन्न ठाउँमा गर्नुभएको ध्यान, योग, जपतपको बृहत रुप थियो ।

यसरी गुफासाधन गर्दा एक छाकमात्र खानुपर्ने, रातदिन नै माङको सेवामा समर्पित हुनुपर्ने भएकोले खाद्यान्न गाउँबाट उठाएर ल्याउने गर्थे । सो समयमा बालागुरुले सेवासाम्लो (भजन) हरुको रचना पनि गर्नुभयो । करिब ६ महिनासम्म ध्यानरत भई वहाँले समाधी ज्ञान प्राप्त गर्नुभयो । र, सो ध्यानमा नै आफ्नो जन्मको प्रमुख उद्देश्य मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको अपूरो कार्यलाई पूरा गर्ने रहेको थाहा पाउनु भयो ।

फुलुङ्गीको सो सफल गुफा साधनपछि फर्केर गाउँ जाने क्रममा गैरी गाउँको चुक्चिनाम्बा माङहिममा ठूलो सेवा भयो । सो सेवा बालागुरुको लागि स्वागतार्थ माङलाङताक्मा अर्थात् स्वागतार्थ थियो । किनकि, असारमा बद्रिनन्दको मृत्युपश्चात् नै सो माङहिमको गुरुको नियुक्तिको लागि चुम्लुङ सोही माङहिममा बसेको थियो जसमा बालागुरुलाई नै गुरु बनाउने निर्णय भएको थियो । जबकि, बद्रिनन्दको छोरा भक्तिप्रसाद पनि आफूलाई कम ठान्नु हुन्न थियो । तर, वहाँ नभएको बेलामा बद्रिनन्दले बालागुरुलाई बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘यो माङहिम राम्ररी थाम्नु, यो भक्तिको विश्वास हुँदैन ।’

यसरी ठूलो सेवा गर्नलाई तयार त भयो । तर, महल बनाउनेमा राय मिलेन अर्थात् बालागुरुलाई त्यो मन परेन र चित्त दुखाउनु भयो, रुनु पनि भयो । फेरि केही दिन पर सारेर त्यो सेवालाई भव्यताका साथ गरियो, बालागुरु पनि खुशी हुनुभयो । सो समयमा पर्दा्भित्र रहनु भएका बालागुरुलाई धेरैले अनौठो देखेका थिए । सोही कार्यक्रमसँगै बालागुरुलाई मुहिगुम अङसीमाङ फाल्गुनन्दको पुनः अवतारको रुपमा मानियो र पूजियो । सो कार्यक्रममा बालागुरुले धर्मोपदेश पनि दिनुभयो । यसरी भक्तजन बोलाएर गरिएको यो पहिलो धर्मोपदेश तथा ठूलो कार्यक्रम थियो । त्यहीबाट नै धर्मोपदेश दिने कार्य पनि शुरु भयो ।

बालागुरु मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको पुनः अवतार भएको मान्यतापश्चात् अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ हुनुभयो । धर्मगुरु त पछि वि.सं. २०३६ तिर राजनीतिक नेताहरुले लगाइदिएको उपमा हो । यद्यपि, अङसीमाङ भनि हालिएन किनकि यो शब्दको चयन वि.सं. २०५७ ताका मात्र भएको हो ।

किरात धर्मको इतिहासमा सातौं महत्वपूर्ण व्यक्तिको रुपमा ईश्वरीय दूतको रुपमा आफूलाई परिचित गराइसकेपश्चात् वहाँ वि.सं. २०२८ भदौमा पखेरे भन्ने अङसीमाङको मामा र जगतबहादुर लाओतीसँग बाबु र कान्छी आमा रहेको स्थान आसाममा जानुभयो । त्यहाँ जानसाथ बाबु र आमा नेपाल बसाईं सर्नुभयो, अङसीमाङ र जगत मात्र घरमा । घर उठाउनु पर्ने भएकोले जर्ना (काठ) तिल, मकै, सिमी, बोडी इत्यादि आफ्नै उत्पादन ३५्३६ सयको बेच्नुभयो । र, पछि बुबा फर्केपछि त्यही पैसा लिएर अघोरी खोज्न जानुभयो । ब्रह्मपुत्र नदीमा स्टिमरबाट तरेर भरौल नदीको किनारैकिनार सेतीखरेमा ओर्लेर निष्पट जंगलमा एक हप्ता जति अघोरी खोज्ने काममा लाग्नुभयो । त्यसबखत त्यहाँ अघोरीको ज्यादै चल्ति थियो । त्यो लिन व्यापारीहरु जंगलमै आउँथे, त्यसैका कारण कतिको ज्यान पनि जान्थ्यो । त्यसरी हिंड्दा गुरुसँग जम्मा १९ जना नेपालीहरु थिए ।

खुकुरी बञ्चरो, चामल बोकेर तन्नेरी बनेको जस्तै बनिनु पर्ने, बेतको लहरामा झुण्डिन्दै जानुपर्ने । साथीहरुले सेतीखरेमा धेरै माछा मारेर खाए । गुरु खानु हुन्नथियो । टेंगा (भोगटे) को अचार प्रसस्तै खानुहुन्थ्यो । यसबीच गुरुले अघोरी त पत्ता लगाउनु भयो, तर ज्यान जाने माङकोे पूर्वसंकेतले गर्दा मान्नु भएन र अलिकति मात्र भएको लिएर फर्किनुभयो । त्यो बेच्दा चार हजार रुपैयाँको थियो ।

अल्छि लाग्नेगरी मुढा ताछेको ताछेकै गर्नुपर्ने । अघोरी कोही सर्प जस्तो, गाई जस्तो निस्कने । खोज्न जानेहरु भेला भएर बजार जस्तो बस्नुभयो । साथीहरु दिउँसो अघोरी खोज्न डेरा छोडेर जान्थे । गुरुको काम धारा बनाउँदै नुहाएर जप गर्नुपर्ने, धुप लाउँदै बस्नुपर्ने थियो । भरौल नदीको किनारमा रातभर जप गर्नुहुन्थ्यो । एक रात हात्तीहरु हुलै आएर नुहाए । रातभर हात्तीहरुले नुहाएको हेर्नुभयो । हिँड्दै जाँदा एक ठाउँ हात्तीले बच्चा पाएको भेट्नु भयो । बाघ आउँछ भनेर आत्मरक्षाको लागि हिर्काउन कचेटहरु हात्तीले भेला पारेको थियो । एक ठाउँ साह्रै लामो भीर थियो । त्यहाँ मौरी, बच्छुयुँ, पुत्का, खागो, बारुला प्रसस्तै थियो ।

अघोरी भाग्यमानीहरुले मात्र भेट्थे । किनकि, अघिका धेरैले ठुङ्दै छोडेको काठमा पनि त्यो पाउन सकिन्थ्यो । त्यसको धुप बास्नादार हुन्थ्यो । चोटपटक लागेमा त्यो अचुक औषधि थियो । त्यो बिक्री गर्ने ठाउँमा गुरुको समूह ब्ल्याकमा परेकोले अन्य ब्ल्याकमा परेकाहरु झैं इशारामा बोल्नु परेको थियो ।

अघोरीको खोजीपछि पखेरे आसाममै रहेकोले गुरु, गुरुको बुबा र जगतमात्र फर्किनुभयो । आलिपुर हुँदै नक्सालसम्म रेलमा आउँदा पैसा सकियो । त्यसैले नक्सालवाडीबाट पैदलै भोकै बेलुका झापाको ढेङ्ग्रे आइपुग्नुभयो । यो फर्काइ वि.सं. २०२८ माघ महिनाको थियो ।

अर्को वर्ष २०२९ सालको साउनमा गुरु प्रथम पटक सिन्चेई फक्ताङलुङ जानुभयो, साथमा जौबारी कान्छा (डिल्लीप्रसाद तुम्बापो), वीरबहादुर योङहाङ, दिलबहादुर लाओती, जगतबहादुर लाओती, अविधोज लिङ्देन र लक्ष्मी सेर्मा (सेर्मा कान्छा) पनि हुनुहुन्थ्यो । ताप्लेजुङको याम्फूदेनमा आलु खाँदा नाहेन झ¥यो । त्यसको भोलिपल्ट अविधोज डमरु बजाउँदै कराउँदै हिंडिरहेको थियो, दुई जना लामाहरु माला गन्दै फापरझुटाबाट तल झर्दै थिए । बेलुका डुँडपानीमा बास बस्दा अचानक मौसम बिग्रियो, चट्याङ छेवैमा पर्न थाल्यो । आकाश गर्जिन थाल्यो, हावापानी ज्यादै डरलाग्दो तवरले चल्न थाल्यो । गुरुसँग जानेहरु सबै डराए । तब गुरु हतार हतार हात खुट्टा धोइवरी जपमा बस्नुभयो । अक्षता र धूप बालेर यसो हेर्दा अघिकै लामा देख्नु भएछ । तब जसले अह्राएको त्यतै जानु, हामी त हिमाल हिंडेको भन्नु भएछ । नभन्दै एकैक्षणमा त्यहाँ मौसम शान्त हुँदै गयो । तर, त्यो हावापानी तलतिर सर्दै गयो । र, हेल्लोक खोलाको बाढीले गाउँ नै बगाइलग्यो जसमा ती दुई लामाहरु पनि परेछन्, त्यो पछि फर्किदा थाहा भयो ।

घुन्सामा पुगेपछि फाल्गुनन्दको अवतार आउनुभयो भनेर त्यहाँको गुम्बाको गुरुले अङसीमाङलाई १० रुपैयाँ भेटी दिएर हामीभन्दा तपाई जेठो भन्यो । त्यतिखेर दोभाषेहरु राखिएको थियो । फाल्गुनन्दले एउटा ढोका खोल्नुपर्छ भन्नुहुन्थ्यो, त्यो खोल्नुपर्छ भन्थे लामाहरु । त्यतिखेर त्यहाँका बासिन्दाहरुले गुरुलाई घर घरमा लगेर धनको सह रहोस् भनेर बाकस खोलेर सुनहरु छुन लगाए ।

त्यसपछि माथि फक्ताङलुङको काखमा पुग्दा पहिलो पटक त गुरु रिसाउँदै, ‘माङले किन दर्शन दिंदैन बल्ल आउँदा’ भन्नुभयो । तर, भोलिपल्ट राम्रो भयो । हिउँ परिरहेको थियो तैपनि केही चेलाहरुसँग निकै माथिसम्म चढ्नुभयो ।

दोस्रो वर्ष वि.सं. २०२९ मा पनि गुरु फक्ताङलुङ जानुभयो । यो वर्ष वहाँले फक्ताङलुङको पूर्वी मोहडा पाङलाङमा आफ्नो लामो केश काटेर आउनुभयो, साथै विवाह गर्नुपर्ने माङको आदेशसमेत लिएर त्यहीबाट फर्किनुभयो । टिम्बुमा सात दिनसम्म बस्नुभयो, मयुर पोखरीमा पौडी खेल्नुभयो । गुरुको सो टोलीले लक्ष्मी पोखरी र जोरपोखरीको आसपास भीरमा तीन पटक शंख बजेको सुनेको थियो । गुरुसँग १५ जना पाङलाङ गएकोमा पाँचजना टिम्बु पोखरीबाटै फर्किएकाले १० जनामात्र पुगे । जसमा प्रभुराम तुम्बापो, अविधोज लिङ्देन, जौबारी कान्छा, भवेन्द्र थेबे र सेर्मा कान्छालगायतका थिए ।

फक्ताङलुङ यात्राकै क्रममा वहाँले सिदिङबा (श्रीङचोक) मा दुई दिन ध्यान गर्नुभयो । र, यसरी माङसँग साक्षात्कार हुने क्रममा कात्तिकमा बाँझोको माङमालुङस्थित थालाचेप्पाको जंगलमा तिहारको आसपास सात दिनसम्म ध्यानरत रहनुभयो । यो ध्यान वहाँको जीवनमा निकै महत्वपूर्ण रहेको वहाँ स्वयं मान्नुहुन्छ । किनकि, त्यतिखेरको सेवापश्चात् वहाँले गर्नुभएको वाणी विशेषतः पञ्चायती शासन र विद्यमान अशान्तिबारे थियो ।

माङसँग समय समयमा भेट गर्नुपर्ने भएरै होला महमाईको लक्ष्मी खोलाको शीरमा पनि चार दिन चार रात पुष महिनाको जाडोमा ध्यानरत हुनु भएको थियो । साथमा जौबारी कान्छा हुनुहुन्थ्यो । त्यसपछि लगत्तै फुलुङ्गीमा दुई दिन दुई रात जपतपमा लाग्नुभयो ।

बाँझो गाविसको सिरानमा रहेको माङमालुङस्थित थालाचेप्पा डाँडामा वि.सं. २०२९ कात्तिकमा जपतप गर्नुभयो । र, २१ गते शनिबार भविष्यवाणी गर्नुभयो ।

वि.सं. २०२९ मंसिरमा आमालाई भेट्न जगत लाओतीसँग आसाम जानुभयो । त्यतिखेर झापाको शनिश्चरेमा पैसा साट्दा लुटेराहरुले थाहा पाएर झण्डै लगेको तर भागेर रातितिर एउटा बाहुनकोमा बास बस्नुभयो । त्यो बाहुन परिवारले गुरु हो भन्ने चिनेछन् खानाको पैसा लिन मानेनन् । भोलिपल्ट नक्सलबाट आलिपुरसम्म रेलमा र कुर्कुलेसम्म बसमा गई सुनकोसमा ओर्लिनुभयो । हुन त आसाम जाँदा पहिले पनि सिलगुडीबाट मिक्रिहिलतर्फ लाग्दा लुटेराहरुसँग पैसाकै सवालमा झगडा भएको थियो र खुकुरी थुत्नु पर्नेसम्म भएको थियो ।

आमालाई खोज्न कुर्कुले जानुभयो । गुरुले अन्तर्दृष्टिबाट यही हुनुपर्छ भन्नुहुने तर भेट्नै मुस्किल परिरहेको बेला कसो गर्दा कान्छा बुबा हाँस्दै उभिरहनुभएको थियो । अनि आमासँग भेट हुनासाथ गुरुले ढोग्नुभयो, आमाले पनि चिन्नुभएछ । १८ वर्षमा बल्ल भेट भयो आमा छोराको । ११ दिन आमा छोराबीच धेरै कुराहरु भए । आमाले गुरुलाई र जगतलाई पारिवारिक धेरै गुनासोहरु पोख्नु भयो । गुरुलाई सानैमा छोड्नुको विवशताहरु बताउनुभयो । अर्को वर्ष पनि गुरु दिलबहादुर लाओतीसँग आसाम जानुभयो ।

अर्को वर्ष कात्तिक महिनाकै आसपासमा पान्थरको लोब्रेकुटि मास्तिर जमिन खनेर सात दिन सात रात ध्यान गर्नुभयो । मृतआत्माले साह्रै दुःख दिन्थ्यो, किनकि त्यो भूतको बाटो रहेछ । तैपनि वहाँले ध्यानलाई सफल तुल्याउनु भयो । माङसँगको सो साक्षात्कारमा चेलाभूलाहरुसँग मुहिगुम अङसीमाङ फाल्गुनन्दको चित्त दुःखेको माङवाणी आयो । सो ध्यानमा नै वहाँले तुम्बापो, तुम्रोक र नेम्बाङहरुबीचको गालीश्रापहरु प्रसस्तै देख्नु भएको थियो ।

दोस्रो पटकको फक्ताङलुङमा पाउनु भएको माङआदेशलाई पूरा गर्ने क्रममा बाँझो–८ निवासी सुब्बा बृखध्वज साँबाकी जेठी छोरी पवित्रहाङमा साँबासँग वि.सं. २०३२ माघ २२ गते बिहीबार चुक्चिनाबा गैरिगाउँको माङहिममा विभिन्न माङहरुको समेत उपस्थितिमा देवविवाह गर्नुभयो । र, मुहिगुम अङसीमाङ फाल्गुनन्दले भन्नुभए झैं किरात समाजले पितारुपी संसारिक जीवनमा अङसीमाङलाई पाए, साथै माताको रुपमा अङसीमामाङलाई पाए ।

सोही वर्ष केही चामल आउने जितपुरको खेत पनि बेच्नुभयो । अर्को वर्ष लगातार तीन वर्ष चल्ने सेवा फुल्लुङ्गीमा शुरु गर्नुभयो । जसमा विशेषतः साक्मुरा वादेम्मा (गालीश्राप बहन्ती) थियो ।

वि.सं. २०३४ सालमा अङसीमाङ र अङसीमामाङ पहिलो सन्तानको बुबाआमा हुनुभयो । अर्थात् साउन ३ गते जेठी छोरी निर्मलाको जन्म मावलीघरमा भयो । यही वर्ष गजुरमुखीको अमले खेतमा तीन वर्षे सेवाको प्रारम्भ अङसीमाङबाटै हुन पुग्यो । सोही वर्ष काबेली माङहिममा मुन्धुम बनाउन सोच लिएर जानुभयो ।

त्यसबखतसम्म बस्ने स्थायी ठाउँको चयन भइसकेको थिएन । त्यसैले धेरै ठाउँको चयन पछि २०३५ सालमा लारुम्बा बसाईँ आउनु भयो । सोही वर्ष कात्तिक १५ देखि १७ गतेसम्म महमाईको तमाखेको चुलीभित्र तत्कालिन इभाङका प्रधानपञ्च हर्कध्जव सम्बाहाङफेको व्यवस्थापन एवं संयोजनमा बैठक बसी विभिन्न निर्णयहरु पारित गर्नका साथै किरात धार्मिक झण्डाको निर्माण गरी निर्णय पुस्तिकामा रगतको ल्याप्चे लगाई माङवाचा खाने काम भयो । तर, यस वर्ष निकै कठिन पनि सावित भयो । किनकि, यही वर्ष गुरुलाई प्रशासनले भित्रभित्रै रुपमा नराम्रो सोचेर खोज्न थालेको थियो । र, प्रहरीहरु प्रायः गुरुलाई खोज्न हिँडिरहन्थे ।

वि.सं. २०३६ मा गुरुआश्रमको माङहिममा अङसीमाङको २५औं जन्मोत्सव मनाई माङगेन्ना कार्यक्रमको औपचारिक शुरुवात भयो । पछि यो माङगेन्ना कार्यक्रमलाई भालुटारहुँदै गुरुद्वारै किनिएको मान्द्रे डाँडामा किरात धर्मावलम्बीहरुको केन्द्रीय माङहिम बनाएर त्यतै गर्न थालियो । साथै सो डाँडाको नामसमेत परिवर्तन गरी माङसेबुङ राखिदिनु भयो । जसको अर्थ हुन्छ माङ माने ईश्वर, से माने पवित्र र बुङ माने स्थान अर्थात् ईश्वरको पवित्र स्थल भन्ने अर्थमा नामाकरण गर्नु भएको नाम नै सर्वत्र प्रचलित हुनपुग्यो ।

यसै वर्ष माघ ७ गते पान्थरको सदरमुकाम फिदिममा किरात धर्म तथा साहित्य उत्थान संघ गुरुले दर्ता गराउनु भयो र मुहिगुम अङसीमाङले पछि यो धर्म तिरो तिरेर भए पनि चलाउन नछोड्नु है भन्ने कुराको पुष्टि हुन पुग्यो ।

वि.सं. २०४२ देखि गुरुकै पहलमा किरात लिपिमा छाप्ने प्रेस नेपालमै पहिलो पटक कलकत्ताबाट ल्याइयो । यस बीचमा यस प्रेसले गर्दा धेरै अप्ठयारा परिस्थितिको सामनासमेत गर्नुप¥यो, साथै केही कार्यकर्ताहरु पैसाको विवादमा समेत मुछिए । यही प्रेसको कारण अङसीमाङ कलकत्ता पनि जानुभयो । अन्ततः वि.सं. २०४७ फागुन २ गते अधिकारिक रुपमा किरात प्रिन्टिङ प्रेसको उद्घाटन भयो । र, वि.सं. २०४८ देखि छाप्ने कार्यसमेत शुरु भयो ।

समाजलाई सही मार्ग निर्देश गर्दै, ज्ञान गुणका कुरा गर्दै हिँड्दा पनि मुहिगुम अङसीमाङ फाल्गुनन्दलाई झैं लिम्बुवानको राजा इत्यादि आरोप लाग्यो । प्रहरीहरु गिरफ्तार गर्न आइरहन्थे, भागिरहनु पर्ने, कुनै पनि समय ज्यान जान सक्थ्यो । यस्तैमा वि.सं. २०४९ साउनताका गुरु मार्नेलाई तीन लाख रुपैयाँ इनाम दिने भन्ने हल्ला सरकारबाट गोप्य रुपमा चलाइएको भन्ने हल्ला लिम्बुवानमा सर्वत्र चल्यो । यही वर्ष गुरुलाई महमाई पलाँसेको मुद्दा समेत आइलाग्यो ।

किरात धर्म तथा साहित्य उत्थान संघ दर्ता भएदेखि गुरु अध्यक्ष हुनु भएको थियो । पछि विविध कठिनाइका कारण वि.सं. २०५१ चैत २९ देखि वि.सं. २०५२ बैशाक ३ गतेसम्म चलेको संघको तेस्रो महाधिवेशनमा डिल्ली चाम्लिङलाई अध्यक्ष बनाउनु भयो । यसरी १५ वर्षसम्म संघको अध्यक्ष समेत सम्हाल्नु भयो । तर, त्यो समिति सफल हुन सकेन । सोही कारण संघको आजीवन सदस्यहरुबाट गुरुकैमा बिन्ती चढाएकोले वि.सं. २०५५ मंसिर २२ गते विशेष अघिवेशन माङसेबुङमा भयो । जसले पदावधि पूरा गर्न अर्को समिति चयन ग¥यो । र, समितिकालाई सर्वप्रथम धार्मिक शपथ पुस १५ गते गुरुद्वारै दिलाइयो ।

यसबीच बाँझो–८ र ९ मा खानेपानीको लागि शसक्त रुपमा लागि पर्नुभयो । त्यसका साथै गाउँमा विद्यालय नभएकोले हाल भालुटारमा भएको सरस्वती माध्यमिक विद्यालयलाई स्थापित गराउन विषेश पहल गर्नुभयो ।

वि.सं. २०५२ सालमा अङसीमाङकै सोचअनुसार किरात चोःलुङ गुरुमाङगेन्ना सेवा इलाममा दर्ता गरियो । जुन पछि किरातीकरण हुने क्रममा किरात चोःलुङ अङसीमाङगेन्ना सेवा हुन पुग्यो ।

अङसीमाङ मानव जगत, किरात समाजको साथै आफ्नै वंशजको लागि पनि लागि पर्नुभयो । लिङ्देन वंशको विभिन्न कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सरिक हुनुभयो । यसै क्रममा वि.सं. २०५६ माघमा लिङ्देन कल्याण कोषको दोस्रो महाधिवेशन उद्घाटन गर्न पान्थरको अमरपुर जानुभयो ।

वि.सं. २०२७ सालमा चुक्चिनाम्बा माङहिमदेखि प्रत्येक वर्ष मंसिर १९ र माघ ६ गते नियमित रुपमा धर्मोपदेश, देववाणी दिंदै आउनु हुने वहाँले वि.सं. २०४९ माघ ३ र ४ गते भालुटारमा तथा वि.सं. २०५६ चैत ७ र ८ माङसेबुङमा विश्व ब्रम्हाण्डबारे भविष्यवाणी समेत गर्नुभयो ।

वहाँको जीवनको महत्वपूर्ण कार्य

वि.सं. २०५७ सालमा मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको ११६औं जन्मजयन्ती विश्व शान्ति र मानव एकता दिवसको रुपमा मनाउँदै किरात धर्मको प्रथम अन्तर्रा्ष्ट्रिय महासम्मेलन काठमाण्डौमा सम्पन्न भयो ।

मुहिगुम अङसीमाङ फाल्गुनन्दको अपूरो कार्यलाई पूरा गर्ने प्रमुख अभिभारा आफूमा रहेको उद्घोष गर्नुहुने अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ ले वि.सं. २०६१ कात्तिक २५ गते मुहिगुम अङसीमाङको भाकललाई पूरा गर्नुभयो । नौमती बाजागाजासहित नौवटा बाछी दान गर्ने भाकल मुहिगुम अङसीमाङले पूरा गर्न नपाई वहाँको देहान्त भएको थियो । सोही अवसरमा मुहिगुम अङसीमाङकालीन सातवटै माङहिम (चुक्चिनाम्बा, जितपुर, लोब्रेको दुईवटा, सिलौटी, काबेली, र निगुरादेनको माङहिम) र माङसेबुङको किरात हाङसाम मुजोत्लुङ माङहिममा मुहिगुम अङसीमाङको तस्वीर अंकित तीनवटा कासको लोहोटा, तीनवटा चाँदीको दियो, मुहिगुम अङसीमाङको मन्त्र भएको ७ किलोग्रामको कासको थाल थियो । मुजोलुङलाई पनि चढाइएको थियो ।

लेखकः आत्मानन्द लिङ्देन ‘सेइङ’का पूर्व निजी सचिव हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार