किरात धर्मगुरु लिङदेनको ६६ औं जन्मोत्सवको तयारी पूरा

जन्मोत्सवमा उपप्रधानमन्त्री पोख्रेल माङसेबुङ आउँदै

  राम योङहाङ  199 पटक हेरिएको

इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६६ औं जन्मोत्सवको तयारी पूरा भएको छ । बुधबार किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा हुने जन्मोत्सवको तयारी पूरा भएको समितिका महासचिव काकीराम लावती (आन्छुमे नसान) ले जानकारी दिए ।

जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रमको तय गरिएको छ । बुधबार दिउँसो १ बजे किरात धर्मगुरु लिङदेनको ६६ औं शुभजन्मोत्सव उद्घाटन, आत्मानन्द कपको विजेतालाई पुरस्कार वितरण,सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध सांस्कृतिक कार्यक्रमको तय गरिएको छ ।

त्यस्तै १९ गते धर्मगुरु लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम तय भएको छ । यसैगरी २० गते माङगेन्ना चामल वितरणसँगै विदाई गरिने कार्यक्रम रहेको प्रचारप्रसार उपसमिति संयोजक सुमन लावतीले जानकारी दिए ।

हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने जन्मोत्सवमा यस वर्ष भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल आउने भएका छन् । धर्मगुरु लिङदेनको जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन माङसेबुङ आउन लागेका हुन् ।

माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्व राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत माङसेबुङ आइसकेका छन् ।

धुम्रपान मध्यमान निषेधित क्षेत्र

माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ र ३ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरुको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा छ ।

जन्मोत्सवमा सार्वजनिक विदा

यसैबीच किरात धर्मगुरु लिङदेनको जन्मोत्वसको बुधबार माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

गत कात्तिक २० गतेको गाउँकार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । यो निर्णयलाई किरात धर्मावलम्बीहरुले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार