सूर्योदय महोत्सवको दोस्रो दिन पर्यटकको घुँइचो, कन्याममा सुन्दर घोडा प्रतियोगीता

  नयाँ बुलन्द  86 पटक हेरिएको

इलाम : इलामको सूर्योदय नगरपालिकाका आयोजित प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ को दोस्रो दिन पर्यटकहरुको चहलपहल बढेको छ ।

आइतबार विहानैदेखि आन्तरिक तथा बाह्य पर्यटकहरुको बाक्लो घुँइचो लागेको छ । महोत्सव लागेका फिक्कल, कन्याम, पशुपतिनगर, करफोक, श्रीअन्तु र गोर्खेलगायतका स्थानमा पर्यटकहरुको घुँइचो लागेको छ । यी सबै स्थानमा फरकफरक कार्यक्रम आयोजना गरिएका छन् ।

कन्याममा रहेका घोडाहरुबीच सुन्दर घोडा प्रतियोगिता हुँदैछ । घोडा ब्यवसाय र घोडचढीलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले सुन्दर घोडा बिच प्रतियोगीता हुँदैछ । कन्याममा रहेका घोडा ब्यवसायीलाई थप उत्साहि बनाउनका लागि सुन्दर घोडा प्रतियोगीता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

कन्याममा बिगत लामो समयदेखि स्थानीयले ब्यवसायिक रुपमा घोडचडी ब्यवसाय गर्दै आएका छन । स्वदेशी तथा बिदेशी पर्यटकले कन्याममा चढ्ने घोडालाई थप सफा सुगर बनाउनका लागि र पर्यटकलाई आर्कषित गर्न सुन्दर घोडा प्रतियोगिता आयोजना गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।

भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले शनिबारदेखि पाँच दिने प्रथम सूर्योदय नगर महोत्सव आयोजना भइरहेको छ श्र । शनिबार बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्तुडाँडामा सूर्योदयको दृश्यावलोकनसँगै सूर्यपूजा गरि गरी दिउँसो पञ्चकन्याको करफोक विद्या मन्दिरमा औपचारिक रुपमा उद्घाटन गरेका थिए । पाँच लाख पर्यटकको आवागमन गराउने गरी कन्याम, अन्तु, गोर्खे, फिक्कल, करफोक लगायतका स्थानमा महोत्सव आयोजना गरिएको छ ।

महोत्सवभरी यस्तो कार्यक्रम

परम्परागत बस्तुहरुको अवलोकन पाँचै दिन हुनेछ । अन्तु क्षेत्रमा पाँचै दिन फुड स्टलहरु सञ्चालन गरिने छ भने पर्यटकलाई आकर्षण गर्नका लागि अन्तुपोखरीमा फिसिङ गराउन कार्यक्रम राखिएको छ । अन्तु पोखरीमा बोटिङ गर्न पाइने छ । महोत्सव अवधिभर लेप्चा संग्रालयको अवलोकन गराउने कार्यक्रम छ । संग्रालय यस अघि बन्द थियो । १५ गते देवघाटमा कविता प्रतियोगीता, १६ गते बृहत सास्कृतिक कार्यक्रम, १७ गते शान्ति बजारमा खेलकुद कार्यक्रम, सोही दिन लोपोन्मुख लेप्चा जातिको जुठी प्रवद्र्धन कार्यक्रम तय गरिएको छ । राष्ट्रिय अपाङता दिवसको अवसर पारेर १७ गते अपाङता भएका व्यक्तिहरुका लागि विभिन्न खेल प्रतियोगीता आयोजना गरिएको छ ।

पशुपतिनगर विभिन्न जातिय परिकारहरुको प्रदर्शनी सहितको फुडस्टल महोत्सव अवधिभर सञ्चालन हुनेछ । तेस्रो देशको सामान पाइने सीमावति बजार पशुपतिनगरमा विषेश छुटमा सामान विक्री गर्न सस्तो बजार कार्यक्रम सञ्चालन गरिनेछ । बृहत साँस्कृतिक कार्यक्रम, आँखा शिविर लगायतका कार्यक्रम पशुपतिनगरमा हुनेछन् ।

गोर्खेमा पर्यटकहरुलाई लोपान्मुख जनवार रेडपाण्डा अवलोकनको लागि रेडपाण्डा ट्रेल कार्यक्रम राखिएको छ । गोर्खेको थुम्की क्षेत्रको सामुदायिक वनमा रेडपाण्डा पाइने भएकाले तीन रात बास सहित चार दिने प्याकेज बनाइएको सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए । विभिन्न चारवटा बाटो भएर रेडपाण्डा पाइने क्षेत्रमा पुग्न सकिनेछ । सोही प्याकेजमा तीन तले झरना, नेपालकै दोस्रो हाइड्रोपावर, करिप्पाक ध्यान स्थल समेतको अवलोकन गराउने कार्यक्रम राखिएको छ ।

कन्याममा बौद्य परम्पराबाट गुम्बा पुजा, हरेक दिन हाइकिङ, प्रत्येक दिन डम्फँ साँझ, बृहत साँस्कृतिक कार्यक्रम, टि टेष्टिङ तथा लघु उद्यम प्रदर्शनी रक्तदान लगायतका कार्यक्रम तय गरिएको छ । फिक्कलमा प्रत्येक दिन नाटक तथा फिल्म प्रदर्शनी, अन्तर विद्यालय साँस्कृतिक कार्यक्रम राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार