युट्युबका आतंकवादीहरुः २१ र ६७ मा के छ?

  अन्वेश थुलुङ राई  401 पटक हेरिएको

अन्वेश थुलुङ राई

कहिलेकाँही म समाजको कुरा बुझ्दिन । बहुतै बुिझ्दन । आजकल, एक न्युज भाइरल भइरहेको छ । ‘६७ वर्षे वृद्धाले गरे २१ वर्षे युवतीसँग विवाह’ । सुरुवातमा मैले उतिसारो ध्यान दिइन । नाम समते जान्न इच्छा उतिसारो लागेन । इलामतिरको हो भन्ने सम्म जानकारी भयो, केहि ब्साथीहरुको पोष्टबाट । तर फेरी स्क्रोल गर्दै जाँदा आर्को न्युज देखियो जसलाई शेयर गर्ने पेजले लेखेको थियो । हजुरबुबा उमेरसँग बिहे गरेकी युवती भन्छिन् ‘‘यौन सन्तुष्टी १००% पाको छु ।’’ जसको शेयर राम्रै भएको थियो । सायद भ्युज पनि राम्रै थियो होला । तर यतिमा मलाई सोध्न मन लागेको कुरा न्युज बनाउने र शेयर गर्ने मानिसहरुको के हो मानसिकता ? आखिर उनलाई किन यस्तो प्रश्न गरियो ? फेरी त्यहि समाचारमामुनि कमेन्टहरु देख्छु । कतिले पत्रकारिताको अर्थ खोजिरहेका थिए । कतिले उनीहरुको मानिस बनेर बाँच्न पाउने कुरालाई पनि राखिरहेका थिए । जेहोस् पत्रकारिता पेशाको नैतिकताको कुरा आइरहेको थियो । तर अधिकांश फेसबुक युजरहरु कि त त्यसलाई मजाकको रुपबाट हाँस्ने रियाक्ट गरिरहेका थिए, अनि केटालाई ‘भाग्यमानी’ र केटीलाई सम्पत्तिको लागि मरिमेट्ने ‘गोल्ड डिगर’को रुपबाट चित्रित गरिरहेका थिए ।

अनरिपोर्टेड वल्र्ड नामक युट्युब च्यानलमा एक डकुमेन्ट्री थियो । ‘सेलिङ्ग सेक्स’ जहाँ डोमनिकन रिपब्लिकका उमेर नपुगेका किशोरीहरु यौन व्यवसायीको रुपबाट संलग्न थिए । एक १७ वर्ष यौन व्यवसायी आफ्नो ग्राहकको बारेमा कुरा गर्दै गर्दा एक स्वीस ग्राहकको बारेमा कुरा गर्छिन् । जसले उनलाई उनको आर्थिक संकटको बेला सहयोग गरेको हुन्छ । उनले बताउँदै जाँदा उक्त वृद्धको उमेर ७० कटिसकेको बताउँछिन् । देशको राजनैतिक अस्थिरताले निम्ताएको सामाजिक आर्थिक असमानताको कारण धेरै परिवार गरिब रहेको हुँदा उनीहरुसँग विकल्प नरहेको सुनाउँछिन् । डकुमेन्ट्री यहि कुरालाई आधार राखेर बनाइएको छ ।

यी दुइ कथाको मेल गराउने हो भने हामीले महशुष गर्ने एउटा कुरा यो पनि हुन आउँछ । हाम्रो समाज ती २१ वर्षे महिलालाई कोहि ६७ वर्षे पुरुषको वैधानिक श्रीमतीको रुपबाट हेर्न चाहँदैन । सायद यौन व्यवसायी हुँदा उसलाई ‘गोल्ड डिगर’को पनि आक्षेप लाउँथेनन् । खोज्दै जाँदा उनको एक अन्तवार्तामा उनले भनेको कुरालाई महशुष गर्न खोज्छु, ‘म अपाङ्ग छु, मेरो एउटा हात छैन । यस्तोमा मलाई कसले विवाह गर्छ । वहाँले मलाई आफ्नो सम्पत्ति दिन्छु भन्नु भयो । त्यसैले मैले वहाँसँग विवाह गरेँ ।’ पुरुषहरुले नेतृत्व गरिरहेको पितृसतात्मक समाज उसलाई ‘यौनकर्मी’को रुपबाट हेर्न आतुर छ, र त सायद ‘तपाईँलाई कतिको यौन सन्तुष्टी’ मिल्छ भनेर सोध्छ । नत्र समाज किन थम्बनेलमा राख्दैन उनको ‘वास्तविक कथा’ वा ‘बाध्यताको कथा’ ?

हामीले यहि घटनालाई हेर्ने हो .भने एक ६७ वर्षे मानिसले २१ वर्षे युवतीलाई कानुनी रुपबाट श्रीमती बनाउने अधिकार पनि राख्छ किनकी उनी नाबालिक पनि हैनन् । उमेरको हिसाबले केहि अनमेल जोडी हो । तर उमेर र कानुनले दिने अधिकारले उनलाई आफ्नो व्यक्तिगत जिन्दगीका निर्णय लिने मौलिक अधिकार छ । साथै संविधानतः ती युवतीले पाउने अधिकारहरु एक यौनकर्मीले पाउन सक्दैन । यदि ती जोडी सम्पन्न भएको भए । कोहि युट्युबेहरुले यस्तो प्रश्न सोध्ने आँट पनि गर्थेनन् होला । ती युवती सिर्फ पैसासँग मात्र जोडिन्नन् । उनी आफ्नै र ती वृद्ध मानिसको जीवनसँग पनि जोडिन्छिन् । उनीहरु आफ्नो व्यक्तिगत जिन्दगीलाई युट्युबरहरुको पसल बनाउने छुट कसले दियो ? के यो देशमा एक मानिसले मानिस बन्न नपाउने ?

पैसाको पछाडी को दौडिरहेको छ, त्यो प्रष्ट छ । युट्युबमा यहि विषयलाई भाइरल बनाउन उद्धतहरु वास्तवमा ‘गोल्ड डिगर’ हुन् । कसैको जिन्दगीसँग सरोकार नराख्नेहरु उनीहरुको जिन्दगीलाई ‘वस्तुकरण’ गरेर भ्युज बढाइरहेका छन्÷खोजिरहेका छन् । भ्युजको एउटै कारण छ । पैसा । तर कुनै रेडलाइट एरियामा गएर के उनीहरुको मानसिकता तरुनी केटीहरु खोजेर हिँड्दैनन् ? उनीहरुको मानसिकतामै ‘बुढोले पायो’ भन्नुको अर्थ के हो ? उसले कलिलो उमेरको श्रीमती पाइन् भनेर हाँस्दै गर्दा के कल्पनाले हाँसिन्छ ? कमसेकम ६७ वर्षे मानिसले उसलाई श्रीमती बनाउन चाहन्छ । वैधानिक रुपबाट अधिकारहरु दिन चाहन्छ । शरिर उपभोग गर्ने उद्देश्य मात्रले वेश्या बनाउने उद्देश्य छैन । घरमा श्रीमती हुँदा हुँदै रेड लाइट एरियामा तरुनी खोज्दै हिँड्दैन । हामी उपभोक्तावादलाई यति पर लगेर ‘यौन सन्तुष्टी कतिको मिल्छ’ भनेर सोध्न सक्दैनौँ ।

याम चौहान फेसबुक पोष्टमा लेख्छन्, ‘‘सोझोपनको फाइदा उठाउँदै निर्दोष जोडीलाई अन्टसन्ट प्रश्न गर्ने अनि भाइरल बनाएर डलर खेती गर्ने युटुप्पेहरुलाई कारबाहि गर्ने कोहि छैन कि क्या हो ? तरिका हो..’’ म यहि कुरालाई समर्थन गर्छु । पैसा कमाउने नाममा हामी कसैको जिन्दगीलाई मजाक बनाएर हाँस्न सक्दैनौँ । यसमा नेपाल सरकारले के गर्न सक्छ ? युट्युबरहरुको कारणले मानसिक रुपबाट धेरैजना विक्षिप्त छिन् । पुर्व मिस नेपाल श्रृङ्खला खतिवडा हुन् या सन्दिप लामिछाने सबै युट्युबहरुका कारणले व्यक्तिगत जिन्दगीमा मानसिक रुपबाट आघात् पुगेको कुरा मिडियामा शेयर भइरहेको छ । यसमा नेपाल सरकार किन केहि गर्दैन ? समाज किन फेरी यस्ता कुराहरुको बहिस्कार गर्दैन ? युट्युबको भ्युज र डलरको नाममा एकातिर मानवता अनि संविधानको उल्लंघन गरिरहेको यो व्यापारीहरुलाई किन आतंकवादी घोषणा गर्दैन समाजले ? पत्रकारितालाई नै फोहोर बनाइरहेको स्थितिमा किन कोहि पत्रकार यसको विरोध आफ्नो सम्पादकियमा गर्दैन ? किन कोहि सरोकारवालाहरु यो प्रवृतिको विरोधतिर ध्यान आकर्षित गर्दैनन् ? अबको लागि हामीले जोगाउन पर्ने मानवता भर्चुवल दुनियाँको संसारमा छ । सजिलोगरि पैसा कमाउने खोज्ने तपाई गोल्ड डिगर युट्युबेहरु सेक्रेड गेम्सको एउटा डाइलग छ ‘दिमागबाट सोच्नुस्, लिङ्गबाट हैन ।’

©Anwesh Rai Thulung 2076

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार