आत्मानन्द कप : अर्जुनधारा झापा विजयी (भिडियो सहित)

  राम योङहाङ  202 पटक हेरिएको

बलका लागि संघर्ष गर्दै सुनसरी (रातो) र झापाका खेलाडी

इलाम : एएससी अर्जुनधारा झापा इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको तेश्रो क्वार्टरमा सडन डेथमा राजाबास युथ क्लब सुनसरीलाई पाखा लगाउँदै अर्जुनधारा झापा सेमीफाइनल प्रवेश गरेको हो । सडन डेथमा झापाका गोलरक्षक संजय गुरुङले उत्कृष्ठ बचाउ गर्दै टिमलाई जित दिलाएका थिए । सुनसरीका गोलरक्षक पूर्ण चेम्जोङको प्रहारलाई झापाका गोलरक्षक गुरुङले उत्कृष्ठ बचाउ गरेका थिए ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा विजेता निर्धारण गर्नुपरको थियो । निर्धारित समयमा दुवै टिमले पाएको दर्जनौं अवसरलाई सदुपयोग गर्न नसक्दा सडन डेथसम्म धकेलिएको थियो । झापाको भेट अब पहिलो सेमीफाइनलमा मानेभञ्ज्याङ स्पोटिङ कलब दार्जिलिङ भारतसँग पक्का भएको छ ।

खेलको म्यान आफ दी म्याच विजेता झापाका गोलरक्षक संजय गुरुङ घोषित भए ।

प्रतियोगिता अन्तरगत शनिबार अन्तिम क्वार्टरमा मिरमिरे याक्थुङ क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाबीच खेल हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता थियो । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

सुनसरी र झापाको खेलकाे भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार