
माङसेबुङ (इलाम) : इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ ।
गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।
गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष इदिङ्गोले बताए । यो निर्णयलाई किरात धर्मावलम्बीहरूले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका छन् ।
किरात धर्मगुरु लिङदेनले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप सार्वजनिक विदा दिइएको अध्यक्ष इदिङ्गोले बताए ।
धर्मगुरु लिङदेनको जन्मोत्सव १८ मंसिरमा विभिन्न मुलुकका किरात धर्मावलम्बीहरुको सहभागितामा धर्मगुरु जन्मोत्सव मनादैंछ । यस वर्ष लिङदेनको जन्मोत्सवको उद्घाटन र शुभकामना दिन उपप्रधान तथा रक्षमन्त्री इश्वर पोखरेल इलामको माङसेबुङ आउँदैछन् ।
धूम्रपान मध्यपान निशेधित क्षेत्र
माङसेबुङ क्षेत्र धूमपान मद्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा–५ र ३ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरूको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमांस, धूमपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लील कार्य निषेधित क्षेत्र घोषणा भएको छ ।






















































