बुधबारदेखि आत्मानन्द कप : उद्घाटनमा माङसेबुङ र दार्जिलिङ भिड्दै

इलाम : बुधबारदेखि इलामको माङसेबुङमा १२ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता सुरु हुदैछ ।

उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका खेलकुद विकास समिती र मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुदैछ । माङसेबुङ ५ स्थित माङसेबुङ खेलमैदानमा दिउँसो २ बजेदेखि खेल हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल २७ मंसिरमा हुनेछ ।
विगतका वर्षझैं यसवर्ष पनि धर्मगुरु लिङदेनको जन्मोत्सवमा फुटबल सहितविभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजक आत्मा–पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

आत्मानन्द कपमा फूटबलसहित, म्याराथुन, धनुषकाँण, छेलो, स्लो मोटरसाइकल दौड खेल संचालन हुनेछन ।

फूटबलतर्फ पूर्वका इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहनेछ । अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, भाङबारी स्पोर्टीङ युथ क्लब दमक झापा, मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारत, एएससी अर्जनधारा झापा, राजावास युथ क्लब सुनसरी, इलाम नगर खेलकुद प्रतिष्ठान इलाम, मिरमिरे याक्थुङ युवा क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाको सहभागिता छ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी म्याराथुनतर्फ प्रथमले नगद १० हजार १ सय ६५, द्वितीयले ८ हजार १ सय ६५ रुपैयाँ पाउनेछ । धनुषकाँड, छेलो, स्लो मोटरसाइकल दौडका विजेता र उपविजेतालाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार