सूर्योदय महोत्सवको तयारी तीब्र, ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

इलाम : इलामको सूर्योदय नगरपालिकामा मंसिर १४ देखि १८ गतेसम्म आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’को तयारी तीब्र पारिएको छ । पहिलोपटक हुन लागेको महोत्सवको ‍तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

इलामको प्रमुख पर्यटकीय गन्तव्य सूर्योदय नगरपालिकाले संघीय सरकाले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन र नगरभित्र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । महोत्सवमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।

इलामको सोही निर्वाचन क्षेत्रका सांसद समेत रहेका खनालले इलाम नेपालकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउँदै पर्यटन महोत्सवले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल पार्न पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नगरमा इलामका कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्केजस्ता पर्यटकीय स्थान रहेकाले पूर्वको पर्यटनमा यो नगरपालिकाको छुट्टै योगदान रहेको छ ।

यो नगर प्रदेश सरकारले घोषणा गरेको प्रदेश १ को एकमात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको १ सय प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने नगर हो । अर्थोेडक्स चिया, अदुवा, अलैंची, आलु, अम्लिसो, अकबरे खुसार्नी र ओलन ९दूध० गरी सात ‘अ’ को नगरका रूपमा यो नगर परिचित भएको मेयर राईले जानकारी गराए ।

महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर लगायतका स्थानमा मौलिक परिकारसहितको फुड फेस्टिबल, सांस्कृतिक कार्यक्रम, चंगा चेट, घोडाको सौन्दर्य प्रतियोगिता, एतिहासिक गोर्दे मेला, फोटो प्रर्दशनीजस्ता कार्यक्रम आयोजना गरिने सूर्योदय नगरपालिका–९ का वडा अध्यक्ष देवेन्द्र शर्मा आचार्यले जानकारी दिए ।

महोत्सवको प्रथम दिन उदाउँदो सूर्यलाई पूजा गर्दै उदघाट्न गरिने छ । टी टेस्टिङ, डम्फू नाँच, लाप्चा दरबार अवलोकन, रेड पाण्डा ट्रेल, देउराली हाईक, साइकल दौडलगायतका कार्यक्रमहरु तय भएको पनि शर्माले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार