पाँचथरको फाल्गुनन्द गाउँपालिको अध्यक्षका लागि को-को छन चुनावी मैदानमा ?

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिको अध्यक्ष पदसँगै फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ।

फाल्गुनन्दका अध्यक्षमा अमरकुमार नेम्बाङ र फिदिम–१ को वडाध्यक्षमा हर्कप्रसाद मोक्तान तामाङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। हिलिहाङ–७ को वडाध्यक्षमा तत्कालीन नेकपा एमालेबाट तीर्थराज तिम्सिना निर्वाचित भएका थिए। यी तीनै जनाको निधन भएपछि  रिक्त पदमा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचलाई मुख्यतः दलीय प्रतिष्ठाको लडाइको रुपमा हेरिएको छ। उपनिर्वाचन हुने स्थानमध्ये विशेषतः फाल्गुनन्द गाउँपालिकामा दलहरुको ध्यान केन्द्रित छ। किनकि, गाउँपालिकाको अध्यक्ष पदमै निर्वाचन हुन लागेको छ।

यस अघि फाल्गुनन्दमा सहज जित कांग्रेसले निकालेको थियो । २०७४ सालमा भएको निर्वाचनमा एक्लाएक्लै लडेको तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ। अर्कोतर्फ तुलनात्मक रुपमा हालका उम्मेदवार बृजहाङ आङ्देम्बे तत्कालीन गाउँपालिका अध्यक्ष स्व. अमरकुमार नेम्बाङ जतिकै राजनीतिक र सामाजिक उचाइ भएका नेता हुन । आङ्देम्बे कलङ्क नलागेका नेताका रुपमा चिनिन्छन्। उनले यसअघिका अध्यक्ष नेम्बाङभन्दा अधिक मत ल्याउने दावी गरेका छन्।

नेकपाका उम्मेदवार वीरबहादुर कुरुम्बाङ यसअघिको निर्वाचनका उम्मेदवार हुन ।  यसअघि एक्लाएक्लै चुनावमा लडेको एमाले र माओवादी केन्द्र अहिले भने एकीकृत भएका  छन्।  उनले अघिल्लो निर्वाचनमा ३३६७ मत प्राप्त गरेका थिए । विजयी अमरकुमार नेम्बाङले ४१६३ प्राप्त गरेका थिए।

यस गाउँपालिका समाजवादी पार्टी नेपालको जिल्लाको अन्य स्थानीय तहभन्दा राम्रो पकड भएको स्थानीय तह हो। अघिल्लो चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामकुमार नेम्बाङ ‘तुम्याहाङ’ ले ४९० मत प्राप्त गरेका थिए। हालै नयाँ शक्ति पनि तत्कालीन फोरमसँग एकता प्रक्रियामा आएकोले मत अझ बढ्न सक्ने आँकलन गरिएको छ। उक्त पार्टीबाट विमला नेम्बाङ आङ्देम्बे चुनावी मैदानमा छिन्। यससँगै तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार जितेन चेम्जोङले पनि ३११ मत प्राप्त गरेका थिए। उनी संघीय लिम्बुवान मञ्चबाट उम्मेदवार बनेका छन्। राप्रपा नेपाल र राप्रपा संयुक्तका उम्मेदवार कमलबहादुर चेम्जोङले पनि २३४ मत प्राप्त गरेका थिए। यस पटक राप्रपा नेपालले ससुहाङ चेम्जोङ ‘सुजन’, राष्ट्रिय जनमुक्ति पार्टीबाट इच्छाबहादुर चेम्जोङ, राप्रपा संयुक्तबाट मोतीप्रसाद लिम्बू र मंगोल नेसनल अर्गनाइजेसनबाट उदय सुनुवारले पनि अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्।

प्रमुख मुद्दा मातृभाषा शिक्षा

फाल्गुनन्दमा अध्यक्ष स्व. अमरकुमार नेम्बाङले मातृभाषामा शिक्षालाई कार्यान्वयनको चरणमा पुर्‍याएका थिए। अहिले मातृभाषामा शिक्षा नै कांग्रेस लगायत अन्य दलको चुनावी एजेण्डा बनेको छ।

सिद्धेश्वरी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रकुमार नेम्बाङले मातृभाषामा शिक्षाका लागि शिक्षक नियुक्ति गर्दाताका सम्पूर्ण प्रक्रिया नै रद्द गरी पाउँ भनी उच्च अदालत विराटनगर, इलाम इजलासमा रिट दिएको र अदालतले स्थगनको आदेश दिएको विषयलाई दलहरुले चुनावी मुद्दा बनाएका छन्।

यता नेकपाले आफू मातृभाषामा शिक्षाको विरोधी नभएको दाबी गर्दै आएको छ। मातृभाषा शिक्षक नियुक्तिलाई लिएर न्यायलय पुगेको विषय नेकपासँग नजोड्न आग्रह गरेको छ। मातृभाषा शिक्षा कार्यान्वयनलाई कानुनी प्रक्रिया पुर्‍याएर गरौं भन्ने नेकपाकोे माग रहेको प्रष्टीकरण दिँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार