माइजोगमाई गाउँपालिकाले दियो सोमबार सार्वजनिक विदा

  नरेन इलामेली
0 Shares


माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले आगामी सोमबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचतुर्दशी मेलालाई मध्यनजर गर्दै आगामी मंसिर ९ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गत कार्तिक २५ गतेको गाउँकार्यपालिकाको बैठकले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले जानकारी दिए ।

हरेक बर्षको बालाचतुर्दशीमा माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा मेला लाग्ने गरेको छ । वि. स २०११ मा बालागुरुले नगाँबजारको स्थापना गरेको र सोही बर्ष देखि हरेक बर्षको बालाचतुर्दशीमा विशेष पूजापाठका साग मेला लाग्न थालेको किंवदन्ति पाइनछ । बालागुरुले नयाँबजारमा बस्ती विस्तार गर्नुका साथै शिक्षाको सुरुवात गरेको र साविकको गोर्खे र नयाँबजार गाविसलाई जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरेको स्थानिय जानकारहरु बताउँछन् ।

नयाँबजारमा बालागुरुको सम्झनामा बालागुरु शिवालय मन्दिर र बालागुरुको प्रतिमा निर्माण गरिएको छ । हरेक बर्षको बालाचतुर्दशीमा उक्त मन्दिरमा भक्तजनहरुको घँइचो लाग्ने गर्दछ भने धान, मकै गहँु, चना, तिल र कागुनो मिसाएर सतबिज छर्ने गरिन्छ । यसरी सतबिज छर्दा दिवंगत भएका आफन्तको आत्माले शान्ति पाउने र पापबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

नयाँबजारमा यस बर्ष पनि बालाचतुर्दशीमा मेलाको आयोजना गरिएको छ । आगामी ६ मंसिर देखि २१ मंसिर सम्म १५ दिने मेलाको आयोजना गरिएको मेला व्यव्स्थापन समितिका सचिव देवि अधिकारीले जानकारी दिए । धार्मिक आस्थाका साथै माइजोगमाई क्षेत्र भित्र रहेका धार्मिक, साँस्कृतिक तथा पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसार गरी भ्रमण बर्ष २०२० लाई समेत सहयोग गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको सचिव अधिकारीको भनाई छ। माइजोगमाई गाउँपालिकामा उत्तरे पोखरी, मलु पोखरी, सात तले झरना, वालागरु शिवालय धाम, पलयुल साङ्गेछोलिङ्ग गुम्वा, सूर्योदयको दृशयावलोकन गर्न सकिने थुम्के डाँडा, जौबारी जस्ता धार्मिक तथा पर्यटकिय गन्तव्यहरु रहेका छन् ।

यस बर्ष पनि बालाचतुर्दशी मेलामा विगतका बर्षमा रमाइलो मिनी मेला, विभिन्न खेलहरु, विभिन्न जातजातिका साँस्कृतिक झाँकी तथा नृत्य, साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानिय कालाकारहरुको प्रस्तुति रहने मेला व्यवस्थापन समितिका सचिव देवि अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार