इलामको जमुनामा अन्तरराष्ट्रिय स्तरको रङ्गशाला बन्‍ने

  लोकेन थेवे
21 Shares

इलाम : इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा अन्तरास्ट्रिय स्तरको रंगशाला बन्ने भएको छ ।

रङ्गाशाला निर्माणका लागि पर्याप्त मात्रामा जग्गा उपलब्ध भएसँगै जिल्लामै पहिलोपटक जमुनामा रङ्गशाला निर्माण हुने पक्का भएको हो । रङ्गशाला निर्माणका लागि आवश्यक पर्ने २५ रोपनी जग्गा उपलब्ध भइसकेको छ ।

रङ्गशाला निर्माणका लागि स्थानीय समाजसेवी तोयानाथ भट्टराईले ६ रोपनी चारआनी जग्गा निशुल्क उपलब्ध गराएका छन् । बाँकी १९ रोपनी १२ आना जग्गा उचित मुल्यमा चन्द्रपाल थेवे ढापपोखरी नजिकै उपलब्ध हुने भएको छ ।

सो ‍जग्गालाई वडा कार्यालयको माताहतमा केही दिनमा नै ल्याउने वडा अध्यक्ष जितबहादुर साँवाले बताए । कागजी प्रक्रिया मिलाउने काम भइरहेको वडाअध्यक्ष साँवाले बताए ।

अन्तरराष्ट्रिय मान्यता अनुसार १६ रोपनी क्षेत्रफलमा १ सय ५ मिटर लम्बाई र ६५ मिटर चौडाई भएको खेलमैदान, ६ रोपनी क्षेत्रफलमा प्लेबक्स र फोर्थ अफिसियल तथा बाँकी क्षेत्रमा प्याराफिट रहनेछ ।

जमुना आफैंमा फूटबलको ब्रान्ड भएको क्षेत्र हो । त्यस क्षेत्रमा विगत ५ वर्षदेखि उचित ठाउँमा खेलमैदानको खोजी भइरहेको थियो ।

कम्तीमा १ करोडको लागतमा २ वर्षभित्र रङ्गशाला निर्माण गरिसक्ने स्थानीयको लक्ष्य छ ।  रङ्गशाला निर्माणपश्चात अन्तरास्ट्रिय कागे गोल्डकप प्रतियोगिता आयोजना गर्ने लक्ष्य उनीहरुको छ ।

विगत ३४ वर्षदेखि स्थानीय भानुदय आधारभूत विद्यालयको खेलमैदानमा संचालन हुँदै आएको कागे गोल्ड्कप केही वर्षपछि व्यवस्थति रङ्गशालामा ‍संचालन हुने भएपछि सथानीयबासी हर्षित भएकाछन् ।

फूटबलको माध्यमबाट विगत ७ वर्षदेखि पर्यटनसँगै खेलकुद नामले जमुनाको चिनारी दिदैं आएको जमुनाका युवाहरु थप उचाई दिन यो रंगशालामा निर्माणमा लाग्ने भएका छन् ।

देशविदेशमा रहेको जमुनाका युवाहरुलाई सहयोगको अपिल गर्ने, गाउँपालिका र प्रदेस सरकारलाई सहयोग मागरे रङ्गशाला निर्माण गरिने पूर्व खेलाडी उमेश गुरुङ बताउँछन् । अपुग रकम आफ्नो थोरै अंश बेचेरै भएपनि रंगशाला निर्माणलाई पूर्णता दिने उनको योजना छ ।

यो वर्ष प्रदेश सरकारबाट कम्तीमा २० लाख प्राप्त हुने आश्वासन पाएको बताए ।

जमुनाले फुटबलबाटै उमेर समुहमा राष्ट्रिय टिमको लागि छिरिङ गुरुङ र दर्सन गुरुङ उत्पादन गरिसकेको छ । फूटबल खेलबाटै आफ्नो गाउँ  र ठाउँ चिनाउन लागिपरेको जमुनाबासीको यो कदमलाई अरु स्थानीय तहले पनि पछ्याउने हो भने जिल्लाको फूटबल खेलको उचाइसँगै राम्रो खेलाडी उत्पादन हुनेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार