आयोजक, तुम्बेवा, आनिसाक्थिम र रानीगाउँ सेमीफाइनल प्रवेश

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा खुल्ला नकआउट पुरुष फूटबल प्रतियोगितामा आयोजक टुस्टार, तुम्बेवा, आनिसाक्थिम र रानीगाउँ सेमिफाइनल प्रवेश गरेका छन् ।

पहिलो खेलमा आयोजक टुस्टारले पिवाईसी मिक्लाजुड़लाई २-१, दोस्रो खेलमा तुम्बेवाले चोकमागुलाई २-१, तेस्रो खेलमा आनिसाक्थिमले लुम्फाबुड़लाई ३-० र अन्तिम खेलमा रानिगाउले नाम्तोक फाक्तेपलाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।

बुधबार सेमीफाइनलका खेल सञ्चालन हुनेछन् । पहिलो सेमीफाईनल टुस्टार आयोजक र आनिसाक्थिम तथा दोश्रो सेमिफाईनलमा तुम्बेवा र रानिगाउबिच खेल हुने आयोजकले जनाएको छ ।

२०७६ सालको बराह क्षेत्र (कार्तिके पूर्णिमा) मेलाको अवसरमा स्थानीय टुस्टार ग्रामीण सृजनशील क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा पूर्वका विभिन्न १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ८१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै वेस्ट प्लेयरलाई ५ हजार रुपैयाँ, हाइस्कोररलाई ३ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।

प्रतियोगिताको फाइनल २८ कात्तिकमा हुनेछ । प्रतियोगिता स्थानीय सत्यहाङमा माध्यमिक विद्यायलयको खेलमैदानमा भइरहेको सत्यहाङमा माविका प्रधानाध्यापक रामभक्त नेम्बाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार