उपनिर्वाचनलाई स्वतन्त्र र निश्पक्ष सम्पन्न गर्न सर्वदलीय छलफल

  युद्धबहादुर बोहोरा
0 Shares

 


पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष पदको लागि हुने उपनिर्वाचनलाई स्वतन्त्र र निश्पक्ष सम्पन्न गर्न सर्वदलीय/सर्वपक्षीय छलफलको निर्णय सार्वजनिक गरिएको छ।
मङ्सिर १४ हुने उपनिर्वाचनलाई निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम अन्तर्गत उम्मेदवारी मनोनयन दर्ता,निर्वाचन आचार संहिता र प्रचार प्रसार सम्बन्धमा निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्द गाउँपालिकामा सोमबार बसेको सर्वदलीय बैठकले निर्णय पारित गरेको छ।
उम्मेदवारी दर्ता गराउँन विहान १० बजे शुरु भइ अपरान्ह १ बजे सम्म आधा/आधा घन्टाको फरक समयमा दलहरुले उम्मेदवारी दर्ता गर्ने गरि समयको व्यवस्थापन मिलाइएको छ।

सर्व प्रथम नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी मनोनयन शुरु गरिने भएको छ।त्यस पछि नेपाली काँङ्ग्रेस,समाजवादी पार्टी नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र संयुक्त,राष्ट्रिय जनमुक्ति पार्टी ,संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारीको लागि अन्तिम समयमा दर्ता गर्न पाइने छ।सोहि दलहरु र सरोकारवालाको उपस्थितमा उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तस्तै,राजनीतिक दलहरुले स्वच्छ ढंगबाट आचार संहिताको अनुसरण गर्ने,उल्लेख भएको नियम अनुसार मङ्सिर ११ गते राती १२ बजे सम्म प्रचार प्रसार गर्ने, मौन अवधिको समयलाई उल्लंघन नगर्ने लगायतका निर्णयलाई पालना गर्ने प्रतिबद्धता जनाएका छन्।निर्वाचनका दिन मेची मार्ग बाहेक यस पालिका भित्रका अन्य शाखा सडकहरुमा सवारी आवतजावत बन्द रहने समेत जानकारी गराइएको थियो।

चुनावी आमसभा,प्रचार प्रसारको मिति,स्थान र समय तय गर्दा अन्य दलहरु संग समन्वय गरि अन्य दललाई हस्तक्षेप र प्रतिकुल असर नहुने गरि सौहाद्रपूर्ण ढंगबाट कार्यक्रम गर्नु पर्ने छ। प्रचलित नियम अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी गराएर मात्रै कार्यक्रम आयोजना गर्न गर्नुपर्ने निर्णय गरिएको निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ।

गाउँपालिका कार्यवाहक अध्यक्ष देवित्रा कुमारी आङ्देम्बेको प्रमुख आतिथ्यमा बसेको बैठक निर्वाचन अधिकृत नवराज दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो।

छलफलमा बोल्दै प्रमुख अतिथि आङ्देम्बेले यस पालिकाका बासिन्दा,मतदाता,सुरक्षा संयन्त्र,निर्वाचन अधिकृतको टोलि तथा राजनीतिकदललाई उपनिर्वाचन सम्पन्न गर्न सबै सहयोगको आवश्यकता रहेको बताइन्।
उनले भनिन्,”मैले नै जित्नै पर्छ भन्ने हिसाबले निर्वाचन आयोगले लागु गरेको आचारसंहिता मिचेर कार्यक्रम नगर्नुहोस्” फाल्गुनन्द गाउँपालिकाको इज्जत रहने र शुभ समाचारको संदेश फैलिने किसिमको पाइला चाल्न सबै दललाई अनुरोध गरिन्।

फाल्गुनन्द गाउँपालिकामा जम्मा १६ हजार पाँच सय ७७ जना मतदाता रहेको यस पाँलिकाको निर्वाचनमा १३ स्थलका २३ वटा मतदान केन्द्र रहेको अधिकृत दुलालले जानकारी दिए।

देश भर ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदै छ। दुई सय ४७ मतदान स्थलका पाँच सय ३७ केन्द्र छन् भने चार लाख ५४ हजार एक सय १४ मतदाताले मतदान गर्ने छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार