नेकपाप्रति समाजवादीको चुनावी प्रहार, ‘धरानमा काम नलाग्ने लौरो जिताएछौ’

धरान : समाजवादी पार्टीले नेपाल कम्युनिष्ट पार्टीको कडा आलोचना गर्दै अहिलेसम्म काम नलाग्ने लौरो जिताएको टिप्पणी गरेको छ ।

समाजवादीको धरान निर्वाचन परिचालन कमिटीका संयोजक सुबासचन्द्र राईले आइतबार घरदैलो अन्र्तगत धरानको वडा नं ११ स्थित मगलबारे चोकमा कोणसभा गर्दै नेकपाप्रति यस्तो टिप्पणी गरेका हुन् । उनले लगातार ३० वर्षसम्म कम्युनिस्टले जित्दै आएपनि लौरोले जितेकोले उपलब्धी नभएको बताए ।

अहिलेसम्म धरानले विकासमा फड्को मार्नुपर्ने भएपनि लौरो उठाएर जितेको कारणले नै केही नभएको पनि उनको भनाई थियो । तीस बर्षसम्म लगातार जित्ने कम्युनिस्टले धरानमा रहेको सरकारी कार्यालयलाई जोगाउन पनि नसकेको उनले बताए ।

कोण सभालाई सम्बोधन गर्दै बैकल्पिक केन्द्रीय सदस्य जेन्टल लावतीले विगतमा पटक पटक जितेको नेकपाले आफ्नो घोषणा पत्रअनुसार के काम गर्यो ? भन्दै प्रश्न गरेका थिए । उनले जनतालाई धोका नखान आग्रह गर्दै समाजवादीलाई जिताउन पनि आह्वान गरे । समाजवादीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले सामाजिक कार्य गर्दा जनताको चाहना बुझेर नै आफु उम्मेदवार भएकोले मत दिएर जिताउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार