राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती संसारभर मनाइदै

  ज्ञानु केदेम लिम्बू
7 Shares

माङसेबुङ : किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्ती किरात समुदाय बसोबास रहेको विभिन्न मुलुकहरुमा विविध कार्यक्रम आयोजना गरी सोमबार भव्य रुपमा मनाउने तयारी गरिएको छ ।

यसरी हरेक वर्ष कार्तिक २५ गते मनाइने महागुरुको जन्मजयन्तीको अवसरमा यस वर्ष १३५ औं जन्मजयन्ती समारोहमा महागुरुको प्रतिमा अनावरण गर्न मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन हवाई मार्ग मार्फत मोरङको मिक्लाजुङ गाउँपालिका टाँडीमा सवारी हुने भएको छ । त्यसैगरी महागुरु फाल्गुनन्दकै प्रतिमा अनावरण गर्न अङसीमाङ तथा अङसीमामाङ हवाई मार्गबाट पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ कुरुम्बाको सिक्तेम्बामा पनि माङ सवारी हुने किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका महासचिव काकीराम लाओतीले बताए ।

माङगेन्ना सेवा समितिका महासचिव लाओतीका अनुसार माङसवार हुने दुवै स्थानमा अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट महागुरुको प्रतिमा अनावरण हुने कार्यक्रम अन्तर्गत टाँडीको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई रहने छ भने, कुरुम्बा सिक्तेम्बाको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का अर्थमन्त्री इन्द्र आङबो रहने छ ।

तत्कालीन किरात समाजमा प्रचलित कुरीति कुसंस्कारलाई हटाई सभ्य र शिक्षित समाज स्थापनाको लागि महागुरुले वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको चोकमागु ३ लब्रेकुटीमा तत्कालीन १७ थुम १० लिम्बुवानका गन्यमान्य, सुब्बा, बुद्धिजीवीहरुको महाचुम्लुङ आयोजना गरी ऐतिहासिक रुपमा ७ बुँदे सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । यसरी लेखिएको मुचुल्काले समानता, अहिंसा र शान्तिको मार्गदर्शन गरेको छ ।

मुचुल्कामा छोरी चेलीको सोतरीत नखानु, छोरा छोरीमा समान व्यवहार गर्नु, जीव हत्या हिंसा नगर्नु, मासु मंस जाँड रक्सी सेवन नगर्नु, फजुल खर्च नगर्नु, मातृभाषामा शिक्षा लिनु र माङहिम निर्माण गर्नु भन्ने जीवन दर्शनहरु रहेका छन् । यसरी महागुरुको पहलमा लेखिएको मुचुल्काले किरात समाजलाई सुधार गर्न र किरात धर्म दर्शन चौतर्फी फैलिनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । महागुरुले निर्माण गर्नु भएको मुचुल्काको महिमा फैलिन्दै जानेक्रमसँगै वहाँको मार्ग दर्शन र जन्मजयन्ती पनि संसारभर फैलिन्दै गएको छ ।

वि.स. २०६६ साल मंसिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको महागुरु फाल्गुनन्दको जन्मदिनलाई किरात समुदायले पर्वको रुपमा विकसित गर्दै लगेका छन् । यस दिनलाई किरात धार्मिक संस्थाहरुले वि.स. २०७१ साल बैशाख २४ गते किरात धार्मिक चाडपर्वको रुपमा घोषणा समेत गरेका थिए । यसरी पर्वको रुपमा मनाउदै आएको जन्मजयन्ती कार्यक्रमको अवसरमा माङ सेवा आयोजना गर्ने, पारिवारीक भेटघाट हुने अवसरका रुपमा प्रत्येक घर घरमा दीपावली गरी खुशीयालीका साथ मनाउने गरेको छ । यो अवसरमा सामाजिक सञ्जाल फेसबुक, मोवाइल, सञ्चार माध्यमबाट र सभा, गोष्ठी, सम्मेलन आयोजना गरी शुभकामना आदानप्रदान गर्ने चलन बढ्दै गएको छ ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं. २, साविक इभाङ– ५, चुक्चिनाम्बा डाँडागाउँमा लिङ्देन दम्पति जगनवाज र हंसमति बेघाको साइला सुपुत्रको रुपमा वि.स. १९४२ साल कार्तिक २५ गते आइतबारका दिन जन्मन्नु भएका महागुरु ६५ वर्षको उमेरमा वि.स. २००५ साल चैत २२ गते परमधाम हुनुभएको थियो ।

जन्मजयन्ती कहाँ कहाँ मनाइन्छ ?
महागुरु फाल्गुनन्दको सत्य, शान्ति, अहिंसा र समानताको मूल मार्गदर्शन पछिल्लो समयमा विश्वमा फैलिंदै गएकोले र वहाँको दर्शन अंगिकार गर्ने समुदाय विशेषगरी किरात धर्मावलम्बीहरु विभिन्न मुलुकमा बसोबास गर्दै आएकोले वहाँको जन्मजयन्ती पनि संसारभर मनाउन थालिएको छ । यसरी किरात धर्मावलम्बीहरुको बढ्दो जनसंख्या र महागुरुको जीवन उपयोगी मार्गदर्शनले वहाँको जन्मजयन्तीको गरिमा वर्षेनी बढ्दै गएको छ ।

विगतका वर्षझै यस वर्ष पनि महागुरुको जन्मजयन्ती नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, सुनसरी, खोटाङ, संखुवासभा, भोजपुर, उदयपुर, कास्की, काठमाण्डौं, भक्तपुर, ललितपुर लगायत विभिन्न जिल्लाका सदरमुकामहरुमा भव्य मनाउने तयारी गरिएको छ । यसरीनै किरात धर्मावलम्बीहरुले स्थापना गरेको प्रत्येक माङहिमहरुमा र महागुरुको प्रतिमाहरुमा मात्र नभई घर घरमा दीपावली गरी जन्मजयन्ती मनाइने किरात धर्मावलम्बीहरुको भनाई छ ।

यसरीनै भारतको दार्जिलिङ, सिक्किम, आसाम लगायत विभिन्न प्रान्तहरुमा पनि महागुरुको जन्मजयन्ती मनाउने गर्दछन् । त्यसैगरी हङकङ, बर्मा, भुटान, बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान, साउदी, कतार, मलेसिया, ब्रुनाई, दुबई, बहराइन, इजरायल लगायत विभिन्न राष्ट्रहरुमा बसोबास गर्नुहुने किरात समुदायले महागुरु फाल्गुनन्दको जन्मजयन्ती हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

जन्मजयन्तीमा सार्वजनिक बिदा

किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीमा संघीय सरकार र प्रदेश सरकारहरुले सार्वजनिक बिदा नदिएपनि स्थानीय तहले भने बिदा दिने निर्णय गरेका छन् । यसरी महागुरु फाल्गुनन्दको जन्म दिन कार्तिक २५ गते सार्वजनिक बिदा घोषणा गर्ने स्थानीय तहहरुमा इलामको माङसेबुङ गाउँपालिका, फाक्फोक थुम गाउँपालिका, माई नगरपालिका र पान्थरको मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिका रहेका छन् ।

त्यसैगरी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका, याङ्वारक पाथिभरा गाउँपालिका र सिदिङबा गाउँपालिका साथै झापाको दमक नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिकाले पनि बिदा दिने निर्णय गरेको जनाइएको छ । यसरीनै मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिका गरी १७ स्थानीय तहहरुले महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्तीको अवसरमा कार्तिक २५ गते  सार्वजनिक बिदा दिने भएको छ ।

माङसेबुङ न्युजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार