विभूती फाल्गुनन्द र समाज सुधार

  सन्तोष नेम्बाङ  54 पटक हेरिएको

इलाम : राज्य निर्माण हुनु भुगोलमात्र भएर नहुदो रहेछ, विज्ञानको भाषामा जसरी एउटा तत्व निर्माण हुन घेरै अवयवहरुको आवश्यकता पर्छ त्यसरी नै पूर्ण राज्य निर्माणमा जनता पहिलो अवयव हो, त्यो अवयवहरु भित्र शान्ति,जातिय सद्भाव,धार्मिक सहिष्णुता कायम गर्दै धर्म,सस्कृति,भाषा लिपीको संरक्षण पनि राष्ट्र निर्माणको धेरै अवयवहरु मध्ये एक हो भन्ने पुष्टी फाल्गुनन्दले गरेको समाज सुधारलाई लिन सक्छौ । शिरमा शिरबन्दी,कानमा यारलिङ,गलामा कन्ठा,पहिरनमा म्याख्ली,हातमा त्रिशुललिई युमा भेषभुषामा जीवन विताउनु भएका फाल्गुनन्दलाई नेपाल राज्य निर्माणमा योगदान गर्ने  १०१ जना व्यत्तित्वहरु मध्ये उनी पनि एक हुन भनि हिमाल खवर पत्रिकाको चैत्र अंकले (२०५७)  प्रकाशित  गरे पछि उनको बारेमा खोज अनुसन्धानमा चासो बढेको हो ।

बि.स.१९८८ मा पाँचथरको लबे्रकुटीमा फाल्गुनन्दले १० लिम्बूवान १७ थुमका आगे सुभाहरु, थरी,मुखिया,रैति,भद्रभलादमीहरुको आम भेला चुम्लुङसभा गरी १० बुद्धे सत्यधर्म मुचुल्का तयारी गरी लागु गर्ने प्रतिवद्धता जनाए । एक जना तपस्वीले अहिंसामुल धर्म,सादा साकाहारी जीवन,शान्तिमय समाज, माङहिम मन्दिर निर्माण,लिम्बू भाषा लिपीमा पाठशालाको शुरुवात, किरात धर्म दर्शनको प्रचार प्रसार गर्न यस क्षेत्रका समुदायहरुको अगुवाई गरेकोमा फाल्गुनन्दलाई राजविद्रोहीको मुद्दा समेत लगाईयो । निरंकुश राणाशासनले गंगालाल,शुक्रराज,ठाकुर र चन्द लाई गोली ठोकी रहन्दा  लिम्बूवान क्षेत्रमा   छुटै रितिथिति बसाउने फाल्गुनन्दलाई पनि पक्राउ गरी काठमाण्डौ पुर्याईयो । उनलाई लगाइएको राजद्रोहको अभियोग प्रमाणित हुन सकेन । त्यस बेला लिम्बूवान क्षेत्रमा दशै मनाउने सस्कृति राज्यले साम,दाम,दण्ड भेद प्रयोग गरी अनिवार्य गरेको थियो । दशै पर्व मनाएको प्रमाणित गर्न लिम्बूहरुको घरको दैलो भित्तामा नवमीको दिन पशुबलि दिई दाँया बाँया हातले रगतको छाप लगाए नलगाए भनेर प्रशासन खटाइन्थ्यो । पाँचथरको याङवरक थर्पुमा दशैको घटस्थापना  देखि नवमी सम्ममा  निसान पूजा सहित पशुवलि दिंदै  दशै नमनाए बोलिमा कानुन बोकेका प्रशासनको उजुरी गौडा हुँदै केन्द्र सम्म पुग्थ्यो । दशैभरी भैयाद, रैति, थरी,मुखियाहरुले पनि सलामी स्वरुप सुभासुभाङ्गी हुँदै बडाहाकिम सम्ममा दोपाया,चौपाया,सोमरस सहितको दाम चढाउनु अनिवार्य थियो । यस्तो अनिवार्यता र एकअर्कामा प्रतिस्पर्धी कार्यले यस क्षेत्रका समुदायहरुमा साँस्कृतिक विचलन, आर्थिक असमानता, विकृती,विसङगति, अन्धोविश्वास,सामाजिक असन्तुलन मौलाउने अवसर पायो । यसको प्रभाव त्यसवेला सबैभन्दा बढी किरातसमुदायमा पर्यो ।

बिशेषगरी आफ्नै मौलिक परम्परा,भाषा,धर्म,सस्कृतिको पहिचान भएका लिम्बू समुदायमा राज्यले लादिदिएको एक भाषा,एक भेष,एकल सस्कृतिको सबैभन्दा बढी प्रभाव परेको थियो । लिम्बू समुदायले दशैमा पूजाआजाको नाममा बलिप्रथालाई बढवा दिन थाले, मधपान गर्न गराउन प्रतिष्पर्धा चल्यो, छोरीचेलीको सोतरित खान खुवाउन प्रतिष्ठासित दाज्न थालियो, किरात भाषा, लिपी,दर्शन मुन्धुमहरुको प्रयोगको अवला खस नेपाली भाषा,सस्कृति,धर्मको अनुसरण गर्न अनिवार्य जसो गराउदै लगियो । यस्तो अनिवार्यताले गर्दा लिम्बूसमुदायहरु आर्थिक,सास्कृतिक,सामाजिक,शैक्षिकरुपले क्रमश कमजोर हुँदै गयो ।

यस्तो परिस्थितिमा फाल्गुनन्दले १० बुद्धे सत्यधर्म मुचुल्काको दस्तावेज तयार गरी रितिथिति बसाउनु कम चुनौतिपुर्ण थिएन । उनले बसालेका रितिथितिमा धर्मकर्मको नाममा गरिने बलिप्रथालाई पूर्ण प्रतिबन्ध लगाउदै अहिंसानै ठूलो धर्म हो भन्ने मनोविज्ञानको विकास गरे । पूजाअर्चन गर्दा फलपूmल नैबेद्यले गर्ने परिपाटी बसाए । जुन परिपाटी हाल पनि कायम नै छ । पेशामा पनि कपास खेती गरी चर्खा चलाई खाडी कपडाको प्रयोगमा प्रोत्साहन गरे । साकाहारी जीवन व्यातित गर्न उर्वर भुमिहरुमा मौसम अनुसारको  फलफुल खेतीपाती गर्न, जडिबुटीहरुको पहिचान गरी संरक्षण गर्न, खाली नागीपाखामा बृृक्षारोपण गर्न  अनुयायीहरुलाई अभिप्रेरित गरे । फाल्गुनन्दले आफ्नो जीवनको संघर्षको निष्कर्षमा जातिय सुधार गरे । उनले गरेको जातिय सुधारको सारमा शान्ति, अहिंस्सा, सादा साकाहारी जीवन, अनावश्यक संस्कारको परित्याग, धार्मिक सहिष्णुता, जातिय सद्भाव, भातृत्वको विकास, मठमन्दिर निर्माण, पाठशाला निर्माण सहित स्वलम्बि हुनु थियो । फाल्गुनन्दले आफ्ना अनुयायीहरुलाई लोप हुन लागेको किरात सिरिजंगा लिपीमा अध्ययन अध्यापन, किरात धर्म दर्शनका मुन्धुमहरु लिपीबद्ध गरी संरक्षण गर्दै भावी पुस्ताहरुलाई हस्तान्तरण गराउनु अनिवार्यता गरे ।  यसरी क्रमश शान्तिपुर्ण तरिकाले फाल्गुनन्दले बसालेका रितितिथिहरु लिम्बूवान क्षेत्रमा फैलन्दै गयो । अहिले पनि देश तथा विदेशमा फाल्गुनन्दले प्रतिपादन गरेको सत्यहाङमा पथमा हजारौ किरातहरुलाई एउटा शुत्रमा बाँधने काम गरेको छ ।

एउटा व्यक्ति,त्यसपछि परिवार,समाज हुँदै राष्ट्रको चौतर्फी विकास हुन शान्तिपुर्ण वातावरणको मर्मलाई त्यसवेला बुझेका फाल्गुनन्दका अनुयायीहरुले राणाकालिन साम्प्रदायिकतालाई पनि रोकेको इतिहास प्रमाणित छ । राणा शासनको उत्तराद्धमा पूर्वी लिम्वूवान क्षेत्रमा जातिय नारा उरालेर बडाहाकिम सचिन शम्सेर राणाले गैर लिम्बूहरु यो क्षेत्रबाट लखेटने अभियान चलायो त्यस बेला धेरै जसो तेह्रथुमबाट निर्दोष क्षेत्री बाहुन छरछिमेकीहरु बढी प्रभावित भए । यता मानवता हामीमा हुनुपर्छ, जातिय सद्भाव,धार्मिक सहिष्णुता,वन्धुत्वको भावना नै हाम्रो धर्म हो भनी सत्यहाङमा मुचुल्कामा सब्दी गरेका फाल्गुनन्दका अनुयायीहरुको बाहुल्यता रहेको क्षेत्र पाँचथर,ताप्लेजुङ,इलाममा भने गैर लिम्बू छरछिमेकीहरुले अन्य क्षेत्रमा जस्तो असुरक्षित हुनु परेन । यस्तो साम्प्रदायिकताको नाममा हुन सक्ने जातिय लडाई फैलन नदिन फाल्गुनन्दको अहिंसावादी मनोविज्ञानको परिणाम नै हो । यसरी किरात समुदायलाई शान्तिको मार्गमा हिडाउन गरेको उनको प्रयासले आज सम्पुर्ण किरातधर्मलम्बीहरु एक भएर अगाडी बढीरहेका छ ।

फाल्गुनन्दले किरात समुदायभित्र आर्थिक,सामाजिक,सास्कृतिक,धार्मिक,भाषा,लिपी संरक्षणमा गरेको कार्यको उच्च मुल्याङकन गर्दै नेपाल सरकारले बि.स.२०६६ मंसिर १६ गते १६ औ राष्ट्रिय बिभूतिको घोषणा समेत गरेको छ । फाल्गुनन्दको सम्मानमा हुलाक टिकट प्रकाशसन गरिएको छ भने इलाममा निर्माणाधिन विमानस्थललाई फाल्गुनन्द विमानस्थल र दमक रवि मोटरबाटोलाई फाल्गुनन्द मार्ग नामाकरण गरिएको छ । उनै राष्ट्रिय विभुति फाल्गुनन्दको १३५ औ जन्मजयन्ति प्रत्येक बर्ष कार्तिक २५ गते देश विदेशमा किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ,लिम्बू विद्यार्थी मञ्च लगायत, किरातजन्य संघसंस्थाहरु, सत्यहाङमा पन्थीहरुकको  अगुवाईमा मनाइरहेका  छौ ।

sanilam82@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार