‘युमा धर्म लिम्बू समुदायको मौलिक धर्म’

  गोविन्द लामिछाने
203 Shares

फाकफोकथुम : लिम्बू समुदायले युमाधर्म मान्नुपर्ने शनिबार एकतप्पामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

युमाधर्म रमुन्धुम दर्शन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले लिम्बू समुदायले परापूर्वकालदेखि मनाउँदै आएकाले युमाधर्मलाई नै अंगाल्नुपर्नेमा जोड दिएका हुन् । युमा साम्यो महासभा नेपालले फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ दोकानडाँडामा शनिबार आयोजना गरेको उक्त अन्तरक्रियामा बोल्दै महासभाका केन्द्रिय अध्यक्ष देवेन्द्रकुमार वनेमले लिम्बू समुदायले मान्ने मौलिक धर्मको रुपमा युमा धर्मलाई लिइएको बताए ।

आफ्नो धर्म पहिचानका लागि दुई वर्षदेखि संस्था दर्ता गरेर युमाधर्मको बारेमा खोज र अनुसन्धान जारी राखेको बताए । दुई सय ५० वर्ष लामो राजसंस्थाले अहिलेसम्म थिचोमिचो गरेका कारण लिम्बूहरुको मौलिक धर्म, संस्कृति नाश हुँदै गएको र अब मुलुकमा लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र आएकाले अब आफ्नो धर्म, संस्कृति जोगाउन आफूहरु लागिपरेको र युमा धर्मको बारेमा नेपालमा मात्र नभई भारतलगायतका देशमा धेरै प्रचारप्रसार गरेको बताए ।

युमाधर्म मान्ने धर्मावलम्वीहरुले मन्दिर नबनाई प्रकृतिमा जे छ त्यसलाई पूजा गर्नुपर्छ, त्यसैले लिम्वूलाई प्रकृति पूजक पनि भनेको हो, नले भने लिम्वूको धर्म किराँत होइन युमा नै हो । लिम्वू समुदायले मन्दिरमा पूजा गर्ने होइन्, प्रकृतिमा पूजा गर्नु पर्छ, उनले भने । घर घरमा अब युमाधर्मको झण्डा राख्नुपर्छ, उनले भने ।

महासभाका केन्द्रिय उपाध्यक्ष हर्क सुव्वाले युमा धर्म मान्ने लिम्वू समुदाय बढ्दै गएको दावी गरे । राजनीतिक आस्था जे भएपनि धर्मप्रति एकजुट हुन उनले आग्रह गरे ।

मुन्धुमविद् तथा लिम्वू भाषाविद् चित्र फागो बनेमले मुन्धुमबाटै धेरै स्थानको नामाकरण गरिएको र मुन्धुम दर्शन अपनाउनुपर्नेमा जोड दिए ।

महासभाका केन्द्रिय सचिव भीमसेन लिङदमले लिम्वू जातिले अहिले संस्कार र संस्कृति छाडा छोडिंदै गएकाले संस्कार र संस्कृतिलाई जोगाई राख्न आफूहरु लागिपरेको बताए । लिम्वू जातिले परम्परा देखिनै युमाधर्म मानिआएकाले युमाधर्म अहिलेको मात्र नभई परापूर्वकालकै लिम्वू समुदायको धर्म भएको स्पष्ट पारे । उनले अब गाउँगाउँमा युमा चोत्लुङ (पार्क) बनाउने, सार्वजनिक स्थल तथा प्रकृतिलाई पूज्न आग्रह समेत गरे ।

महासभा फाकफोकथुमका अध्यक्ष गोविन्द योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गाप्रसाद विष्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य दिलकुमार आङदेम्वे, संस्थाका सचिव कृष्ण लिम्वू लगायतले समेत बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार