कम्युनिष्ट सरकारले बजेट बाँढ्न जान्यो, आयश्रोत जुटाउन जानेन : गगन थापा (भिडियो सहित)

  युद्धबहादुर बोहोरा  142 पटक हेरिएको

पाँचथर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाल कम्युनिष्ट पार्टीको सरकारले पार्टीलाई लोकप्रिय बनाउन चौतर्फी बजेट बाँढेपनि आयश्रोत जुटाउन नजानेको आरोप लगाएका छन् ।

फाल्गुनन्द गाउँपालिकाको याम्बाबुङ्गमा तरुणदल फाल्गुनन्द-५ तथा सहआयोजक तरुणदल पाँचथरद्वारा आयोजित तेस्रो तरुण गोल्ड कपको उद्घाटन समारोहमा विहिवार सो कुरा बताएका हुन् । मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थमन्त्री तथा संघीय सांसद थापाले देशको आर्थिक अवस्था दिनानुदिन धरासयी भएको बताए ।

भेनेजुएलाको सरकारले जनतालाई अनावश्यक भत्ता वितरण साथै बजेट दुरुपयोग गर्नाले अहिले त्यस देशका जनता भोकमरीको चपेटामा परेको उदाहरण दिए। उनले भने, “जब सम्म त्यस देशको तेलको आयस्रोत थियोे तबसम्म जनतालाई पैसा बाँढ्यो,तेलको भाउ खच्किन साथ आर्थिक संकट शुरु भयो।त्यही अवस्था नेपाल नआउला भन्न सकिन्न ।” नेपाली काँङ्ग्रेसको नेतृत्वमा संविधान बन्यो त्यो घरको जग थियो, त्यस माथि ईट्टा थपेर अर्को तल बनाउने जनताले जिम्मा लगाएको दुई तिहाईको कम्युनिष्ट सरकार त्यतिकै अल्मलिएको बताए। सरकार प्रति जनताले जुन आसा गरेका थिए त्यो अहिले निराशामा परिणत भएको उनले दावी गरेका छन् ।

विदेशीले लगानी गर्ने भन्दा बरु नेपालका उद्योगपति पलायन हुन थालेकोले स्वदेशमा रोजगारी र लगानी गर्ने वातावरणतय गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । विगत तीन वर्ष देखि खेल आयोजना गर्दै आएको तरुण दल गोल्ड कपमा पालिका स्तरीय जम्मा सात टिमको सहभागिता रहेको छ ।

कार्तिक २४ गते सम्पन्न हुने खेलको प्रथम पुरस्कार एक लाख एक हजार ६७ रुपैयाँ छ भने द्वितीय पुरस्कार ५१ हजार ७६ रुपैयाँ रहेको खेल आयोजकले जनाएको छ। प्रथम पुरस्कारको प्रायोजक नेपाली काँङ्ग्रेस जिल्ला कार्य समिति पाँचथरका आमन्त्रित सदस्य तथा फाल्गुनन्द-५ का सभापति मणिचन्द्र चेम्जोङले उपलब्ध गराएको आयोजक तरुण दल जिल्ला अध्यक्ष सुमन लामाले जानकारी दिए ।

हेर्नुस् भिडियो 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार