उपनिर्वाचन : समाजवादी पार्टी प्रदेश १ ले लगायो उम्मेदवारहरुको टुङ्गो

  नयाँ बुलन्द  65 पटक हेरिएको

झापा : समाजवादी पार्टी प्रदेश १ ले आफ्नो प्रदेशभित्र पर्ने ४ स्थानीय तहको उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीको प्रदेश समितिले उम्मेदवार टुङ्गो लगाएको हो हो । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिका (सुनसरी) को प्रमुखमा गजेन्द्र इस्वो लिम्बू, फाल्गुनन्द गाउँपालिका(पाँचथर)को अध्यक्षमा बिमला आङदेम्बे नेम्बाङ र मकालु गाउँपालिका(संखुवासभा)को अध्यक्षमा नोर्वु शेर्पालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका वार्ड नं. १ को अध्यक्षमा गौरव लामा र पाँचथरकै हिलिहाङ गाउँपालिका वार्ड नं. ७ को अध्यक्षमा भवानी योङयालाई सर्वसम्मत उम्मेद्वार चयन गरेको छ । समाजवादीले प्रदेश समितिका मुख्य सचिव प्रभुराम श्रेष्ठको संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । कोषाध्यक्ष विनोद नेम्बाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति र सदस्य कमन देवानको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उप–समिति गठन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रदेशका अध्यक्ष प्रविन चाम्लिङद्वारा जारी विज्ञप्तीमा छिमेकी मुलक भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचारप्रति समाजवादी पार्टी प्रदेश नं. १ को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘सो भूभाग नेपाल कै हो, दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एक पक्षीय ढङ्गले भारतीय पक्षले गरेको मनोमानी र प्रस्तुत गरेको मिचाहा प्रवृत्ति खेदजनक र अमान्य छ ।’ पाटीले कोशी उच्च बाँध नेपाल र नेपाली जनताको हितमा नभएकाले सो सम्बन्धी सम्झौता तत्काल खारेजीको माग पनि गरेको छ ।

यसैबीच प्रदेश समितिकको पूर्ण बैठक बुधबार दमकमा सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएपछि पहिलो पूर्ण बैठक बसेको हो । बसेको बैठकले विभिन्न समसामयीक राजनीतिक विषयहरु निर्णय गर्दै सम्पन्न गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै बिहीबार दमकको पाथिभरा पार्टी प्लालेसको सभा हलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । प्रेस नेपाल प्रदेश नं. १ को आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रमा प्रेस नेपाल प्रदेश १ का अध्यक्ष फिपराज वेघाको अध्यक्षता भएको थियो भने कार्यक्रम मुख्य सचिव अजित धिमालले सञ्चालन गरेका थिए ।

समाजवादी पार्टी प्रदेश नं. १ ले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै :

मितिः २०७६/०७/२१

प्रेस विज्ञप्ति

नेपाली जनताको पटक पटकको बलिदानी र संघर्षबाट प्राप्त सङ्घीय गणतन्त्र नेपालमा उत्पीडित जनताको चाहाना अनुसारको परिवर्तनको प्रत्याभूत आमजनताले गर्न सकेको छैन्, त्यसलाई साँच्चै जनतालाई अधिकार सम्पन्न र मुलुकलाई समृद्धि र सुशासन दिलाउनको निम्ति आज नेपाली जनताको वैकल्पिक शक्तिको रूपमा समाजवादी पार्टीको स्थापना भएको हो । यसरी समाजवादी पार्टीले आफ्नो कार्यक्रमहरुलाई जनस्तरमा पुर्याउनका निम्ति विभिन्न गतिविधि गर्दै आएको छ । यसै सन्दर्भमा समाजवादी पार्टी प्रदेश नं. १ को मिति २०७६ कार्तिक २० गते झापाको दमकमा पूर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले समसामयिक राजनीतिक विषयमा महत्वपुर्ण निर्णयहरु गरेको छ ।

छिमेकी मुलक भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचारप्रति समाजवादी पार्टी प्रदेश नं. १ को गम्भीर ध्यानाकर्षण भएको छ । सो भूभाग नेपाल कै हो, दुइ देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एक पक्षीय ढङ्गले भारतीय पक्षले गरेको मनोमानी र प्रस्तुत गरेको मिचाहा प्रवृत्ति खेद जनक र अमान्य छ । त्यस्तै कोशी उच्च बाँध नेपाल र नेपाली जनताको हितमा नभएकोले सो सम्बन्धी सम्झौता तत्काल खारेजीको माग गर्दछौं । साथै झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालालाई मदन भण्डारी रंगशाला बनाउने सरकारको दुस्प्रयासप्रति समेत खेद प्रकट गर्दै आदिवासी रंगशाला नै कायम गरि काम अघि बढाउन समेत जोडदार माग गर्दछौं ।

बैठकले गरेका महत्वपूर्ण थप निर्णयहरुः

१. आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा पार्टीले सशक्त रूपमा सहभागिता जनाउने भएकाले पार्टीका प्रदेश नं. १ का मुख्य सचिव प्रभुराम श्रेष्ठको संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरियो । साथै कोषाध्यक्ष विनोद नेम्बाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति र सदस्य कमन देवानको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उप–समिति गठन गरियो ।

२. आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा सुनसरी धरान उपमहानगरपालिकाको प्रमुख पदको उम्मेद्वार गजेन्द्र इस्वो लिम्बू, पाँचथर जिल्ला फाल्गुनन्द अध्यक्ष पदको उम्मेद्वार बिमला आङदेम्बे नेम्बाङ, फिदिम नगरपालिका वार्ड नं. १ को अध्यक्षमा गौरव लामा र हिलिहाङ गाउँपालिका वार्ड नं. ७ को अध्यक्षमा भवानी योङयालाई सर्वसम्मत उम्मेद्वार चयन गरियो ।

३. समाजवादी पार्टी प्रदेश नं. १ मा समायोजन गर्न बाँकी रहेको जिल्ला, नगरपालिका, गाउपालिका र जनवर्गीय संगठनहरुको समायोजनको निम्ति उपाध्यक्ष दीपक याक्खाको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरियो ।

४. पहिचान सहितको संघीयता र संविधान संशोधन विषयक प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्याशाला गर्ने निर्णय गरियो ।

प्रविण चाम्लिङ
अध्यक्ष

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार