अन्तुपोखरीमा डुङ्गा चलाउन रोक

नगरपालिकाको मातहतमा डुङ्गा सञ्चालन गर्नुपर्ने

  नयाँ बुलन्द  206 पटक हेरिएको

इलाम : नेपालको प्रमुख पर्यटकीय गन्तब्यहरुको सूचीमा रहेको इलामको सूर्योदयन नगरपालिका ४ श्रीअन्तुमा रहेको अन्तुपोखरीमा हिजो मङ्गलबारदेखि डुङ्गा चलाउन रोक लगाइएको छ । पाँच वर्षभन्दा अघिदेखि अन्तुपोखरीमा पुगेका पर्यटकलाई डुङ्गा सयर गराइँदै आएको भएपनि अहिले आएर सूर्योदय नगरपालिकाले त्यहाँ डुङ्गा चलाउन रोक लगाएको हो । नगर कार्यपालिकाको मङ्गलबार दिउँसो बसेको बैठकले अन्तुपोखरीमा अहिले सञ्चालन गरिँदै आएको डुङ्गा रोक्ने निर्णय गरेको हो ।

नगरपालिकाका अनुसार अन्तुपोखरीमा डुङ्गा चलेर त्यसबाट नगरपालिकाको आम्दानी नदेखिएकोले रोक लगाइएको हो । नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाको मातहतमा डुङ्गा सञ्चालन गर्ने ब्यवस्था नहुञ्जेल सम्मका लागि डुङ्गा चलाउन रोक लगाइएको नगर प्रमुख रणबहादुर राईले बताए ।

अन्तुपोखरीमा यसअघि स्थानीय बासिन्दाले गठन गरेको एक निजी समूहका नाममा ठेक्का लगाएर नै डुङ्गा सञ्चालन गरिँदै आएको थियो ।
गएका आर्थिक वर्षहरुमा पोखरीको आम्दानीमा खासै वास्ता नगरेको नगरपालिकाले चालु आवमा ठेक्कामा डुङ्गा सञ्चालन गर्ने भनेर बोलपत्र नै निकालेको थियो । तर पटकपटक बोलपत्र आवहान गर्दा पनि कोही ननिस्किएपछि तत्काललाई डुङ्गा सञ्चालनमै रोक लगाउन नगरपालिका बाध्य भएको हो ।

तत्काल गरिएको अनुगमनमा डुङ्गा शयरका क्रममा लगाउने लाइफ ज्याकेट नलगाई डुङ्गा चड्ने गरेको देखिएकोले रोक लगाइएको प्रमुख राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार