
इलाम : इलामको सीमावर्ती पर्यटकीय क्षेत्र सन्दकपुरमा निर्माणाधिन भ्यु टावर भारतीय अवरोधका कारण अलपत्र परेको छ । प्रदेश नम्बर एकको लगानीमा निर्माण शुरु भएको भ्यु टावार भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध गरेसँगै अलपत्र परेको हो । निर्माणका क्रमको अवस्थामा रहेको भ्युटावर निर्माणको समस्या सरकारले समाधनको काम नगर्दा नेपालतर्फ सीमावर्ती क्षेत्रमा यसअघि निर्माण थालिएका र चालु आर्थिक वर्षमा निर्माण हुने पर्यटकीय पूर्वाधारका थुप्रै विकासका आयोजना निर्माणमा अवरोध भएको छ ।
प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रकमबाट सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडामा झन्डै एक करोडको पूर्वाधारका काम थालिएको थियो । सन्दकपुर डाँडामा भ्यु प्वाइन्टसहित १ सय मिटर पैदल मार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माणको क्रममा रोकिएको उपभोक्ता समितिका अध्यक्ष रिञ्जि सेर्पाले बताए ।
हिमाल दृश्यावलोकनसहित नेपाल, भारत र भुटानका अनेक स्थान नियाल्न सकिने क्षेत्रमा टावर बनाउन नपाएपछि समस्या भएको छ । सन्दकपुर डाँडामा जंगे पिल्लर रहे पनि त्यसमाथि सहायक र सानो पिलर नहुँदा सीमा यकिन छैन । यस क्षेत्रमा सीमा क्षेत्रलाई पानीढलोका आधारमा बुझिने गरेको छ तर पछिल्लो समय भारतीय पक्षले गुगल नक्साअनुसार नेपालका धेरै क्षेत्र र बस्ती भारततिर पर्ने दाबी गर्दै आएको छ । सन्दकपुरमा काममा अवरोध भएपछि सीमा हेर्ने सशस्त्र प्रहरीको बीओपीले स्थलगत अनुगमन गरेपनि यो निकायसँग नक्सा नहुँदा अन्यौलता छाएको छ ।
दशगजा क्षेत्रका धेरै स्थानमा निजी पूर्वाधारसमेत बनेका छन् । सरकारी तवरबाटै भौतिक विकासका काम थालिएपछि भने भारततर्फबाट अवरोध भएको हो । तर, भारततीर सीमा क्षेत्रमा रहेको सीमा सुरक्षा बलको क्याम्प निर्माण गर्दा दशगजा मिचिएपनि नेपाली पक्षबाट चासो दिएको छैन । इलामको सीमा क्षेत्रमा राखिएका भारतीय एसएसबि क्याम्प दशगजामा टसाएर बनाएपनि नेपाल पक्षले संरचना निर्माणमा अवरोध गरिरहेकाले समस्या भएको स्थानीयको भनाइ छ ।






















































