लक्ष्मीको श्राप र आशिर्वाद

  अरुण नेपाल  122 पटक हेरिएको

अरुण नेपाल

लक्ष्मी पुजा २०७६ को आगमनसँगै नेपाल आमा बेहुली झैं सिँगारिएकि छिन् । धपक्कै बलेकि छिन् । रूपमा यसरी सिगारिएकि नेपाल आमा सारमा लक्ष्मीरूपी धन सम्पत्तिसँग सोझो सम्बन्ध भएको भ्रष्टाचारकै अकल्पनीय भूमरीमा नराम्ररी फसेकि छिन् । त्यसरी फस्दा अंगअंगमा हुने पीडाले उनी पूरै थलिएकि छिन् । अब नेपाल आमालार्इ पीडा दिने र खुशी बनाउने पात्र एवं प्रवृत्ति किटान गरी उनीहरूको कर्म बमोजिम लक्ष्मीले श्राप र आशिर्बाद दिने समय आइसकेको छ । धन सम्पत्तिकै लागि जति पनि गिर्न सक्ने भ्रष्ट आचरणमा लिप्त पात्र एवं प्रवृत्तिलार्इ खुट्याएर खरानी बनाउने र नैतिक मुल्य मान्यताको उच्च सम्मान गर्दै पारदर्शी ढंगले धन सम्पत्ति जोड्ने पात्र एवं प्रवृत्तिलार्इ कहिल्यै पनि आवश्यक धन सम्पत्तिको अभावै हुन नदिने आशीर्बाद दिन लक्ष्मीले कति पनि कञ्जुस्याँइ गर्नै नहुने समय आएको छ ।

निकै दुःखका साथ भन्नैपर्ने भएको छ, प्राकृतिक स्रोत र साधनले यति धेरै सम्पन्न नेपाल आज संसारभर एक गरीब, तन्नम र भ्रष्ट मुलुकको पहिचान बनाउदैछ । सबैतिरबाट कुरा गोड्दै ल्याउँदा नेपाल यो दयनीय अवस्थाबाट गुज्रनुमा गलत ढंगले धन सम्पत्ति आर्जन गर्ने कुसंस्कार मौलाउँदै जानु नै प्रमुख कारक तत्व हो भन्ने निकै अप्रिय निश्कर्ष निस्कदोरहेछ । घरपरिवारदेखि शिक्षण संस्था लगायत राज्यका सबैजसो अंग प्रत्यंगमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका हरेकजसो पात्रको प्राथमिकता नै जसरी पनि धन सम्पत्ति कमाउनु नै हो जस्तो लाग्छ । अड्डा अदालत तथा प्रहरी प्रशासन, आदिमा दिनहुँजसो हुने मुद्दा मामिलासम्बन्धि वहस तथा चर्चाको चुरो कुरो धन सम्पत्तिसँगै जोडिएर आए जस्तो लाग्छ । समाजमा प्राप्त हुने पद प्रतिष्ठाका कुरा अन्ततः धन सम्पत्ति प्राप्तीसँगै ठोकिन पुगे जस्तो लाग्छ । पद प्रतिष्ठा प्राप्त गर्ने मुख्य साधन समेत धन सम्पत्ति नै हुने गरे जस्तो लाग्छ । सबै कुरा धन सम्पत्तिसँग जोडिएपछि जसरी पनि सम्पत्ति कमाउनैपर्ने कुरा बाध्यात्मक कुरा जस्तै बन्दै जाँदोरहेछ । धन सम्पत्ति साधनमा मात्र सीमित नभर्इ साध्य नै बन्न पुग्दोरहेछ । अनि केवल सम्पत्ति कमाउनकै लागि मानिसका मन मस्तिष्कमा आपराधिक मानसिकताले घर गर्न थाल्दोरहेछ । फलस्वरूप समाजमा अपराधजन्य गतिविधि बढ्दारहेछन् । वास्तवमा आज नेपाली समाज यस्तै अकल्पनीय आपराधिक कर्मको नराम्रो शिकार भइरहेको छ । जुन कुरा हरेकजसो नेपालीलार्इ यत्रतत्र महुशस भइरहेकै छ ।

पद, प्रतिष्ठा र धन सम्पत्ति प्राप्तीकै लागि हुने गरेका हत्या हिंसा र भ्रष्टाचार जस्ता जघन्य अपराधका कारण आज पूरै नेपाली समाज अपराधीहरूकै कब्जामा परे जस्तो अनुभुति हुन थालेको छ । त्यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्ने राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत राज्यको चौथो अंग भनिएको पत्रकार जगत समेत चाहेर वा नचाहेर धन प्राप्तीका लागि हुने दृश्य अदृश्य चलखेलका नराम्रो शिकार हुन पुगेको कुरा महशुस भइरहेको छ । यसका ज्वलन्त उदाहरणका रूपमा विगत वा वर्तमान समयमा राज्यका यो वा त्यो अंगमा कार्यरत पात्रहरू नै अकल्पनीय आपराधिक घटनामा मुछिएका पोल खोल्दै जानुलाइ लिन सकिन्छ । बढि चर्चामा रहेका सुन काण्ड, वाइडबडी काण्ड, रौतहट हत्या काण्ड, सरकारी जग्गा सम्बन्धि काण्डैकाण्ड, आदि घटनाक्रम पद, प्रतिष्ठा र धन सम्पत्ति प्राप्तीसँग प्रत्यक्ष रूपमा जोडिएका जघन्य अपराधका प्रतिनिधिमुलक घटना हुन् भन्न सकिएला । नेपाली समाजमा घटेका यस्ता घटनाको सुची बनाउनै पनि कठीन हुने निकै कहालिलाग्दो अवस्था सिर्जना हुँदै गएको छ । अपारदर्शी ढंगले धन दौलत थुपारेर अख्तियारको चरम दुरूपयोग गर्दै यस्ता जघन्य अपराध छिपाउँदै आएका पात्रहरू नै वर्तमान नेपाली समाजका लब्ध प्रतिष्ठित व्यक्ति व्यक्तित्वको रूपमा सम्मानित हुँदै आउनुले नेपाली समाजमा धन प्राप्तीका लागि थप अपराध बढ्न सक्ने निकै खत्तरनाक परिस्थिति पैदा हुँदै गएको अनुभुति भइरहेको छ । यसरी हत्या, हिंसा र भ्रष्टाचारलार्इ लुकाउँदै र छिपाउँदै जसरी पनि धन सम्पत्ति थुपार्नैपर्ने अत्यन्तै कुरूप र भद्दा संस्कार नै नेपाली समाजको पहिचान बन्दै गएको वर्तमान समयमा हुने लक्ष्मी पुजाका अवसरमा पनि हरेक नेपालीले जसरी पनि सम्पत्ति थुपार्न सकौं भनेर प्रार्थना त गर्दैछैनन् ? दशकौंदेखि यस्तै गलत संस्कृति मौलाएकैले आज नेपाली समाज जसरी पनि लक्ष्मीरूपी धन दौलत थुपार्नैपर्ने कुकर्ममा संलग्न अपराधीहरूको अखडाका रूपमा रूपान्तरण त हुँदैछैन ? यस्ता गम्भीर प्रश्नको बर्षा भइरहेको वर्तमान अवस्थामा लक्ष्मी पुजा २०७६ ढोका ढक्ढक्याउँदै प्रत्येक नेपालीको घर आँगनमा रमाउन थालिसकेको छ ।

लक्ष्मी पुजा २०७६ को संघारमा लक्ष्मी पुजा गर्न तम्सिएका हरेक नेपालीले अब अपारदर्शी होइन पारदर्शी ढंगले धन दौलत प्राप्त गर्न सकौं भनेर घरघरमा प्रार्थना गर्नुपर्ने समय पो आएको हो कि ? धन सम्पत्ति आर्जन गर्दा सदाचार र नैतिकतालार्इ उच्च प्राथमिकतामा राख्ने सद्बुद्धि पलाओस भनेर घर परिवारका सबै सदस्यले संकल्प गर्नैपर्ने दिन पो आएको हो कि ? अपारदर्शी ढंगले नेपाल आमाकै बेइज्जत हुने गरी अकुत धन सम्पत्ति थुपार्ने अपराधीहरूको पहिचान गरी त्यस्ता अपराधीलार्इ भस्म बनाउन लक्ष्मी माताले पनि आफ्नो शक्ति प्रदर्शन गर्ने समय पो आएको हो कि ? त्यस्ता अपराधीलार्इ भस्म हुने श्राप दिदै पारदर्शी ढंगले सदाचार र नैतिकतालार्इ उच्च प्राथमिकता दिन प्रण गर्दै लक्ष्मी पुजामा सामेल हुने भक्तजनलार्इ चाहि कहिल्यै पनि आवश्यक धन सम्पत्तिको अभावै नहुने आशीर्बाद दिन धेरै नै ढिला भइसकेको पो हो कि ? कम्तीमा प्रत्येक घरपरिवारका सबै सन्तानले गाँस, वास, कपास जस्ता आधारभुत आवश्यकता पूरा गर्नुका साथै क्षमता बमोजिमको गुणस्तरीय शिक्षा हासिल गर्न र जस्तोसुकै घातक रोग लागे पनि सन्तोषजनक उपचार गर्न कहिल्यै अभाव नहुने शक्ति लक्ष्मी माताले ती परिवारका सदस्यलार्इ प्रदान गर्न अबेर भइसकेको पो हो कि ?

यसरी केवल धन सम्पत्ति प्राप्तीकै लागि जस्तासुकै अपराध हुने अखडाको रूपमा विकास हुँदै गएको नेपाली समाजमा अब पारदर्शी ढंगले सदाचार र नैतिकतालार्इ उच्च प्राथमिकता दिने संस्कार र संस्कृतिको विकास होस् । यस पटकको लक्ष्मी पुजामा प्रत्येक घरपरिवारका हरेक सदस्यले पारदर्शिता, सदाचार र नैतिकताकै नाम जपेर लक्ष्मीको पुजा गरून् । अनैतिक, अपारदर्शी र गलत मनशायका साथ धन सम्पत्ति कहिल्यै नजोड्ने कसम सबैले खाउन् । त्यसरी पारदर्शिता, सदाचार र नैतिकताको नाम जप्ने हरेक भक्तजनको सहि पहिचान गरी त्यस्तो पवित्र इच्छाशक्ति भएका भक्तजनले व्यवहारमै त्यस्ता कुरा कार्यान्वयन गर्न सक्ने शक्ति लक्ष्मी माताले पनि प्रदान गरून् । लक्ष्मीको पुजा गर्दै स्वयं लक्ष्मी, नेपाली समाज र सिंगो नेपाललार्इ बेइज्जत गर्ने जघन्य अपराधी र भ्रष्टाचारीलार्इ लक्ष्मीले जलाएर खरानी पारून् । त्यस्ता जघन्य अपराधी र भ्रष्टाचारीको नाम निसाना नेपाली भुमीमा कहि कतै देखा पर्न नसक्ने गरी सदाका लागि समाप्त पारिदिउन् । यसरी धन सम्पत्तिकै लागि जस्तासुकै अपराध गर्न तयार जघन्य अपराधी र भ्रष्टाचारीको पतन तथा नैतिक मुल्य मान्यताको उच्च सम्मान गर्दै पारदर्शी ढंगले सम्पत्ति जोड्न तयार सदाचारीहरूको उदयको बर्षको रूपमा लक्ष्मी पुजा २०७६ लार्इ धुमाधामका साथ हर्षोल्लासपूर्ण ढंगले मनाअौ । बिना आग्रह पुर्वाग्रह पात्रको कर्म बमोजिम दुधको दुध पानीको पानी छुट्याएर हरेक पात्रलार्इ लक्ष्मी माताको श्राप र आशिर्बाद लागोस् । शुभ दिपावली २०७६ को सुखद् उपलक्ष्यमा सम्पूर्ण नेपाली आमा बुबा, दिदि बहिनी तथा दाजु भाइप्रति हार्दिक मंगलमय शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार